छानबिन समिति निकम्मा : पुनर्वहाली, नियुक्ति र बढुवाको फाइल ‘स्वर्ग’मा

छानबिन समिति निकम्मा : पुनर्वहाली, नियुक्ति र बढुवाको फाइल ‘स्वर्ग’मा


shree-bikram-bhandari

■ श्रीविक्रम भण्डारी

कमल खनालको पुनर्वहाली, नियुक्ति र बढुवालगायतका विषयवस्तुमा अनियमितता र किर्ते भएको प्रमाणसहित घटना र विचारले प्रकाशित गरेको समाचारलाई आधार बनाएर सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक छानबिन समितिको गठन गरेका थिए । उक्त छानबिन समितिमा राखेपका सदस्य देवकुमार अधिकारी बद्रीलाई संयोजकको जिम्मेवारी दिइएको थियो । त्यस्तै राखेपद्वारा गठित उक्त तीनसदस्यीय छानबिन समितिमा तत्कालीन विभागीय प्रमुख सुरेशकुमार ढुङ्गाना र कानुन शाखा प्रमुख नारायणराज अर्याल सदस्यमा रहेका थिए । तर, छानबिन समितिकै सदस्य छानबिनमा परेका व्यक्तिलाई बचाउन विभिन्न ठाउँमा दौडाहा गर्न थालेपछि राखेपले छानबिन कमिटीलाई पुनः विस्तारित गरेको थियो । छानबिन समितिलाई चुस्त दुरुस्त बनाउन राखेपले कानुनविज्ञ धनबहादुर श्रेष्ठ र सचिवालयका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठलाई समितिमा भित्र्याएको थियो । अहिले छानबिन समितिले पूर्णता पाएको महिना दिन बितिसक्दा पनि उक्त छानबिन समिति छानबिनमा मात्रै सीमित हुन पुगेको छ । अर्थात् छानबिनको नाममा समितिले झिँगोसमेत मार्न सकेको छैन । यसरी अहिले छानबिन समितिको गठन हुनुको औचित्यमाथिसमेत प्रश्नचिह्न खडा भएको छ ।

साँचो रूपमा भन्नुपर्दा यतिबेलासम्म छानबिन समितिको कार्य टुङ्गोमा पुग्नुपर्ने थियो । तर, विडम्बना ! समितिले अहिलेसम्म कुनै नतिजा सार्वजनिक गर्न सकेको छैन । यसको अर्थ छानबिन समितिले कुनै कार्य अगाडि बढाएकै छैन भन्दा अतिसयोक्ति नहोला । अन्यथा जुन कार्यका लागि छानबिन समिति राखेपले गठन गरेको थियो त्यो मौनता साँधेर कदापि बस्ने थिएन । छानबिन समिति देखाउनकै लागि मात्र गठन भएको कुरा उक्त समितिका सदस्य ढुङ्गानाको हर्कतबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । यसर्थमा कि ढुङ्गानाले छानबिनमा परेका व्यक्तिलाई बचाउन कागजपत्र बोकी घटना र विचारलाई दिएका थिए । यसरी समितिकै सदस्य छानबिनमा परेको व्यक्तिलाई जोगाउन लागेको दृष्टान्तले पनि यो छानबिन समितिको हैसियत प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । जसले गर्दा खेलकुदमा उत्कृष्ट छवि बनाएका, चिनिएका र एमालेको राजनीतिमा राम्रो पकड बनाएका संयोजक देवकुमार अधिकारी बद्रीको कार्यक्षमतामा समेत प्रश्न खडा भएको छ । तसर्थ राखेपका आमकर्मचारीहरू अहिले बडो उत्सुकताका साथ छानबिन समितिको कार्यलाई नजिकबाट नियालिरहेका छन् । साथै परिषद्का कर्मचारीहरूले प्रतिप्रश्न गरेका छन्, ‘कि कतै छानबिन समितिमा रहेका सदस्यहरू खनालको प्रलोभनमा त परेका छैनन् ?’ अहिले यो प्रश्न गम्भीर रूपमा उठेको छ ।

Sport 111

छानबिन समितिले कति र कस्तो छानबिन ग¥यो त्यो घामजस्तै छर्लङ्ग छ । तर, छानबिन समितिले छानबिनको कार्य अगाडि बढाउँदा कमल खनालले खेलकुदमा गरेको उपद्रोवको बारेमा भने केही तथ्य फेला पारेको स्रोतले घटना र विचारलाई बताएको छ । २०५४ पुस ४ गतेको कर्मचारी पुनर्वहालीसम्बन्धी सक्कली टिप्पणी फाइल तत्कालीन कर्मचारी प्रशासन शाखाका प्रमुख रामशरण अधिकारीले सुरक्षित राख्नुपर्नेमा त्यो नगरी लापरबाही गरेको खुलासा भएको छ । प्राप्त जानकारीअनुसार उक्त सक्कली टिप्पणी फाइल रहस्यपूर्ण ढङ्गले गायव गरी त्यसको फोटोकपी मात्र राखेपमा राखेको स्रोतको दाबी छ । यस्तो रहस्यको उद्घाटन हुँदासमेत राखेपले मौनता साँधेको छ । त्यस्तै छानबिन समिति कसैको प्रलोभनमा परी छानबिन कार्यलाई निष्कर्षमा पु¥याउनुको सट्टा आफूले पाएको जिम्मेवारी निभाउनुभन्दा खुट्टा कमाउँदै खनाललाई जोगाउन विभिन्न तानाबाना बुन्दै गरेको स्रोतको दाबी छ । खनाल लामो समयदेखि प्रशासन विभागको प्रमुखमा रहेको र सोही समयमा खनालले उक्त ०५४ चैत ४ को सक्कली टिप्पणीमा आफ्नो र राजेशदीप बज्राचार्यको नाम घुसाएको राखेपका आमकर्मचारी वृत्तमा चर्चाको विषय बनेको छ । प्राप्त जानकारीअनुसार खनालले परिषद्का कर्मचारी विजयमान राजभण्डारीलाई दुवैको नाम थप्न लगाई उक्त फाइल आफैँले कब्जा गरेको स्रोतले बताएको छ । अर्को कुरा, खनालले आफ्नो बढुवाको सूची आफैँले दुई वर्षपछि सार्वजनिक गरी बढुवासम्बन्धी सम्पूर्ण कागजात पनि आफँैले लुकाएर राखेको स्रोतले खुलासा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र किर्ते र ०५४ साल पुस ४ गतेको सक्कली टिप्पणी किर्ते गर्ने खनाललाई निलम्बनमा राखी कारबाही गर्नुपर्नेमा विष्टले छानबिन समिति मात्र गठन गरी हात्तीको दाँत देखाउने कार्य मात्र गरेका छन् । अन्यथा गैरकानुनी कार्य गर्ने खनालको सम्पूर्ण क्रियाकलापको प्रमाणसहित पर्दाफास हँुदासमेत विष्टले किन मौनता साँधेका हुन् ? त्यो अहम् प्रश्न बनेको छ । विष्टको लाचारीपन देख्दा उनी कतैबाट सञ्चालित भएर खनाललाई जोगाइराखेको अड्कल काटिन थालेको छ । अन्यथा कछुवाको गतिमा समेत कार्य नगरिराखेको छानबिन समितिप्रति विष्टले अवश्य पनि अनुसन्धान गर्थे । तर, विष्ट त्यस्तो गर्नुको साटो सम्पूर्ण जिम्मेवारी छानबिन समितिको टाउकोमा खन्याउँदै आफू पानीमाथिको ओभानो बनिरहेका छन् । अझ यसलाई मलजल गर्न राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घको एक झुन्ड लागिपरेको घटनाले पनि यसलाई पुष्टि गर्छ । नाम नबताउने सर्तमा परिषद्का एक महिला कर्मचारीले अहिले राखेप कर्मचारी सङ्घ कमल खनालको इशारामा नाचेको आरोपसमेत लगाएकी छिन् । साथै उनले घटना र विचारमा महिला अस्मिता रक्षाका लागि प्रकाशित समाचारप्रति लालमोहर लगाउँदै कर्मचारी सङ्घका केही पदाधिकारीहरू कमल खनाल र कुलबहादुर थापाको उक्साहटमा लागेकोसमेत दाबी गरेका छन् । ती कर्मचारीले घटना र विचारले लेखेको समाचार महिलामाथि हुने गरेका शोषण, दमन र अत्याचारको पक्षमा भएको र त्यस्ता शोषण गर्ने व्यक्तिको पहिचान खुद महिलाले गर्नुपर्ने र उनीहरूको पर्दाफास गर्नुपर्ने बताएकी छिन । तर, यो कुरा परिषद्का महिला कर्मचारीले नबुझेकोमा उनले रोष प्रकट गरेकी थिइन् ।

त्यस्तै, अर्की परिषद्की महिला कर्मचारीले समाचारमा राखिएको फोटो नमिलेको भन्दै आपत्ति प्रकटसमेत गरेकी थिइन् । समाचारको प्रसङ्ग फोटोसँग मिलेन, यो आपत्तिजनक छ, सावधानी अपनाउनुपथ्र्यो, समाचारमा महिलाविरुद्ध त्यस्तो कुनै कुरो छैन । सबै सकारात्मक छ । तर, किन यो कुरालाई बङ्ग्याएर उल्टो अर्थ लगाइराखिएको छ, त्यो मैले बुझ्न सकेको छैन– ती महिला कर्मचारीको कथन थियो । साथै उनले समाजको विकृति र विसङ्गतिलाई चिर्दै सही बाटो देखाउनु पत्रकारको धर्म हो समेत भनेकी छिन् । त्यस्तै उनले गीताको सारको उल्लेख गर्दै ‘जे भो राम्रै भो, जे हुन्छ राम्रैका लागि हुन्छ र जे हुनेछ राम्रैका लागि हुनेछ’ भन्दै यस्ता विकृति र विसङ्गतिको विरुद्धमा कलम चलाउन पङ्क्तिकारलाई प्रेरित गरेकी छिन् ।

प्राप्त जानकारीअनुसार टिप्पणीको तीन पाना रामशरण अधिकारी र बाँकी डेमबहादुर बस्नेतले लेखेको स्रोतको दाबी छ । छानबिनका क्रममा छानबिन हुँदै जाँदा ०५४ सालको निर्णयको सक्कल तत्कालीन कर्मचारी शाखा प्रमुख अधिकारीले दुई दशकअघि मृत्यु भएका तत्कालीन भण्डार तथा आपूर्ति शाखाका प्रमुख माधव खड्कालाई बुझाएको बयान दिएर खेलकुदमा सनसनी फैलिएको छ । यो फाइलसँग खड्काको कुनै सम्बन्ध नरहेको र यो अत्यन्त गैरजिम्मेवार र भ्रामक जवाफ भएको स्रोतले बताएको छ । यो खनाललाई बचाउने चाल मात्रै हो । अन्यथा दुई दशकअघि विराटनगरमा सवारी दुर्घटनामा परी मृत्यु भइसकेका खड्कालाई फाइल बुझाएको नौलो नाटकको कदापि मञ्चन गरिने थिएन । अब छानबिन कमिटीले कमल खनालले किर्ते गरेको फाइल स्वर्गमा रहेका खड्कासँग माग्नुपर्ने अवस्थाको सिर्जना भएको छ । जुन आफैँमा हास्यास्पद बनेको छ ।