डाक्टरका बिरामी के गर्छन् अब ?

डाक्टरका बिरामी के गर्छन् अब ?


डा. दिनेशचन्द्र पोखरेल

अतिरिक्त प्रहरी महानिरीक्षक तहको पदमा रही प्रहरी सङ्गठनभित्र र बाहिर चिकित्सा सेवा दिइरहेका डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त महानिरीक्षकको जिम्मेवारी सुम्पिएपछि पोखरेलमाथि भरोसा राख्ने बिरामीहरू मर्कामा पर्न सक्ने देखिएको छ । पेटसम्बन्धी विषयका राम्रा मानिने चिकित्सक पोखरेलले नयाँ बानेश्वरस्थित भरोसा अस्पतालसँग जोडिएर बिरामीहरूको सेवा दिँदै आउनुभएको थियो । हरेक दिन अपराह्न चार बजेदेखि सो अस्पतालमा बसेर डा. पोखरेल पचासौँ बिरामीको परीक्षण गर्ने काम गर्नुहुन्थ्यो । प्रतिबिरामी चार सय मात्र परीक्षण शुल्क लिने डा. पोखरेलका दुई असिस्टेन्टहरूले उहाँलाई सहयोग पु¥याउने गर्दथे । ग्यास्ट्रिक र सुगरका बिरामीबीच उहाँ राम्रो चिकित्सकका रूपमा स्थापित हुनुहुन्छ । सिङ्गै प्रहरी सङ्गठनको प्रमुख बनेर काम गर्नुपर्ने भएपछि उहाँले तत्काल बिरामीहरूको सेवा दिन पाउने सम्भावना देखिँदैन । त्यसैले बिरामीहरू मर्कामा पर्ने स्थिति देखापरेको छ ।

सरकारद्वारा आईजीपी नियुक्त जयबहादुर चन्द र डीआईजीपी नवराज सिलवाल अनपेक्षित ढङ्गले अदालती विवादमा तानिएपछि उहाँहरू दुवैलाई निमित्त आईजीपी बनाउन उपयुक्त नहुने ठहर सरकारले ग¥यो । प्रकाश अर्याल र बमबहादुर भण्डारीलाई निमित्त दिन पनि सरकारले उचित ठानेन । निवर्तमान हुँदै गरेका आईजीपी उपेन्द्रकान्त अर्याल रोलक्रमका आधारमा नवराज सिलवाललाई निमित्त दिएर अवकाश लिनुपर्ने अवस्थामा हुनुहुन्थ्यो, तर सरकार सिलवाललाई ‘निमित्त’ दिन पनि इच्छुक रहेन । त्यसपछि पदीय दृष्टिले अतिरिक्त प्रहरी महानिरीक्षकको दर्जामा रहेका डा. दिनेशचन्द्र पोखरेललाई निमित्त दिनु उपयुक्त ठहर सरकारले ग¥यो, तर प्रहरी नियमावली यसमा पनि बाधक बन्यो । प्राविधिक सेवामा रहेका अधिकृतलाई साधारणतर्फको जिम्मेवारी दिन नियमावली नै बाधक बनेपछि सरकार नियमावली नै संशोधन गरेर डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आईजीपी बनाउन बाध्य भएको हो ।