ज्यान तताउन डलरमा आगो

ज्यान तताउन डलरमा आगो


Pablo

संसारमा धन भएका तर सुझबुझ नभएका व्यक्तिको कमी छैन । आफ्नो नगद सम्पत्ति तिनले फजुल मात्र नभई बेतुक कार्यमा खर्च गरेको सुन्दा मानिस हैरान बन्न पुग्छन् । यसको एक ज्वलन्त उदाहरण बनेका छन् कोलम्बियाका कुख्यात कोकिन माफिया पोबलो एस्कोबार । कुनै बेला प्रतिसाता ४२ लाख डलर कमाइ गर्ने लागूऔषध तस्कर पोबलोका पुत्रले हालै खुलासा गरेअनुसार वर्षौंअघि राज्यको निसानामा परेर गिरफ्तारीको डरले पोबलो कोलम्बियाकै कुनै दुर्गम पहाडी इलाकामा लामो समय सपरिवार लुकेर बस्नुपरेको थियो । सो क्रममा उनकी सानी छोरीलाई चिसोका कारण शरीरको तापमान तीव्र गतिले घट्ने समस्या ‘हाइपोथर्मिया’ले गाँज्यो । दुर्गम पहाडी इलाकामा भूमिगत भएकाले उपचारको उपाय थिएन, पोबलोलाई छोरी तताउने बेग्लै उपाय सुझ्यो । उनले आफ्नो साथ लगेका डलरका बन्डलमध्येबाट २० लाख डलरको बन्डलमा आगो झोसे र त्यसैको रापमा सेकेर छोरीलाई जोगाए ।