ट्रम्पको पर्खाल र सीके राउतको मधेस देश !

ट्रम्पको पर्खाल र सीके राउतको मधेस देश !


dipendra-pandey

– दीपेन्द्र पाण्डे

हामी अमेरिकालाई फेरि बनाउन सक्छौँ भन्दै अमेरिकी जनताको मन जित्न सफल डोनाल्ड ट्रम्प सर्वशक्तिमान अमेरिकाको सर्वोच्च पदमा पुग्दै शक्तिको प्रयोग गर्दै छन् । केही वर्षदेखि नेपालको तराई मधेसमा अराजक र उत्तेजक विचारको बिउ रोप्दै आएका डाक्टर सीके राउत केही दिनदेखि पुलिस कस्टडी पु¥याइएका छन् । पङ्क्तिकारले उजागर गर्न चाहेको विषयचाहिँ विश्वको शक्तिसम्पन्न राष्ट्र अमेरिका र विश्वको गरिब राष्ट्र नेपाल (दुवै) अतिवादको चपेटामा कसरी पर्दै छन् भन्ने नै हो ।

आप्रवासीहरूको देश अमेरिका आज आप्रवासी र मुसलमानको विरुद्ध ट्रम्पसँगै झुम्दै छ । आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश र बसाइ सहज नबनाउने नियत साथ छिमेकी देशको सीमामा पर्खाल लगाउने ट्रम्प सोचमा पूरा अमेरिका लट्ठ छ । यतातिर कुनै जमानाको ‘चौदण्डी’ राज्यका वंशज डाक्टर सीके राउत ‘तराई मधेस स्वतन्त्र राज्य थियो, पृथ्वीनारायण शाहले उपनिवेश लादे, अब स्वतन्त्र बनाउनुपर्छ’ भन्दै नेपालको पर्खाल भत्काउन लागिपर्दै छन् । सोही अभियान छेड्ने राउत र ट्रम्प अतिवादको बारेमा केही लेख्नैपर्ने बाध्यता आइलागेको छ, पङ्क्तिकारको निम्ति ।

ट्रम्पको पर्खाल :
डेमोक्र्याटिक पार्टीको कमजोरी र अमेरिकी जनताको मनोभावना राम्रोसँग बुझेका ट्रम्पले आप्रवासी अफ्रिकन अमेरिकन र मुस्लिम समुदायविरुद्ध जेहाद रणनीतिक रूपमै छेडेका थिए । आफूले चुनाव जिते अमेरिकालाई पुरानै अवस्थामा पु¥याउन छिमेकी देश मेक्सिकोको सीमामा पर्खाल निर्माण गरिनेछ भन्ने विवादास्पद भाषणले अमेरिकालगायत विश्व समुदायको ध्यान खिच्न सफल भएकै हुन् । वचनको पक्का ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशमाथि हस्ताक्षर गरिसकेका छन् ।

एक हजार माइल पर्खाल लगाउन लाग्ने अनुमानित खर्च २० अर्ब डलर खर्चलाई मेक्सिकोले आधा व्यहोर्नुपर्ने अन्यथा मेक्सिकन सामानमाथि बीस प्रतिशत अतिरिक्त कर लगाएर रकम सङ्कलन गर्ने घोषणाले मेक्सिकोमा नयाँ तरङ्ग ल्याइदिएको छ । मेक्सिकोका राष्ट्रपति इनी रिक्बु पेना निटोले ट्रम्प आदेशलाई मजाक भन्दै हावामा उडाइदिए पनि उनी भित्रभित्रै आतङ्कित भएको सङ्केत मिल्दै छ ।

सात देशका मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध र सीमा पर्खालको ट्रम्प–निर्णय मुस्लिमको निम्ति ‘ट्रम्प फोबिया’ र पुरातनवादी अमेरिकनको निम्ति ‘ट्रम्प मेनिया’ले राष्ट्रवादको नयाँ परिभाषा सीके राउतसम्म आइपुग्नु बडो डरलाग्दो देखिँदै छ । अरब र मध्यपूर्वको अन्तरविरोधसँग नयाँ ढङ्गले खेल्ने ट्रम्प सोच एसियामा बिक्छ कि बिक्दैन ? वा अफगानिस्तान, बलुचिस्तान, कस्मिर, नेपालको तराई मधेस हुँदै कसरी तिब्बत पु¥याइनेछ ? केही समयभित्रै नयाँ सङ्केत देखापर्नेछ ।

ओबामा प्रशासनले सामान्य ‘गन ल’ परिवर्तन गर्न असफल भएको सिम्पल स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा एडम लान्जाले २६ जना निर्दोष मानिसको हत्या गरेसँगै सामान्य मानिसले बन्दुक राख्न नदिने (ओबामा नीति) कुरासँग ट्रम्प पर्खाललाई हेर्नेहरू ओबामाको ‘गन ल’सँग दाँज्दै छन् । असफलताबाट सफल हुने ट्रम्पको विगत हेर्दा उनको नीतिलाई ‘गन ल’सँग तुलना गर्नु हतार हुनेछ ।

तत्कालीन अवस्थाको गोर्खा, काठमाडौं र तराई मधेसको राजनीतिक अवस्था हेर्दा वास्तवमा गोर्खालीहरूले अरू राज्यलाई उपनिवेश बनाएका हुँदै होइनन् । बरु आफैँ नेपालसँग (काठमाडांैसँग) गोरखा राज्य समाहित गर्दै नेपाल देश बनाएका हुन् । राउतले जानीजानी इतिहासप्रति गरेको भद्दा मजाक हेर्दा उनी अरू नै स्वार्थले घेरिएको भन्न करै लाग्दछ । गोर्खाली फौजले अङ्ग्रेजसँग नलडेको भए आज उनले टेक्ने मध्यदेशको राजनीतिक जमिन नै नमिल्ने जान्दाजान्दै कुन स्वार्थले स्वतन्त्र मधेस देशको नारा लगाउँदै छन् ?

सीके राउतको मध्यदेश :
सीके राउतको ‘डिनायल टु डिफेन्स’ (वैरागदेखि बचावसम्म) पुस्तकमा विषय सूची ‘१ देखि ३४’ सम्म र परिशिष्ट ‘क देखि ’सम्ममा उनले २ नम्बरको ‘मेरो मध्यदेश’मा छरेका भ्रमपूर्ण इतिहासले तराई मधेसका युवाले सत्य मान्दै गर्दा तराई मधेसमा नयाँ अतिवाद जन्मने खतरा बढ्दै छ ।
उनी लेख्छन्– प्राचीनकालमा मध्यदेश नामले प्रख्यात थियो उनी जन्मेको भूमि । बुद्धको समयमा पाली भाषामा मञ्झिमदेश भनिने देश अपभ्रंश हुँदै मधेस भएको वकालत गर्छन् । मध्यदेशको यो समतल भूमि भारत उपमहादेशको मध्यमा हिमालय र विन्ध्याचल पर्वतबीच रहेको तथ्य वेद, पुराण र मनुस्मृतिमा समेत उल्लेख भएको जिकिर गर्छन् । तत्कालीन समयमा राउतको मध्यदेश पूर्वमा प्रयाग र पश्चिममा बिनासन (सरस्वती) नदीसम्म फैलिएको मान्छन् ।

विनय पिटकले मञ्झिमदेशको तोकेको सिमाना पूर्वमा गजङगल, दक्षिण–पूर्वमा सल्लवती नदीवारि, दक्षिणमा सेतकण्णिक सहरवारि, पश्चिममा ब्राह्मणहरूको बस्ती थुणवारि र उत्तरमा उसिरध्वज पर्वतवारि उल्लेख भएको पाइन्छ । प्रोफेसर भडारकरको भनाइलाई पढ्दा बुद्धको समयमा मध्यदेशको सिमाना पूर्वमा प्रयागभन्दा ४०० माइल टाढासम्म भेटिन्छ । सोह्र महाजन पदहरूमध्ये काशी, कोशल, अङ्ग, मगध, बज्जी, मल्ल, चेदी, वंश, कुरु, पाचाल, सुरसेन, अस्सक र अवन्तीलगायत चौधवटा मध्यदेशकै सिमानाभित्र पर्दछ ।

प्राचीन र मध्यकालसम्म सम्राट अशोकदेखि राजा सलहेशसम्मले शासन गरे । मुस्लिम शासकको भाषा फारसीले ‘तर’बाट तराई हुन पुग्यो । तराईको अर्थ ‘भिजेको भूमि’ हो । मुस्लिमपछि ब्रिटिसहरू आए । ब्रिटिस शासनको अन्त्यतिर सेन वंशको शासन थियो । ब्रिटिस र नवाबलाई सेनहरूले कर बुझाउँदै शासन गर्दथे । १८औँ शताब्दीको अन्त्यतिर गोर्खाली शासक पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा १८१६ को डिसेम्बर ८ मा ब्रिटिस सरकारले नेपाल सरकारलाई वार्षिक दुई लाख रुपैयाँ तिर्नुको साटो कोसी र राप्तीबीचको मधेसको भूभाग उपभोग गर्न दिए ।

सन् १८५७–१८५९ मा भारतको सिपाही विद्रोह दबाउन ब्रिटिस सरकारलाई गरेको मद्दतको बदलामा पुरस्कारस्वरूप प्राप्त गरेको राप्ती र महाकाली नदीबीचको मधेस भूभागपछि मेचीदेखि महाकालीसम्मको मधेस भूभाग नेपालमा गाभिन पुग्यो । राउत आफैँ मान्न तयार छन्– उनी जन्मेको ठाउँ मधेसको पूर्वभाग कोसी नदीनजिकै पर्दछ । गोर्खालीहरूले सन् १७७३ मा आक्रमण गर्नुअघि त्यो ठाउँ राजा कर्ण सेनद्वारा शासित मधेसको चौदण्डी राज्यको सप्तरी जिल्लाअन्तर्गत पकरी परगन्नामा पर्दथ्यो ।

नेपाली इतिहासप्रति विषवमन गर्ने राउत लेख्छन्– गोर्खालीहरूको अत्याचार, क्रूर आक्रमण, बर्बरतापूर्ण नृशंसता, राजाको नवजात छोरालाई विष खुवाई अन्त्यमा ब्रिटिसहरूलाई मुआब्जा बुझाउने सर्तमा उनीहरूको भूमि कब्जा गर्दै गोर्खालीहरूले उनको देशलाई उपनिवेश बनाए ।

राउतले नपढेको नेपाली इतिहास :
१७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखाका राजा बनेका थिए । त्यस समय गोरखा शक्तिशाली राज्य नै थिएन । शक्तिशाली बन्ने चाहनाले गर्दा उनले योजनाबद्ध तरिकाले १८२२ चैत ३ गते कीर्तिपुर जितेका हुन् । उनले चाहेका भए गोरखालाई राजधानी बनाउन सक्थे । काठमाडौं, भक्तपुर र कीर्तिपुरका नेवार सम्प्रदायको सम्पूर्ण रीति, थिति, धर्म, परम्परालाई स्वीकार गर्दै प्रधानमन्त्री पद मात्र आफ्नो मातहत राख्दै नेपाल राज्यलाई गुल्जार बनाए । राउतले भनेको मध्यदेशको अधिकांश भूभाग पहिला नै भारतमा पर्दथ्यो । जहाँ पहिला नै नवाबहरूको शासन हुँदै आएको फेला पर्दछ । राउतले भनेको मध्यदेश अङ्ग्रेजहरूले पहिल्यै नवाबहरूसँग कब्जामा लिइसकेका थिए । १८२४ असोज १५ (जगदीश घिमिरेको भनाइअनुसार)मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजहरूलाई पराजित गर्न सफल हुनु नै नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको हो ।

वास्तवमा तराईको भूभाग भारतका नवाब र अवधका बादशाहहरूले सेनहरूलाई कमाउन लगाएका थिए । अङ्ग्रेज शासक किनलकले सिन्धुलीगढीसम्म कब्जामा लिँदा किनलकले नै कर बुझ्दथे । पृथ्वीनारायण शाहको पालामा नेपालको तराईमा कुनै राज्य नै थिएन । जसको कारण उनी तराई कब्जा गर्ने मिसनले लड्न जानु नै परेन । तराई मधेसको भूभाग कब्जा गर्ने र नेपाली फौजसँग लड्न सिन्धुलीगढीसम्म किनलक सेना आइपुग्नुले प्रस्ट हुन्छ– तराईलाई कब्जा गर्ने अङ्ग्रेज फौज हुन् न कि गोर्खाली ।

पृथ्वीनारायण शाहको ससुराली मकवानपुर हरिहरपुर गढी भएकाले पर्सादेखि जनकपुरसम्मको जग्गा कमाउँथे । तराईको पुरानो इतिहास हेर्दा राजा जनकको पालामा विदेह राज्य थियो । १२औँ शताब्दीमा सिम्रौनगढ राज्य थियो । काठमाडौंमा तीनवटा मल्ल राजा थिए । पूर्वमा चौदण्डी र विजयपुर राज्य थियो । सिम्रौनगढ राज्य पनि गयासुद्धिन तुगलकले १३८१ मा ध्वस्त गरिदिएको इतिहासले बताउँछ । धेरैपछि अङ्ग्रेज फौजको नेतृत्व गर्दै तराई मधेसमा डेरा जमाएका किनलक औलोको कारण बिरामी पर्दा गोर्खाली फौजलाई तराईको जमिन दिँदै भारत मध्यदेश फिर्ता गएको भेटिन्छ । यी कुराबाट प्रस्ट हुन्छ । राउतले देखेको मध्यदेश भनेको हाल वर्तमान भारतमा पर्दछ । के उनी भारतबाट मध्यदेश लिन नेपालको तराईमा अभियान चलाइरहेका छन् ? वास्तवमा उनले खोजेको स्वतन्त्र राज्य चौदण्डी १३८१मै तुगलकले ध्वस्त पारेका थिए भने १७७३ मा गोर्खालीले आक्रमण गरे भन्ने कुरामा कुनै तुक छैन ।

तत्कालीन अवस्थाको गोर्खा, काठमाडौं र तराई मधेसको राजनीतिक अवस्था हेर्दा वास्तवमा गोर्खालीहरूले अरू राज्यलाई उपनिवेश बनाएका हुँदै होइनन् । बरु आफैँ नेपालसँग (काठमाडांैसँग) गोरखा राज्य समाहित गर्दै नेपाल देश बनाएका हुन् । राउतले जानीजानी इतिहासप्रति गरेको भद्दा मजाक हेर्दा उनी अरू नै स्वार्थले घेरिएको भन्न करै लाग्दछ । गोर्खाली फौजले अङ्ग्रेजसँग नलडेको भए आज उनले टेक्ने मध्यदेशको राजनीतिक जमिन नै नमिल्ने जान्दाजान्दै कुन स्वार्थले स्वतन्त्र मधेस देशको नारा लगाउँदै छन् ? यसको पछाडि कुन शक्तिको सहयोग र हात छ ? उनको जन्मस्थान रहेको सप्तरीको महदेवा चौदण्डी राज्य मेचीदेखि महाकाली कहिले र कसले फैलायो र शासन ग¥यो ? न त उनी केही जवाफ दिन्छन्, न उनको कुराको आधार नै छ । जहाँसम्म १९५७ मा अङ्ग्रेजसँग पुरस्कारस्वरूप लिएको नयाँ मुलुक हो त्यो भनेको जमिन हो न कि राज्य । त्यसैले डाक्टर राउतको भ्रमपूर्ण खेतीदेखि सम्पूर्ण नेपाली सचेत हुनु अत्यन्त जरुरी छ भन्न सकिन्छ ।

राउतको महत्वकाङ्क्षा, हतियार व्यापारको कारण बन्ने सम्भावना :
इन्जिनियरिङ पढाइले खारिएका डाक्टर राउत जापान, बेलायत हुँदै अमेरिकासम्म पुग्दै गर्दा (अध्ययन र कामको सिलसिलामा) विश्व राजनीतिलाई राम्रोसँग चिन्ने, जान्ने र बुझ्ने मौका पाए । माओवादी ध्वंशले नेपालमा बदलिँदै गरेको राजनीतिक माहौलको कारण तराई मधेसको कच्चा र मलिलो राजनीतिक माटोमा आफ्नो भविष्य र महत्वाङ्काक्षा देख्न पुगे । फलस्वरूप दुनियाँभरका मानिसको मक्का मदिना, स्वर्ग स्थल र तपोभूमि अमेरिकालाई रणनीतिक रूपमा त्याग्दै नेपालको तराई मधेसलाई कर्मभूमि बनाउँदै नेपालआमालाई वेश्या भन्दै ‘मधेस देश’को अभियान छेड्दै छन् ।

एकातर्फ पूर्वी टिमोरका नेता गुज्माओ बन्ने सपना देखेका डाक्टर राउतको विखण्डनवादी सोच अर्कोतर्फ आफ्नो देशको निम्ति जे पनि गर्न तयार अमेरिकी राष्ट्रपति ट्रम्पको राजनीतिक दुश्चक्रमा नेपाल फस्ने त होइन भन्ने नयाँ आवाजहरू मसिनो स्वरमा सुनिन थालेका छन् । अरब सागर र मध्यपूर्वमा घटेको अमेरिकी हतियार बजार दक्षिण एसियामा कसरी फैलाउन सकिन्छ भन्ने नयाँ अमेरिकी नीतिलाई ट्रम्प प्रशासनले मिहिन ढङ्गले अगाडि बढाउने कारण मुसलमानविरोधी नीति नै हो ।

दिन–प्रतिदिन प्रगति गर्दै अगाडि बढेका भारत र चीनको वैभवलाई रोक्न, चुनावमा ठूलो धनराशि चन्दा दिने उनका हतियार व्यापारी चन्दादाताको व्यापारिक स्वार्थ, एसियाको ठूलो मुसलमान जनसङ्ख्यालाई नियन्त्रणमा राख्न पनि उसलाई नयाँ राजनीतिक मसला र स्थानको आवश्यकता महसुस हुँदै छ । डाक्टर राउतको स्वार्थ र अमेरिकी हतियार व्यापारीहरूको स्वार्थ मेलखान गएमा नेपालको तराई मधेस नयाँ उर्वर भूमि (हतियार व्यापारको) बन्ने आँकलन डाक्टर राउतको बढ्दो गतिविधिका कारण गर्न सकिन्छ ।

डाक्टर राउतको विखण्डनवादी सोचले फल्ने–फुल्ने अवसर पाएमा केही समयपछ यो सरुवारोग भारत र तिब्बततिर फैलने, फैलाइने निश्चितप्रायः छ । नेपालको तराई मधेसको द्वन्द्वलाई हतियार व्यापारीहरूले अनेकौँ बहानामा फलाउने–फुलाउने सम्भावनालाई सही ढङ्गले व्यवस्थापन नगर्ने हो भने भविष्यमा नेपालको तराई–मधेसले अफगानिस्तान, बलुचिस्तान र कस्मिरकै नियति नव्यहोर्ला भन्न सकिन्न ।