चौतर्फी दबाबमा देउवा

चौतर्फी दबाबमा देउवा


deuwa-1

चौतर्फी दबाबका कारण पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निकै सकस परिरहेको छ । दबाबकै कारण दुई महिनाभित्रै पूर्णता दिइसक्नुपर्ने केन्द्रीय कार्यसमितिलाई देउवाले पूर्णता दिन सक्नुभएको छैन । नेपाली कांग्रेसमा यतिबेला विभिन्न पाँचवटा समूह क्रियाशील देखिएका छन् । पुरानो कोइराला पक्षको नेतृत्व डा. शशाङ्क कोइरालाले गर्दै हुनुहुन्छ भने रामचन्द्र पौडेलको नेतृत्वमा पुरानो संस्थापनको एउटा पक्ष क्रियाशील छ । शशाङ्कको पक्षमा दीपक गिरीलगायतका नेताहरू रहेका छन् भने पौडेललाई साथ दिनेहरूमा डा. रामशरण महत, डा. नारायण खड्का, नवीन्द्रराज जोशीलगायत छन् । सुजाता कोइराला आफ्नै कोटरी बनाउने र चलाउने प्रयास गर्दै हुनुहुन्छ । डा. शेखर कोइरालाले पनि देशभरि आफ्नो नेटवर्क बनाउने अभियान सुरु गर्नुभएको छ ।

सभापति शेरबहादुर देउवाको नेटवर्क निकै सुदृढ मानिन्छ भने देउवापछि उहाँको टिमभित्र नेटवर्क बलियो भएको नेताका रूपमा खुमबहादुर खड्कालाई लिइन्छ । पछिल्लो समयमा कृष्ण सिटौला पनि एउटा टिमको नेता बनेर सतहमा देखापर्नुभएको छ । कृष्णप्रसाद सिटौला कांग्रेसका त्यस्ता नेता हुनुहुन्छ, जसले पार्टीको सत्तामा जो पुग्छ उसैको छहारीमा बसेर आफ्नो हैसियत देखाउने क्षमता प्रस्तुत गर्दै आउनुभएको छ । गोविन्दराज जोशीसँग मिलेर गिरिजाप्रसाद कोइरालाको नजिक पुग्नुभएका सिटौला कोइरालाको पछिल्लो कालखण्डमा उहाँका सर्वाधिक निकटवर्ती मानिनुहुन्थ्यो । गृहमन्त्री रहँदा सुशील कोइरालाले सिटौलाको राजीनामासमेत माग्नुभएको थियो । सुशील कोइराला पार्टी सभापति भएपछि सिटौलाको राजनीतिक भविष्य समाप्त हुने ठानिएको थियो, तर सुशील सभापति बनेपछि सबैभन्दा नजिकका व्यक्ति सिटौला नै बन्न पुग्नुभयो । सुशीलले सिटौलालाई महामन्त्री मनोनीत गरेर आफैँसँग राख्नुभएको थियो । सुशीलको निधनपश्चात्चाहिँ सिटौलाको भविष्य अन्धकार हुने ठानिएको थियो । शेरबहादुर देउवाले सिटौलालाई कुनै स्पेस दिने कल्पनासम्म गरिएको थिएन ।

तर, देउवा सभापति बन्नुभएपछि पनि सबभन्दा लाभ हासिल गर्नेमा सिटौला नै पर्नुभएको छ । सिटौलाले विमलेन्द्र निधिसँग पनि राम्रो सम्बन्ध बनाउनुभएको छ । तर, यो गठजोड धेरै लामो समय टिक्न सक्ने देखिँदैन, किनभने निधि देउवालाई भ¥याङ बनाएर माथि पुग्न सफल व्यक्तिका रूपमा चिनिनुहुन्छ । र, सिटौलाको दाउ पनि देउवालाई भ¥याङ बनाउने नै हो भन्ने निधिलाई राम्रोसँग थाहा छ । निधि र सिटौलाको गठजोड रामचन्द्र पौडेल र खुमबहादुर खड्काको विरोधमा आधारित छ । पौडेल र खड्काको त्रास र मित्रराष्ट्रको समर्थन लिइदिने आश देखाउँदै देउवालाई आफ्नो अधीनमा राख्ने सफलता निधि र सिटौलालाई मिलेको छ । यी दुईले खुमबहादुर खड्कालाई उपसभापति बन्न नदिन सबै प्रकारले प्रयास गरिरहेका छन् । उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुभएका निधि पार्टीको उपसभापति पनि बन्न चाहनुहुन्छ र निधिले देउवासमक्ष आफूलाई उपसभापति बनाउन आग्रह गर्दै आउनुभएको छ । निधिलाई उपसभापति बनाउँदा मित्रराष्ट्र पनि प्रसन्न हुने भन्दै सिटौलाले पनि निधिलाई नै सिफारिस गरिरहनुभएको बुझिएको छ । खुमबहादुर खड्कालाई उपसभापति बनाइँदा आफ्नो हैसियत खुम्चिन सक्ने चिन्ता निधि र सिटौलामा प्रस्टै देखिएको छ । त्यसैले उहाँहरूले देउवामाथि विभिन्न प्रकारले दबाब पैदा गरिरहनुभएको छ । उहाँहरूकै दबाबका कारण पदाधिकारी चयन गरी कार्यसमितिलाई पूर्णता दिन देउवाले सकिरहनुभएको छैन ।

सिटौला र निधि असन्तुष्ट हुनु भनेको एउटा मुलुक नै असन्तुष्ट बन्नु हो भन्ने ‘इन्पे्रसन’ सभापति देउवालाई परेको बताइन्छ । उता रामचन्द्र पौडेल र उहाँको टिमबाट बेलाबखत सङ्गठित दबाब आउने गरेबाट पनि देउवा हैरान हुनुहुन्छ । मन्त्रिमण्डलदेखि केन्द्रीय कार्यसमितिमा समेत भाग खोजेपछि देउवामाथिको दबाब बढेको हो । पौडेलको टिमले हालै मात्र संविधान संशोधन, सरकार सञ्चालन र स्थानीय निकायको सङ्ख्या र सीमा तथा निर्वाचनलगायतका विषयमा छलफल गर्नका निम्ति केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिइरहेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा खुमबहादुर खड्कासँग बनेको सहमति पनि देउवाका निम्ति दबाब बन्न पुगेको छ । देउवा र खड्काबीच महाधिवेशनमा खड्का पक्षले देउवालाई सभापति बन्न सहयोग गर्ने र देउवाले खड्कालाई उपसभापति मनोनयन गर्ने सहमति बनेको थियो । यसैगरी पार्टीका नेताहरू गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, डा. प्रकाशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई कसरी ‘सेटल’ गर्ने भन्ने विषयले पनि देउवामाथि दबाब पैदा गरिरहेको छ । कतिपयले गोपालमान श्रेष्ठलाई उपसभापति र खुमबहादुर खड्कालाई महामन्त्री बनाउन देउवालाई सुझाव दिइरहेका छन् भने ज्ञानेन्द्रबहादुर कार्कीलाई कुनै महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने विषयले देउवा स्वयम् माथि दबाब पैदा गरिरहेको छ ।

महासमितिको बैठक बोलाएर पदाधिकारी थप गर्ने मानसिकता सभापति देउवाले बनाउनुभएको बुझिन्छ । तर, रामचन्द्र पौडेलको टिम देउवाको सहजतामा सहयोगी बन्ने विश्वास गरिएको छैन । उता डा. शेखर कोइराला जसलाई सम्भावित परराष्ट्रमन्त्रीका रूपमा लिइन्थ्यो, उहाँको भूमिका पनि देउवालाई सहयोग पु¥याउने प्रकारको हुनसक्ने ठानिँदैन । कोइराला पक्ष र पौडेल पक्षबाट पैदा गरिने अवरोध झेल्न मुस्किल परिरहेका बेला देउवालाई आफ्नै टिमभित्रको व्यवस्थापन पनि सकसको विषय बनिरहेको छ । खुमबहादुर खड्कासँग बनेको सहमतिअनुरूप काम नहुँदा खड्का भड्किने खतरा जति छ, विश्वासमा लिन नसक्दा गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्का बिच्किने खतरा पनि त्यति नै देखिन्छ । आफूले भनेबमोजिम नगर्दा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले केसम्म गर्ने हुन् देउवाका निम्ति त्यो पनि चिन्ताको विषय बनेको छ ।

एकातिर मुलुकमा कम्युनिस्ट प्रभावलाई न्यून गराउँदै संविधान कार्यान्वयनमा जुट्नुपर्ने चुनौती सभापति देउवाका अघिल्तिर छ भने अर्कोतिर पार्टीभित्रको व्यवस्थापन गर्नुपर्ने दायित्व पनि उहाँका निम्ति चुनौतीकै विषय बनिरहेको छ । यसरी चौतर्फी दबाबमा रहनुभएका देउवाले आफ्नो दायित्व सहजै निर्वाह गर्न कसरी सक्नुहोला आमजिज्ञाशाको विषय बनेको छ ।