‘डा. केसीको कदमले लोकतन्त्र खतरामा पर्नसक्छ’

‘डा. केसीको कदमले लोकतन्त्र खतरामा पर्नसक्छ’


Sundarmani Dixit

– डा. सुन्दरमणि दीक्षित

‘मैले गोविन्द केसीलाई राम्ररी चिनेको पनि छैन, उहाँसँग कहिल्यै खास सम्पर्क भएको छैन । न त लोकमानसिंह कार्कीसँग मेरो कुनै सम्बन्ध नै छ । एक चिकित्सकको रूपमा मैले नेपालमा काम गर्न थालेको ४७ वर्ष बितेछ । मेडिकल स्कुल प्रवेश गरेको त ५७ वर्ष भएछ । विभिन्न पब्लिक सेक्टर, सरकारी सेक्टरका अलावा विभिन्न इन्स्टिच्युटमा पनि आबद्ध भएर काम गरेरै आजसम्मको मेरो जिन्दगी गुज्रिएको छ । वीर अस्पतालदेखि भरतपुर क्यान्सर अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निजी अस्पतालमा मैले काम गरेँ, क्लिनिक पनि चलाएँ । यति मात्र नभई विभिन्न सामाजिक सेवासम्बन्धी सङ्घ–संस्था, जस्तो कि उपभोक्ता हित संरक्षण मञ्च, नागरिक समाज, वातावरण बचाउ आन्दोलन आदिमा म संलग्न रहेँ । यी सबै अनुभवका आधारमा म जहिल्यै पनि समष्टिमा मुलुकको हित हेरेर कुरा गर्न चाहन्छु । ‘पिन प्वाइन्ट फोकस’ गरेर म व्यक्तिविशेषमाथि आरोप लगाउन चाहन्न र कसैको अनावश्यक प्रशंसा पनि गर्नु छैन मलाई । नैतिकताको बलमा अडेर हामीले मुलुकलाई कसरी अगाडि लैजान सक्छौँ भन्ने मेरो ध्येय र प्रयास छ । जस्तोसुकै ठूलो या महत्त्वपूर्ण मुद्दा भए पनि अनैतिक, अधार्मिक प्रयत्नबाट उठाउन खोजिन्छ भने त्यसले देशको हित गर्दैन, मुलुक अघि बढ्न सक्दैन भन्ने मेरो ठम्याइ छ । म जे बोल्छु मेरो डाक्टरी पेसाको नैतिकता सम्झँदै एक सचेत नागरिकको नाताले मुलुकलाई लोकतान्त्रिक विधिबाट कसरी अगाडि लैजान सकिन्छ भन्ने चिन्ता र चिन्तनबाट अभिप्रेरित भएर बोल्छु । हामीबाट यस्तो कुनै काम नहोस्, जसले गर्दा लोकतन्त्र संस्थागत हुने प्रक्रिया बिथोलिन पुगोस् । संसद्, मानवअधिकार आयोग, बेपत्ता छानबिन आयोग, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय सबै लोकतन्त्रका खम्बा हुन् । मुलुकका यस्ता संरचनाहरूलाई कसरी बलियो बनाएर लैजाने भन्ने सोच्नुपर्छ हामीले ।’

स्वास्थ्य क्षेत्रको विकृति निराकरण गर्ने भन्दै पटक–पटक अनसनमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक/प्रोफेसर गोविन्द केसीको अभियान राष्ट्रिय मुद्दाबाट बरालिएर निश्चित संस्था वा व्यक्तिविशेषप्रति केन्द्रित हुन पुगेको आरोप लाग्न थालेको छ । चिकित्सा पेशामा रहेर पनि नागरिक समाजको अगुवाको भूमिका निर्वाह गर्दै आउनुभएका डाक्टर सुन्दरमणि दीक्षितसँग डा. केसीको अनसन प्रकरणलगायत सन्दर्भमा कुराकानी गर्न लाग्दा सुरुमै उहाँ यसरी अभिव्यक्त हुनुभयो । प्रस्तुत छ, डा. दीक्षितसँग गरिएको अन्तर्वार्ता :

राजा महेन्द्रकै अर्को सन्दर्भ छ । टीकापुरको जङ्गलमा सिकार खेल्न जाँदा उनले सिकार ताकेर हानेको गोली भुइँबाट उछिट्टिएर रानी रत्नलाई लाग्न पुग्यो । घटनास्थल राजाको शिविर पुग्नै २–३ घन्टा लाग्यो, रात पर्‍यो । अनकन्टार जङ्गलबीच त्यस्तो बित्यास परेपछि फ्लाइटबाट लगभग आधा घन्टामै दिल्ली पुगिने भएकोले उपचारका लागि भारत लैजानुपर्ने कुरा उठ्यो । तर, महेन्द्रले मानेनन् । ‘किन ? तिमीहरू काठमाडौं लैजान सक्दैनौ र ?’– प्रश्न गरे उनले । रातको समय, बत्ती नभई काठमाडौंमा ल्यान्ड गर्न सकिन्न भन्ने तर्क आयो । फेरि उनले भने, ‘आर्मीले त मसाल बालेर अभ्यास गरेको देखेको छु, यसरी सकिन्न र ? मलाई हाम्रै डाक्टरहरूमाथि विश्वास छ, भारत होइन नेपाली चिकित्सकबाट नेपालमै उपचार गराउन चाहन्छु म ।’ यसरी काठमाडौं पुगियो, पेटको आन्द्रामा तीन ठाउँमा प्वाल परेको उपचार रातको तीन बजे सम्पन्न भयो । भन्न खोजेको महेन्द्रले नेपाली चिकित्सकप्रति विश्वास दर्शाएर डाक्टरहरूको आत्मविश्वास उठाउने काम गरे । यो महत्त्वपूर्ण सन्दर्भ थियो ।

० स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीले भोक हडताल गरे, अहिले उनी ‘सेलेब्रिटी’ बनेका छन् र उनको समर्थनमा सडकमा जुलुस पनि निस्किए, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
– नैतिकता, मोरालिटीलाई आधार तुल्याउँदै मैले यसलाई ‘इनप्रिन्सिपल’ भन्नुपर्दा यो सुरुदेखि नै गलत भएको छ । उहाँले पहिलोपटक अनशन बस्नुअघि पत्रकार सम्मेलन गरेको बेला नै मैले भनेको थिएँ कि यसरी ‘एकेडेमिक’ (अझ हायर एकेडेमिक नै भन्नुपर्छ) कुरालाई लिएर यसरी दबाब दिएर सेटल गर्न खोज्नु मनासिब होइन । यो ट्रेड युनियन या कुनै राजनीतिक पार्टी होइन । यो विशुद्ध प्राज्ञिक विषय हो । यसका लागि विभिन्न एकेडेमिक निकायहरू रहेकाले अनशन बसेर समाधान खोज्ने होइन भन्ने मलाई लाग्छ । अर्को कुरा, अस्पतालभित्रै अनशन बस्दा सोझै असर पर्ने भनेको बिरामीलाई हो । यो मनन गर्नु आवश्यक छ कि हस्पिटल भनेको बिरामीका लागि हो, डक्टरका लागि होइन । एउटा चिकित्सकले आफ्नो जीवन नै त्यहीँ गुजारेको भए पनि उसले त्यसको लालपुर्जा पाउन सक्दैन । मेडिकल एथिक्सले भन्छ– चिकित्सकले एउटै बिरामीलाई पनि धक्का पुग्ने काम गर्नुहुँदैन ।

तर, यहाँ त अस्पतालका एक–एक विभाग हुँदै सिङ्गै अस्पताल र हुँदै गएर मुलुकभरकै अस्पताल ठप्प भई हजारौँ–लाखौँ बिरामी तड्पिने परिस्थिति निम्तिँदा पनि संवेदनशीलता दर्शिन नसकेको पाइयो । कति दूर–दराजदेखि ऋणधन गरेर बिरामी उपचारका लागि धाएर आएको हुन्छ, तिनको पीडामाथि नुनचुक छर्कन धक नमानेको देखियो । डा. केसीको कर्मथलो शिक्षण अस्पताल त ठप्प भयो–भयो, उहाँको समर्थनमा नेपाल मेडिकल एसोसिएसनले समेत देशव्यापी रूपमा अस्पताल बन्द गरिदियो । डक्टर हुनुको नाताले यस्तो गर्न हुँदैन भनेर मैले त व्यक्तिगत तवरबाट सुरुदेखि नै भनेँ, तर सुनुवाइ गरिएन । यस प्रकरणले कतिलाई हानि पुर्‍यो होला ? उपचार अभावमा कतिको मृत्यु नै भयो होला । यसको मूल्याङ्कन कसले गर्ने ? तथ्याङ्क कसले निकाल्ने ?

बौद्धिक जगत्ले यसरी अनशन बस्ने नै होइन । अस्पतालभित्र कुनै पनि डक्टरले यस्तो गर्न हुँदै हुन्न भन्ने मान्यता राख्छु म त । प्रोफेसरसमेत रहेको एउटा चिकित्सकको अस्पतालभित्र कति काम, कति जिम्मेवारी रहेको हुन्छ, त्यो हामी महसुस गर्न सक्छौँ । डा. गोविन्द केसीजस्ता प्रोफेसरको काम–कर्तव्य अस्पतालभित्र अनशन गर्ने भन्दै सुतेर बस्ने हो कि वार्डमा गएर बिरामीको उपचार गर्ने ? उहाँको कर्तव्य स्टुडेन्टलाई सिकाउने, अनुसन्धान गराउने, अप्रेसन थिएटरमा बिरामीको अप्रेसन गर्ने होइन र ?

हो, उहाँले चिकित्सा क्षेत्रको स्तर उकास्ने कुरा गर्नुभएको छ, तर संसारमा कुनै त्यस्तो उदाहरण छैन जहाँ अनशन बसेर मेडिकल सेक्टरको स्तर उकासिएको होस् । स्तर उठ्छ भने सम्बन्धित प्रोफेसरले राम्ररी पढाएर, स्टुडेन्टलाई रिसर्चमा लगाएर, उनीहरूबाट उपयोगी पेपर लेखाएर र ती रिसर्च पेपरलाई अन्तर्राष्ट्रिय पहिचान भएका म्यागजिनहरूमा छपाएर मात्र उठ्छ, गुणस्तर बढ्छ । गुणस्तरको कुरा गर्दा उहाँले आफ्नै ठाउँबाट सुधारको थालनी गर्नुभएको भए राम्रो हुन्थ्यो । उहाँले अनशन बस्दा उहाँले काम गर्ने अस्पतालको, उहाँका सहकर्मी एवम् विद्यार्थीको स्तर माथि उठ्छ भने त उहाँको कदम ठीक मान्न सकिएला, तर यो सम्भव छैन । यसर्थ, बाहिर जे भने पनि उहाँजस्तो प्रोफेसरको अन्तष्करणले पक्कै भनेको हुनुपर्छ कि मैले जे गरिरहेको छु यो सही होइन † एउटा बहालवाला डाक्टरले कुनै निजी खालको या आफ्नो अस्पतालभित्रको मुद्दा लिएर आन्दोलन गर्नु छ भने पदबाट राजीनामा दिएर गर्नुभएको भए उचित ठहरिन्थ्यो ।

फलानो डिनलाई हटाऊ, फलानोलाई नियुक्त गर भन्दै उहाँले सुरु गरेको आन्दोलनलाई अहिले यस्तो स्वरूप दिइएको छ । अस्वाभाविक किसिमले दायरा बढाएर उहाँले अर्को युनिभर्सिटीलाई समेत मुछ्न पुग्नुभएको छ । हुँदा–हुँदा लोकमानसिंह कार्कीलाई सांसदहरूले तुरुन्त बर्खास्तगी नगरे सांसदहरूको कामै छैन भन्दै संसद्लाई समेत उहाँले जबर्जस्ती घसेट्न पुग्नुभएको छ । सरकारको एउटा संरचनामा कार्यरत एक जिम्मेवार व्यक्तिले मुलुक चलाउने अर्को संरचनाको ‘हेड’माथि आफूले राजीनामा नदिईकन यस्तो व्यवहार प्रदर्शन गर्नु नैतिकताको आधारमा जायज छ कि छैन, मभित्र त सवाल पैदा भएको छ यतिबेला । उहाँले मुलुक सञ्चालन गर्ने महत्त्वपूर्ण संरचनाहरूलाई नाजायज ढङ्गले धक्का दिएर लोकतन्त्रलाई नै धक्का पुग्ने जो काम गर्नुहुँदै छ, यो उचित भएन भन्न म त हिच्किचाउँदिनँ ।

० केसीका मागको औचित्य कति छ, यी मागहरूलाई देशले कति गम्भीरतापूर्वक लिनुपर्ला ?
– उहाँले आफ्नो मागमा भ्रष्टाचार हुनुहुँदैन भन्नुभएको छ । भ्रष्टाचार हुन हुन्छ या गर्न मिल्छ भनेर त कसले पो भन्छ र ? हामी सबै भ्रष्टाचारको अन्त्य हुनुपर्छ नै भनिरहेका छौँ । भ्रष्टाचार भन्नाले केवल पैसाको मात्र हुँदैन, आचार, विचार, व्यवहारमा च्यूत भइयो भने पनि त्यो भ्रष्टाचार ठहरिन्छ । अनैतिक काम गरेपछि त्यो भ्रष्ट कहलिन्छ । आफ्नो कर्तव्य इमानपूर्वक निर्वाह नगर्नु भ्रष्ट हुनु हो । डा. केसीले काम गर्ने अस्पतालमा पनि नक्कली चिकित्सक फेला परे, उहाँजस्तो आदर्शको कुरा गर्ने व्यक्ति भएको ठाउँमा कसरी त्यस्ताले प्रवेश पाए ? शुद्धीकरणको कुरा गर्ने उहाँले आफ्नै इन्स्टिच्युटको बेथितितर्फ किन ध्यान पुर्‍याउन सक्नुभएन त ? गहिरिएर हेर्दा डा. गोविन्द केसीको सुरुदेखिकै टार्गेट मनमोहन अस्पताललाई जसरी पनि रोक्ने भन्ने देखिन्छ । यता आएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध विशेष उहाँ खनिन थाल्नुभएको महसुस गरिँदै छ । उहाँले यस्तो गर्नुपर्ने व्यक्तिगत के कारण पर्‍यो बुझ्न सकिएन, तर यो स्वाभाविक लागिरहेको छैन ।

काठमाडौं युनिभर्सिटीको कार्कीजीसँग जोडिएको त्यस्तो कुनै मामला छ भने पहिले त उसैले निप्ट्याउन खोज्नुपर्ने हो । सम्बन्धित निकायहरू छन्, सुप्रिम कोर्ट छ, तर यतातिर नलागी म यति ‘सुप्रिम पर्सन’ बन्न पुगेँ कि संसद् या सांसदहरूलाई पनि धम्क्याउन पुगिरहेको छु, अख्तियारप्रमुखलाई चार्ज गरीकन ‘निकाल्नैपर्छ’ भनी धम्क्याउन पुगिसकेको छु † यो कहीँ जायज प्रोसेस हुन सक्छ ? चार्ज लगाउने मै, सजाय तोक्ने मै, आफूले चाहेअनुसार सजाय हुनैपर्छ भनी जिद्दी गर्ने मै, के लोकतन्त्रमा यो सुहाउँछ ? उहाँले सडकमा आफ्ना विद्यार्थी उतार्नुभएको छ । उहाँजस्ता व्यक्तिको लागि यो सुहाउने कुरा हो र ? के ती छात्रछात्राले ‘सडकमा यति दिन आन्दोलन गरेबापत’ भनी आफ्नो सर्टिफिकेटमा कुनै प्लस प्वाइन्ट हासिल गर्छन् र ? व्यक्तिगत द्वेष–ईष्र्या केही छ भने यसरी देशलाई नै धक्का पुग्ने व्यवहार गर्नु मनासिब होइन । उहाँले मनमोहन मेडिकलबाट उत्पादन हुने विद्यार्थी गुणस्तरहीन हुनेछन् भनी पहिल्यै कसरी अनुमान लगाउन सक्नुभयो ? त्यहाँ कस्ता प्रोफेसर आउँछन्, कसरी सिकाउँछन्, कस्ता विद्यार्थी भर्ना हुन्छन्, गुणस्तर खत्तमै हुन्छ भनी कसरी भन्न सक्नुभयो ? नेपाल मेडिकल, काडमाडौं मेडिकल, नेपालगञ्ज, मणिपालहरूलाई पनि त्यस्तै भन्न सकिन्थ्यो होला नि † किन भन्नुभएन त ? हेर्नुस्, म पनि बीपी मेमोरियल अस्पतालमा भीसीकै तहमा बसेर काम गरिसकेको व्यक्ति हुँ । मेडिकल इन्स्टिच्युट सञ्चालन गर्न कति कठिन छ भन्ने गहिरिएर अनुभव गरेको छु । सबैथोक सुविधा दिँदा पनि कोही मान्दैनन्, धरानजस्तो ठाउँमा डाक्टर, प्रोफेसर नपाएर भारतदेखि झिकाउनुपर्‍यो ।

अर्को कुरा यतिबेला डा. केसीले अनशन र आन्दोलन गर्न रोजेको समय–परिवेश पनि अनर्थपूर्ण देखिन्छ । भूकम्पबाट प्रताडित भएकाहरूको हालत अझै उस्तै छ, सरकारले केही न केही गरिरहेको भए पनि गर्नुपर्ने जति गर्न सकिरहेको छैन, यसमाथि बाढी–पहिरोको लहर चलेको छ, जनताको बिजोग छ, त्यत्रो नाकाबन्दीका कारण अर्थतन्त्र चौपट छ, मुलुक नै के होला भन्ने अवस्था छ, नजिकको छिमेकी भारतसँग विभिन्न समस्या परिरहेको छ, उहाँको समस्या हल गर्नुपर्ने सरकार नै डामाडोल अवस्थामा छ । यस्तो विकराल परिस्थितिबीच मनमोहन या कुनै कार्कीको कुरा लिएर आमरण अनशन बस्नु भनेको उहाँजस्तो बौद्धिक व्यक्तिबाट पटक्कै अपेक्षा गर्न नसकिने कुरा हो । मुलुक कमजोर भएको बेला त कसरी उठ्न सकिन्छ त्यता पो सोच्नुपर्ने हो उहाँजस्तो ‘हाइट’को नागरिकले । झन् तहसनहस पार्न तम्सिने हो र ? नितान्त व्यक्तिगत प्रतीत हुने ‘इस्यु’ बोकेर मुलुकलाई नै बन्धक बनाउन कुन नैतिकताले दियो डा. गोविन्द केसीलाई ? प्रश्न छ मेरो ।

मुलुकको मूल समस्या एकातिर छ, तर सिङ्गै राज्यले चाहिँ एउटा चिकित्सकले उठाएको मनमोहन अस्पताल र लोकमानसिंह कार्कीको मामलालाई लिएर हस्याङफस्याङ गर्नुपर्ने †? कस्तो विडम्बना † मुलुकको संविधानमाथि नै प्रश्न उठाएर त्यत्रा मधेसी, आदिवासी–जनजाति आन्दोलनमा छन्, त्यहाँ राज्यले ध्यान दिइरहेको छैन, तर यता कुनै एक चिकित्सकले फलानालाई महाभियोग लगाऊ, ढिस्कानालाई खारेज गर भनी जिद्दी गरेकोतर्फ सिङ्गै मुलुक एकोहोरिन्छ । देशमा कैयन नागरिक खान नपाएर, बास नपाएर हामीले अकाल मर्नु नपरोस् भन्दै सरकारसँग हारगुहार गरिरहेका छन्, यता एक व्यक्तिचाहिँ मैले भनेकै हुनुपर्छ, नभए मरिदिन्छु भनी राज्यलाई धम्क्याइरहेछ । यस्तोमा मर्न लागेका तमाम नागरिकको आफू अकाल मर्न नपरोस् भन्ने पुकारातर्फ विचार गर्ने कि राज्यको सुविधा लिएर खाइपाई आएको एक व्यक्तिले ‘म आफ्ने इच्छाले मर्दै छु, मर्न पाऊँ’ भनी गरेको आग्रहतर्फ ध्यान दिने राज्यले ? हाम्रो मुलुक पनि गजबको छ, यहाँ संवेदनशीलता एकातिर छ, तर नागरिक दौडन्छन् अर्कै हौवामा । तसर्थ, डा. केसीको व्यवहार जायज ठहरिन सक्दैन, यसले मुलुकको हित गर्दैन । उहाँको समर्थनमा उत्रिनेहरूले नबुझे पनि उहाँले त मुलुकको परिस्थिति बुझिदिनुपथ्र्यो, आफ्नो बेमौसमको कदमले लोकतन्त्रमाथि खतरा उत्पन्न हुनसक्छ भन्ने बुझेर व्यवहार गर्नुपथ्र्यो ।

० मेडिकल कलेज काठमाडौंबाहिर मात्र खोल्नुपर्छ भन्ने डा. केसीको तर्क ठीक भन्नेहरू पनि छन् नि, तपाईंको बुझाइमा यो माग कति जायज हो ?
– यस्तो अनर्थको माग सुनेर म त घोर आश्चर्यमा परेको छु । मुलुकमा प्रान्तीय सीमा कसरी कोर्ने भन्ने विवादले यत्रो भद्रगोल निम्तिरहेको छ । के गर्दा आफ्नो हित हुन्छ त्यो विचार गरेर आफैँ निर्णय गरून् भनी हामी प्रान्त बनाउने कुरा गरिरहेका छौँ, तर प्रान्तको सुनिश्चितता नै नभई यहाँ यस्ता र यतिवटा मेडिकल कलेज चाहिन्छ, नभई हुँदैन भनी डा. केसी ढिपी गर्न थाल्नुभएको छ । भोलि कुनै प्रदेशले हामीलाई मेडिकल कलेजभन्दा पनि इजिनियरिङ इन्स्टिच्युटको खाँचो छ भन्यो भने उहाँ के गर्नुहोला ? भन्न खोजेको के भने कहाँ के कुराको जरुरत छ भन्ने कुरा अब सम्बन्धित प्रदेशले नै गर्नेछन्, त्यो कुरा कुनै डा. केसी या अर्को व्यक्तिले जबर्जस्ती लाद्न खोज्नुहुँदैन । दश वर्ष काठमाडौंमा दिनैहुन्न भन्नु व्यावहारिक हुन सक्दैन । काठमाडौं भनेको रिङरोडभित्र मात्रको बस्ती त होइन नि † उहाँले यस्तो ढिपी गर्नुअघि कति मुलुकका कुन भागमा कति जनसङ्ख्या छ, कतिजना चिकित्सकको खाँचो छ, कसरी उत्पादन गरी माग पूरा गर्न सकिन्छ, तिनलाई तालिम नेपालभित्र दिने कि बाहिर दिने, मलेसिया र खाडी मुलुक गई रगत–पसिना बगाएर नेपालीले आर्जन गरेको रकम मेडिकल शिक्षा आर्जनको निम्ति खुरुखुरु बिदेसिन दिने कि नदिनेजस्ता प्रश्नमा पहिला घोत्लिनुपर्छ ।

आज वर्षेनी चार–पाँच हजार विद्यार्थी मेडिकल शिक्षाकै लागि विदेश जान्छन् । मुलुकको अर्बौं डलर यसरी बिदेसिन पुग्छ । हो, बाहिर मेडिकल कलेज खुल्नुपर्छ, तर गएर खोल भन्न त सजिलो छ, लगानीचाहिँ कसले गर्ने त ? अर्बौं लगानी लाग्छ, डाक्टर, प्रोफेसर पाइन्नन्, त्यो कसरी समाधान गर्ने भन्ने प्रश्नको जवाफ डा. केसीसँग छैन । ७५ प्रतिशतलाई नि:शुल्क छात्रवृत्ति दिनुपर्ने माग त सुन्दा साह्रै मीठो लाग्छ, तर त्यो खर्च कसले व्यहोरिदिन्छ भन्ने सोलुसन उहाँसँग छैन । एउटा वीर अस्पताल चलाउन असिनपसिन परिरहेको अवस्थामा नेपाल सरकारले त पक्कै व्यहोर्न सक्दैन होला त्यो खर्च । यस्तोमा दश वर्षसम्म काठमाडौंमा खुल्नै पाइन्न भन्ने कुरा लागू हुन सक्ला ? यहाँनेर पुन: प्रश्न उठाउन सकिन्छ कि भोलि उहाँको कुनै विद्यार्थी फेल होला, तर मलाई पास गर्नैपर्छ भनी उसले आमरण अनशन गर्‍यो भने उहाँ के गर्नुहोला ? अस्पताल हातामा अनशन बस्न नपाइने भनी सुप्रिम कोर्टले गरेको फैसला उहाँ लत्याउनुहुन्छ । मैले भनेको तिमी सांसदहरू मान, नत्र तिमीहरू सबै भ्रष्ट हौ भन्नु कत्रो अभिसाप † के अब आमजनताले ‘डा. केसीले भनेको टेरेनन्, सांसद भनेका सबै भ्रष्ट नै रहेछन्’ भनिठान्ने ? उहाँजस्तो बौद्धिक व्यक्तिलाई कसले बहकायो होला भनी छक्कै पर्नुपर्ने अवस्था छ ।
मुलुकमा भ्रष्टाचार र माफियातन्त्र मौलाएको छ, महँगी बढेको छ, पेट्रोल र ग्यासको अभाव छ, राजनीतिक स्थिरता नभएर आर्थिक विकास र समृद्धिमा नकारात्मक असर परेको छ । यो सबै यथार्थसँग हामी को परिचित छैनौँ र ? तर, अड्कली–अड्कलीकन विरोध गर्नुपरेको किन भन्दा बल्लतल्ल हासिल भएको लोकतान्त्रिक पद्धति खल्बलिन पुग्ला भन्ने त्रासले हो ।

लोकमान सिंहले धेरैलाई पत्र काटेका छन् अनुसन्धानका लागि । यस्तो बेला भित्रभित्रै उनको विरोध गर्ने कति हुन्छन् कति । डा. केसीको समर्थनमा सडकमा उत्रिएको भनिएका के सबै असल नियतले मात्रै आएका होलान् त ? के त्यहाँ विभिन्न दुर्उद्देश्यले घुसपैठ गर्नेहरू नहोलान् ? तिनले मौका पाए के यो लोकतन्त्र जोगाइराख्लान् ? यो कोणबाट कसैले विचार गरेको छ ? यो कुरा केसीजस्ताले मनन गर्नुपर्छ, ता कि उहाँको कारणले लोकतन्त्र खलबल्याउन खोज्ने तत्त्वले अवसर नपाउन् ।

Dr Sundarmani Dixit

० मुलुकको स्वास्थ्य क्षेत्रका समस्या र सुधारको उपाय के होला भन्ने लाग्छ नि तपाईंलाई ?
– हरेक क्षेत्रमा अनेक विकृति र समस्या बोकिरहेको मुलुकको स्वास्थ्य क्षेत्र पनि अनेक समस्याले ग्रस्त रहेको सबैले अनुभूति गरेकै कुरा हो । सुधारका लागि सर्वप्रथमत: एक–एक डाक्टरले आफ्नो हृदयमा हात राखेर मनन गर्नुपर्‍यो कि मैले डाक्टरी केका लागि पढेँ ? करोडपति–अर्बपति बन्नका लागि हो कि राम्रोसँग जनताको उपचार गरी सेवा पुर्‍याउनका निम्ति हो ? चिकित्सकले म उपचारका लागि हुँ, बिरामीको सेवाका लागि हुँ, सबै जनता मेरा आफन्तजस्तै हुन्, यिनको घाँटी रेट्ने काम मैले गर्नु हुँदैन, मेरो पेसा कुनै उद्योग होइन, व्यापारका लागि होइन भन्ने सोची दिल लगाएर काम गर्ने हो भने चिकित्सा क्षेत्रको समस्यामा निकै कमी आइहाल्छ । चरकको समयदेखि नै डाक्टरी पेसामा पैसा लिनै पाइन्न भन्ने कुरा आएको छ । बिरामीले खुसी भएर आफ्नो गच्छेले दिएको मात्र स्वीकार गर्नुपर्छ भन्ने त्यतिबेलाको कुरा अहिले व्यावहारिक नभए पनि यो अत्यन्त मननीय छ ।

डाक्टरी पेसा एउटा यस्तो आदरको पेसा छ जसमा बिरामीले उसलाई अत्यन्त विश्वास गरेको हुन्छ । जस्तो कि एउटी तरुनी महिला बिरामी परेर आउँदा डाक्टरले उनलाई ‘बेडमा पल्टिनुस् (सुत्नुस्)’ भन्छ, उनी सुतिदिन्छिन्, तपाईंको कपडा अलिकता खोल्दिनुस् त भन्दा खोलिदिन्छिन् । उनको शरीरमा हात लगाएर जाँच गर्नुपर्ने हुन्छ, त्यो उनलाई स्वीकार्य हुन्छ । अब मलाई बताइदिनुस् कि अरू कुन पेसामा यसरी कपडा खोल, सुत भन्ने र त्यो मान्नैपर्ने हुन्छ ? मैले भन्न खोजेको यति विश्वास र आदरको पेसा भएकाले यसको मर्यादा राख्न चिकित्सक स्वयम् अग्रसर हुनुपर्छ । तसर्थ, यस्तो आदर्श पात्र चिकित्सक तथा स्वास्थ्य क्षेत्र सम्बन्धित हरेकले पेसागत मर्यादा राख्ने प्रयत्न गरे सुधारका अनेक मार्ग खुल्नेछन् । यो मुलुक गरिब छ, यहाँका सन्तान गरिब छन्, यो यथार्थ बुझेर स्वास्थ्यकर्मीले व्यवहार गर्नु आवश्यक छ ।

० नेपालमा स्वास्थ्य क्षेत्रको इतिहासमा सबभन्दा राम्रो काम कहिले कसको समयमा भएको थियो र सबैभन्दा खराब काम कहिले कसरी भयो होला ?
– झट्ट सम्झँदा एउटा राम्रो काम राजा महेन्द्रले गरेको याद आउँछ मलाई । उनलाई ०२६/२७ सालतिर हर्टअट्याक भएपछि कतिपय उनका निकट, शुभचिन्तक एवम् चाकडी गर्न चाहनेहरूले समेत दरबारभित्रै मुटु–उपचारसम्बन्धी इन्टेन्सिभ केयरको व्यवस्था मिलाउन सुझाव दिए । तर, राजा महेन्द्रले त्यो इन्कार गर्दै ‘मलाई मात्रै विशेष सुविधा किन ? त्यस्तो सकिन्छ भने त पब्लिकलाई देऊ न, वीर अस्पतालमै किन नखोल्ने ?’ भन्ने जवाफ दिए । त्यसपछि वीरमा सीसीयू खोल्ने भन्ने प्रस्ताव अघि बढ्यो र सोअनुसारको व्यवस्था पनि भयो । राजा महेन्द्रकै अर्को सन्दर्भ छ । टीकापुरको जङ्गलमा सिकार खेल्न जाँदा उनले सिकार ताकेर हानेको गोली भुइँबाट उछिट्टिएर रानी रत्नलाई लाग्न पुग्यो । घटनास्थल राजाको शिविर पुग्नै २–३ घन्टा लाग्यो, रात पर्‍यो । अनकन्टार जङ्गलबीच त्यस्तो बित्यास परेपछि फ्लाइटबाट लगभग आधा घन्टामै दिल्ली पुगिने भएकोले उपचारका लागि भारत लैजानुपर्ने कुरा उठ्यो । तर, महेन्द्रले मानेनन् । ‘किन ? तिमीहरू काठमाडौं लैजान सक्दैनौ र ?’– प्रश्न गरे उनले । रातको समय, बत्ती नभई काठमाडौंमा ल्यान्ड गर्न सकिन्न भन्ने तर्क आयो । फेरि उनले भने, ‘आर्मीले त मसाल बालेर अभ्यास गरेको देखेको छु, यसरी सकिन्न र ? मलाई हाम्रै डाक्टरहरूमाथि विश्वास छ, भारत होइन नेपाली चिकित्सकबाट नेपालमै उपचार गराउन चाहन्छु म ।’ यसरी काठमाडौं पुगियो, पेटको आन्द्रामा तीन ठाउँमा प्वाल परेको उपचार रातको तीन बजे सम्पन्न भयो । भन्न खोजेको महेन्द्रले नेपाली चिकित्सकप्रति विश्वास दर्शाएर डाक्टरहरूको आत्मविश्वास उठाउने काम गरे । यो महत्त्वपूर्ण सन्दर्भ थियो । यता ०४६ सालपछि हेरौँ, स–साना बिरामी पर्दा पनि नेताहरू बैंकक र त्योभन्दा पनि पर विदेश जाने प्रचलन सुरु भयो । आमनागरिकले साधारण सिटामोलको सुविधा नपाए पनि शासकहरू करोडौँ खर्च गरी विदेश नै जानुपर्ने प्रवृत्तिलाई राम्रो मान्न कसरी सकिन्छ र ?

० प्रसङ्ग बदलौँ, यो वर्ष अख्तियार प्रमुख र कमलमणि दीक्षित परिवारबीच तनाव पैदा भयो, त्रुटि, कमजोरी या गल्ती कसको देख्नुहुन्छ ?
– ०६२/६३ को आन्दोलनताका मुख्यसचिवको ओहोदामा रहेका हुनाले अख्तियारमा लोकमानसिंहलाई सिफारिस गरिँदा हामी लोकतन्त्रवादी सबैजसोले आपत्ति जनाएका थियौँ । यसमा मेरो भतिज कनकले त उनीविरुद्ध अभियान नै चलाएछन् । लोकमान मुख्यसचिव रहँदा सरकारको आदेशमुताबिक काम गरे होलान्, त्यसमा उनलाई व्यक्तिगत दोष कति दिने या नदिने ? विश्लेषणको बेग्लै पाटो हुन सक्छ । यस्तोमा एउटा व्यक्तिविरुद्ध हद नाघेर क्याम्पेन चलाउनु आवश्यक थियो भन्ने लाग्दैन । केही सबुत छ भने अदालत लैजाऊ, होइन भने यसो नगर भन्ने सुझाव दिएको थिएँ मैले । खान्दानी मान्छे, कार्कीजीले इज्जत खोज्नु अस्वाभाविक थिएन, तर मिडियाबाट समेत कनक लागेकोलाग्यै गरेछन् । अतिसार भएको ठानेछन् कि कसो हो, लोकमानले पनि कनकको त्रुटि खोतल्न लागे भन्ने लाग्छ मलाई । तर, कनकको सम्पत्तिको विषयमा लोकमानसिंह कार्कीले भन्दा पनि पहिले त कुनै माओवादी सांसदले संसद्मै कुरा उठाएका हुन् । यसरी भ्वाङ परेपछि लोकमानसिंहलाई पनि सजिलो पर्‍यो र उक्त प्वालबाट छिरेर खोजीनिती गरेका होलान् । अख्तियारले चिठी काटेपछि पनि मैले कनकलाई सुझाव दिएँ कि तिमी व्यक्तिको पछि नलाग, भोलि कार्कीजी त्यहाँ नरहे पनि केस त कायमै रहन्छ, त्यसैले अदालत जाऊ, आफू गलत नरहेको दलिल पेस गर । उनले हुन्छ त भने तर फेरि हिमाल, सेतोपाटी र यस्तै के–के मिडियाबाट लोकमानविरुद्ध जेहाद छेडेछन् । यसरी व्यक्तिगत लडाइँजस्तो सुरु हुन पुगेछ ।

० तपाईंका दाजु र भतिजाहरू पनि तपाईंजति नै स्वच्छ र इमानदार छन् भन्ने लाग्छ कि लाग्दैन तपाईंलाई ?
– मेरा पिता–पुर्खाहरू ‘वफादार सेवक’ थिए । मेरा हजुरबाका बुबा चन्द्रशमशेरका ‘एक्का’ नै हुनुहुन्थ्यो । मालिक भनेपछि ज्यानै दिन तयार हुनुहुन्थ्यो उहाँ । ठूलो र ऐतिहासिक यज्ञादि गरेर ‘दीक्षित’ टाइटल पाएको उहाँले । शासकहरूको नजिक रहेर जिम्मेवारी पाउँदा पनि एक पैसा हिनामिना भएन पितापुर्खाबाट । मेरा हजुरबुबा पनि त्यस्तै इमानदार हुनुहुन्थ्यो । मेरा पिताजी पनि इमानदारमा एकदम इमानदार । रानी जगदम्बामाथि मुद्दा चल्दा सम्पत्ति छानबिन हुने भएपछि उनको सबै श्रीसम्पत्ति पिताजीको नाममा सारिएको थियो । पछि मुद्दा सकिएपछि पाई–पाई हिसाब गरेर फिर्ता दिँदा रानीसाहेबका दरबारमा भएका सुसारे–पालेहरूसमेत तुरुक्क रोएका थिए, बाबाको इमानदारी देखेर । बल गिरी भन्ने द्वारेले रानीसमक्ष ‘अर्काको हातमा गएको सम्पत्ति यसरी फर्किएको त कहीँ देखिएको–सुनिएको थिएन, यस्तो अद्भूत घटना आफैँले देख्न पाइयो’ भनी आश्चर्य मानेको इतिहास छ । यस्ता इमानदार पुर्खाका सन्तान हुनाले रकम–कलममा हामी पनि यस्तै हौँ कि ? यस्तै हुनुपर्ने हो कि ? भन्ने मलाई लाग्छ । अब को कति छन्–छैनन्, मैले ठ्याक्कै भन्न सक्ने कुरा भएन ।

० संविधान जारी भएपछि देशमा राजनीतिक तनाव झन् बढेजस्तो छ, तपाईंको विचारमा यस्तो किन भएको ?
– पचास प्रतिशत नागरिकले संविधानको विरोध गरेर ब्ल्याक आउट गरेका छन् भने किन बढ्दैन त तनाव ? चित्तबुझ्दो गरी नलेखीकन जारी गरेको संविधान सच्याऊ भनेर आन्दोलन गर्दा सुनुवाइ भएको छैन, उल्टै कफ्र्यु लागेको छ, गोली चलेको छ, मान्छे मरेका छन् एकातिर भने अर्कोतिर उत्सव चलेको छ, भोज लगाइएको छ । यसरी जनतामा विभाजन ल्याउने संविधानले कसरी ल्याउँछ त शान्ति ?

० ओली नेतृत्वको सरकार ढाल्ने र प्रचण्डको नेतृत्वमा अर्को सरकार गठन गर्नुको औचित्य के देख्नुहुन्छ ?
– आफू चाँडो प्रधानमन्त्री हुनका लागि मात्र ओलीले संविधान जारी गराउन हतार गरेका थिए । प्रधानमन्त्री बनेपछि पनि ओलीजीको जुन हठ र रवैया रह्यो, मधेसको समस्या समाधान गर्नेतिर लाग्नुको साटो झन् आगो लगाउने जुन चेष्टा उनबाट भयो, आफ्नै मुलुकका अर्को समुदायप्रति उनले दर्शाएको उदास व्यवहार र राष्ट्रवादको खोक्रो आडम्बर प्रदर्शन गरेर ढोँग रचेको देख्दा त उनीप्रति सहानुभूति दर्शाइरहनु आवश्यक नहोला । तर, अहिले जुन गठबन्धन बन्यो, यसले मलाई आश्चर्यचकित बनाएको छ । यो अत्यन्त अस्वाभाविक छ । टाउकोको मोल तोक्ने र मूल्य तोकिने दुई विपरीत पक्ष जबर्जस्ती अँगालो मारिरहेका छन् भने यस्तो अनैतिक, अव्यावहारिक, अस्वाभाविक, अपवित्र गठजोड धेरै समय चल्न सक्छ भन्ने मलाई लाग्दैन । यो गठबन्धनले मुलुकको जल्दोबल्दो समस्या हल गर्न सक्ला भन्ने पनि लाग्दैन । यस्तै नचाहिने काम–कुरा हुँदै जान्छ भने हेर्दै जानुस्– कुनै दिन यहाँ ‘कु’ हुन्छ ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी