ज्येष्ठ नागरिक भवन बनाउन मित्रराष्ट्रको सहयोग

ज्येष्ठ नागरिक भवन बनाउन मित्रराष्ट्रको सहयोग


4 PR Lalitpur

‘ज्यापू समाज’को पहलकदमीमा ललितपुरमा ज्येष्ठ नागरिक भवन निर्माण हुने भएको छ । साढे चार तलाको आधुनिक तथा सुविधासम्पन्न भवन निर्माणका लागि भारत सरकारबाट पाँच करोड आर्थिक सहायता प्राप्त हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा गत साता भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेय र ज्यापू समाजका अध्यक्ष प्रेमबहादुरबीच त्रिपक्षीय हस्ताक्षर भएको छ ।

ललितपुरका किसान समुदायको विकास तथा उत्थानका लागि सामुदायिक संस्थाको रूपमा सन् १९९४ मा स्थापित ज्यापू समाजले परिवारबाट परित्यक्त, समाजमा दुःख पाएका, असक्त ज्येष्ठ नागरिकको सेवालगायत कार्य गर्दै आएको छ । भारतको सहयोगमा निर्माण हुने ज्येष्ठ नागरिक भवन एक सय दश बेडसहित किचेन, स्वास्थ्य परीक्षण कोठा तथा वृद्धवृद्धाका लागि आरामदायिक फर्निचर आदि सुविधाले सम्पन्न हुने बताइएको छ ।

ज्ञातव्य छ, ललितपुरमा भारतीय सहयोगका तीन परियोजना सम्पन्न भएका छन् भने अन्य ६ वटा परियोजना निर्माणाधीन छन्, जसका लागि ३१ करोडभन्दा बढी आर्थिक सहयोग उपलब्ध भएको छ । यसैगरी ६८औँ भारतीय गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको चारसहित चौधवटा एम्बुलेन्स ललितपुर जिल्लाका लागि मित्रराष्ट्र भारतले उपहार प्रदान गरेको छ ।

दोलखामा विद्यालय र अस्पताल भवन उद्घाटन
4 PR Dolakha

दोलखाका विभिन्न स्थानमा मित्रराष्ट्र भारतको सहयोगमा निर्मित तीन भव्य संरचना नेपालका लागि भारतका राजदूत रणजित रायले गत साता हस्तान्तरण गरेका छन् । गत बुधबारदेखि शुक्रबारसम्म दोलखामा बिताएका राजदूत रायले पवती गाविसमा नवनिर्मित सत्यश्वर उच्च माध्यमिक विद्यालय, सुनखानी गाविसस्थित कालीनाग उच्च माध्यमिक विद्यालय र सिँगटी बजारमा निर्मित दस शय्याको सामुदायिक अस्पताल भवनको उद्घाटन गरेका हुन् । उल्लिखित तीन संरचनाका लागि भारत सरकारले आठ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

गत माघ २६ गते दोलखाको सदरमुकाम चरिकोट पुगेका राजदूत रायले सोही दिन उद्घाटन गरेको सत्यश्वर उमाविको तीनतले भवनमा १२ वटा कक्षाकोठा, तीनकोठे पुस्तकालय, दुईवटा कोठा ल्याबका लागि र छात्र तथा छात्राका लागि अलग–अलग शौचालयको सुविधा रहेको छ । यस उमाविमा अध्ययनरत लगभग नौ सय ५० विद्यार्थीमध्ये छात्राको सङ्ख्या अधिक छ । राजदूत रायले आफ्नो मन्तव्यमा स्वास्थ्य र शिक्षाको महत्वमाथि जोड दिँदै नवनिर्मित संरचनाले शिक्षाको विकासमा मद्दत पुग्ने अपेक्षा रहेको बताए ।

दोस्रो दिन प्रसिद्ध दोलखा भीमसेनको दर्शन गरेका राजदूतले दोलखावासी एवम् समस्त नेपाली जनताको सुख–समृद्धिका लागि दोलखा भीमसेनसँग प्रार्थना गरे भने सिँगटी बजारमा नवनिर्मित सामुदायिक अस्पताल भवनको उद्घाटन गरे । उक्त अस्पतालबाट स्थानीय तथा वरपरका गाविसवासीलाई समेत स्वास्थ्य सेवा उपलब्ध हुने राजदूत रायको भनाइ थियो । यस्तै, कालीनाग उमाविको भवन उद्घाटन गर्दै राजदूत रायले साना विकास परियोजनामार्फत भारत सरकारले नेपाललाई दिँदै आएको सहयोग खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहँदै आएको बताए । पाँच सय २० छात्रछात्रा अध्ययनरत सो उमाविमा ७० प्रतिशत विद्यार्थी छात्रा रहेकोमा उनले खुसी प्रकट गरे ।

यसका अलावा चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारत सरकारले दुई करोड ३८ लाख सहयोग उपलब्ध गराएको थियो भने जिल्लाका निम्ति आठवटा एम्बुलेन्स पनि प्रदान गरेको छ ।