टेक्नोक्र्यासीतर्फ आईटी -मिलन शर्मा

टेक्नोक्र्यासीतर्फ आईटी -मिलन शर्मा


information-technologyपछिल्लो समयमा आईटी भन्ने पदावली विश्वमा नै सबैभन्दा बढी प्रयोगमा आएको शब्द हो । यो शब्द आधुनिकताको पर्याय नै बनेको छ । जुनसुकै संकायको व्यक्ति भए पनि आईटीको बारेमा जानकारी नभएको व्यक्ति पंगु नै मानिने स्थिति अहिले सिर्जना भइसकेको छ । जुनसुकै धारबाट आफ्नो अध्ययन अनुसन्धान जारी राखेको वा अनुभव लिएको व्यक्ति भए पनि आईटीको बारेमा जानकारी छैन भन्दा लाज मान्नुपर्ने स्थिति आउनुको कारण पनि आईटीले हरेक क्षेत्रलाई आफ्नो बनाउँदै लगेको प्रमाण पनि हो । त्यसैले आईटीको उपयोगिता हरेक क्षेत्रमा बढेर गएको मात्र होइन अत्यावश्यक नै बनिसकेको छ ।

हामीले राजनीतिक प्रजातन्त्र (Political Democracy) को कुरा गरे पनि अब संसारको सबै क्षेत्र सूचना टेक्नोक्र्यासी (Information Technocracy) ले सञ्चालन गर्न थालेको छ । त्यसैले नेपालजस्ता मुलुकमा पनि अब सरकारका सचिवहरू नै टेक्नोक्र्याट्सहरूबाट पनि बनाउने क्रम बढेको छ । आइटी अर्थात् इन्फरमेसन टेक्नोलोजीले मुलुकलाई टेक्नोक्र्यासीतर्फ डो-याएको छ । अब हिजोका निजामति कर्मचारीले फाइल र कागजी ढड्डाबाट गर्ने काम सामान्यजस्तो टेक्नोलोजीमार्फत् हुन थालेको छ । यो क्रम बढ्ने पनि निश्चित छ । त्यसैले शासन अब टेक्नोलोजीले गर्ने भएकोले यो युगलाई टेक्नोक्र्यासी भन्न थालिएको छ । त्यसका लागि सम्पूर्ण श्रेय नै आईटीलाई जानेछ ।

यो कम्प्युटर र टेक्नोलोजी दुबै विषय समावेश भएको कोर्श हो । स्नातक तहमा यो कोर्स ४ वर्षको हुन्छ । सैद्धान्तिक र व्यवहारिक दुवै पक्ष बराबर समावेश भएको कारण यो विषय अहिलेको २१ औं शताब्दीमा यसको माग पनि दिन प्रतिदिन फराकिलो बन्दै गएको छ । यसको माग बैंकिङ क्षेत्रमा भन्नुपर्दा डेटा शेयर हाउस, डेटा कलेक्सन, डेटावेश एनालाइसिसदेखि लिएर यसको प्रयोगबाट जे कुरा पनि छिटो र सुविधाजनक हुन्छ । नेपालमा भर्खरै डेटावेश सिस्टम, अनलाइन एप्लिकेशन, आईओ, आईओएस्, मोबाइल प्रोग्रामिङ, वेब बेसमा वेभ एप्लिकेशन, डिजाइनिङ इत्यादिमा यसको माग बढ्दो छ ।

यसले तथ्य तथ्यांकहरूको संकलन, सुरक्षा, परिवर्तन, आदान–प्रदान, अध्ययन, डिजाइनिङ आदि कार्य तथा र ती कार्यका सम्बन्धित हार्डवेयरको बारेमा पनि अध्ययन गर्दछ । आइटी बर्तमान समयमा व्यापार वाणिज्यको पनि अभिन्न अंग बनिसकेको छ । सूचना क्रान्तिको परिणामस्वरूप सूचना आईटीलाई राष्ट्रिय जीवनको एक अभिन्न अंग मान्न थालिएको छ । यसलाई आईटी कम्युनिकेसन पनि भनिन्छ ।

यसले इन्फरमेसन स्टोरेज, नेटवर्किङ, सफ्टवेयर प्रविधि, सूचना प्रविधि भनेकै सेवा अर्थतन्त्र (Service Economy) को रूपमा पनि फस्टाएको छ । कम विकसित वा विकासशील मुलुकको आर्थिक विकासको लागि आईटी एक उपयुक्त माध्यम हो । गरीब जनतालाई सूचनासम्पन्न बनाएर नै निर्धनताको उन्मूलन गर्न सकिन्छ भन्ने विश्वास आधुनिक जगतमा लिइने गरिएको छ । सूचना सम्पन्नताबाट नै सशक्तीकरण सम्भव छ भन्ने विश्वासले निक्कै मुलुकमा काम पनि गरेको छ । सूचना प्रविधिले प्रशासन र सरकारमा पनि पारदर्शिता ल्याउँछ र यसले भ्रष्टाचारलाई कम गर्न मद्दत पु-याउँछ । सूचना प्रविधिको प्रयोग हिजो आज संसारका शक्ति मुलुकहरूले पनि योजना बनाउन, नीति निर्माण गर्न र निर्णय लिनमा पनि गर्ने गरेका छन् । यसले नयाँ रोजगारीको सिर्जना गर्छ ।

यसभित्र, हार्ड वेयर र सफ्टवेयर मुख्य दुई विभागहरू छन् । हार्डवेयरअन्तर्गत मुख्य रूपमा माइक्रो कम्प्युटर, सर्भर, इनपुट, आउटपुट र स्टोरेज डिभाइसेज पर्दछन् । त्यसैगरी सफ्टवेयरअन्तर्गत अपरेटिङ सिस्टम, वेब ब्राउजर, डेटाबेस प्रबद्र्धन प्रणाली र कमर्शीयल सफ्टवेयरहरू पर्दछन् । त्यसैगरी दूरसंचार प्रविधिअन्तर्गत बेतार सफ्टवेयर, नेटवर्क सुरक्षा सूचना आदि पर्दछन् । यो विषयको अध्ययन गर्नेहरू हिजोआज विश्वस्तरीय संघसंस्थाहरूमा, सरकारी कार्यालयहरूमा, सबै प्रकारका निजी कार्यालय, बैंक, शैक्षिक संस्थाहरू समेतमा सिस्टम एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर आदि पदमा ह्याण्डसम स्यालेरीका साथ कार्यरत रहेका छन् ।

सूचना प्रविधिले पूरै धर्तीलाई एक गाउँ बनाइदिएको छ । अबको नवीन अर्थ व्यवस्था पनि सूचनाको रचनात्मक वितरण प्रणालीमा भर पर्छ । किनकि, अबको विश्व इन्फरमेसन इकोनोमी र नलेज इकोनोमीमा निर्भर रहनेवाला छ । जसको नेतृत्व यो विषय पढेका व्यक्तिहरूले लिन सक्नेछन् । यसले ई–विजनेस मात्र नभएर ई–गभर्नेन्स, ई–लर्निंङ, ई–हेल्थ समेतको प्रभाव विश्वमा देखाइसकेको छ । अबको विश्वमा सबैजसो क्षेत्र ‘ई’ जोडिएर विकसित हुनेछ । त्यसका लागि यो विषयका जनशक्तिको मात्र बोलवाला रहनेछ ।

milanअब हिजोकोजस्तो स्थल युद्ध वा आणविक युद्ध भन्दा पनि सूचना प्रविधिको युद्धमा अरू मुलुकलाई जित्ने सजिलै पछाडि पार्न सक्ने भएकाले ठूलादेखि सानासम्मका मुलुकले पनि आफ्नो सैनिक रक्षा रणनीतिमा पनि यो विषयका पढेका व्यक्तिहरूलाई प्रयोग गर्ने गरेका छन् । त्यसैले विश्वमै यो विषयको माग दू्रततर रूपमा बढिरहेको छ । खासगरी महिलाहरूका लागि भने यो क्षेत्र सबैभन्दा बढी उपयोगी हुने पनि विश्व अभ्यासहरूले देखाएका छन् ।

महिलाहरू सुत्केरी विदाका समयमा सिर्जनशील बनेर यो विषयको पृष्ठभूमि छ भने आफ्नो काम गर्न सक्छन् । त्यसैगरी बीएस्सी, सीएसआईटीका पृष्ठभूमि भएकाहरूले नेपालमा बसीबसी विदेशमा आउटसोर्सिङ सर्भिस दिएर डलरमा प्रशस्तै रकम कमाइरहेका उदाहरणहरू पनि मनग्यै छन् । यो विषय पढेका व्यक्तिहरू आफैँ आफ्नो कम्पनीको सीईओ बनेर शुरुदेखि नै पनि उद्यमशीलता लिन सक्छन् । सबैभन्दा बढी सेल्फ इम्प्लोइड भएको क्षेत्र पनि यही विषयका जनशक्तिको हो । त्यसैले यस विषयको नेपालमा पनि उत्तिकै माग रहेको स्पष्ट हुन्छ ।