चीनको वैभवको रहस्य

चीनको वैभवको रहस्य


laxmi-kanta-poudel

– लक्ष्मीकान्त पौडेल

सन् २०१६ को सेप्टेम्बर ८ देखि १३ सम्मको चीनको पाँचदिने बसाइ अविष्मरणिय रह्यो । विशेषतः बेइजिङका चौडा सफा सडक, शान्त–सुन्दर रेड स्क्वायर अर्थात् तियानमेनचोक, विश्वकै सप्तआश्चर्यमा पर्ने ग्रेटवाल, फर्बिडन प्यालेसलगायतका व्यवस्थित रूपमा संरक्षित ऐतिहासिक स्थलहरू हेर्नलायक र प्रशंसायोग्य लाग्यो । पाँच दिनको बसाइबाट विश्वको करिब २० प्रतिशत जनसङ्ख्या भएको देश चीनबारे धेरै जानेको सम्झनु त मूर्खता हुनेछ, तर जे देखियो त्यसको आधारमा केही तथ्य उल्लेख गर्न सम्भव छ र हाम्रा लागि उपयोगी नै हुन सक्छ । चीन वास्तवमा उद्यमी, कर्तव्यप्रेमी, सकारात्मक सोच हुनेहरूको देश रहेछ भन्ने त्यहाँ पुगेर परख गर्ने जो–कोहीलाई पनि लाग्दछ ।

चीन विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशमा पर्दछ । सहरहरूको पर्यावरण साह्रै नराम्रो भएको भन्ने गरिन्छ । तर, पेकिङलाई हेर्दा चिनियाँले पर्यावरणमा राम्रो ध्यान दिएको देखिँदोरहेछ । सवारीका साधनहरूमा सार्वजनिक ठूला सवारी साधनलाई प्राथमिकता दिएको छ । प्रायः सबैतिर फ्लाईओभरको माध्यमबाट क्रसिङको व्यवस्थाले गर्दा सवारीको चाप धेरै भए पनि ट्राफिक जाम धेरै कम हुँदोरहेछ । अर्कोतर्फ ६ लेनकै सडकको बाहुल्यले गर्दा पनि सडकमा जाम कम भएको हुन सक्छ । यी दुई कारणले गर्दा गाडीको कार्बन उत्सर्जन कम हुँदा पर्यावरण क्रमशः सुध्रेको अनुमान लगाउन सकिन्छ ।

अर्कोतर्फ करिब सबैतिर सडकको छेउमा र बीचमा वृक्षरोपणले गर्दा सहरमा कतिपय ठाउँलाई हेर्दा त जङ्गलमा सहर बसाएकोजस्तो सुन्दर देखिन्छ । घरहरू सुन्दर, ठूला र व्यवस्थित रूपमा मिलेका छन् । अन्य देशका ठूला सहरहरूमा त्यत्तिको व्यवस्थित सहर देखिँदैनन् । माओको समयमा हालको उत्तर कोरियाजस्तो जनता गरिब र सरकार हातहतियारमा धनी भएको देश चीनले तेङको सुधार योजना पछि आफूलाई ‘धनीहरूको देश’मा परिणत गरेको छ । विश्वमा सबैभन्दा धेरै करोडपति भएको देश हुँदा जहाँ धनी छन् त्यहाँ गरिब त अझ धेरै हुन्छन् भन्ने कम्युनिस्टहरूको सिद्धान्तअनुसार सायद गाउँहरूमा गरिबी होला, तर सहर त्यस्ता छैनन् भन्ने अनुभव पेकिङले देखाएको छ ।

आध्यात्मिक सोच कम भएकाले होला स–साना कुरामा बेइमानी गर्ने व्यक्तिगत चरित्र पनि पाइन्छ भनिँदोरहेछ । ट्याक्सीमा हिँड्दासमेत चालकलाई पैसा दिँदा उसले तुरुन्तै तिमीले कम पैसा दिएका हौ भन्ने गर्दछन् । त्यसैले तिर्ने नोटको फोटोकपी वा मोबाइलमा नोटको कपी सेभ गर्नुपर्छ भन्ने सल्लाह पनि पाइएबाट केही मानिसको चरित्र बुझ्न सकिन्छ । तर, विकासले बेइमानी गर्न पनि साह्रै सजिलो छैन । सबैतिर सीसीटीभी जडान छ । साह्रै अनुशासित लाग्ने सुरक्षाकर्मी छन् । सुरक्षाकर्मी सजग भएर बसेका हुन्छन् तर, जनतालाई अनावश्यक हैरानी गर्दैनन् । उनीहरूको जनतासँग अनावश्यक हेलमेल नहुने, तर आवश्यकतामा पुग्ने चरित्र देखिँदा उनीहरूमा सुस्त र भ्रष्टाचारी मानसिकता कम छ भन्ने सहज अनुमान हुन्छ ।

चिनियाँ जनताको साह्रै ठूलो सम्पत्ति र विशेषता भनेको उनीहरूको कर्तव्यप्रति सजगता नै हो । उनीहरू कोही पनि दैनिक जीवनमा र परिवारमा पनि अधिकारवादी छैनन् जस्तो देखिन्छ । सबैले आफ्नो कर्तव्य मात्र देख्ने प्रवृत्ति नै महान् छ । सबै नै कर्तव्यप्रति सजग भएपछि अधिकार र विकास तथा समानता आफैँ पछि लागेर आउँदो रहेछ । अधिकार मात्र खोज्ने नेपाली मोडेलले गर्दा विकास सद्भावना भाग्दो रहेछ र प्रकारन्तरले अधिकार नै कम पाइँदोरहेछ भन्ने चिनियाँ अनुभवको छोटो पाटोले सिकायो ।

lk-paudel-china-2

प्रायः चिनियाँहरू बाहिरकासँग घुलमिल हुन रुचाउँंदैनन् । औपचारिक कुरा गर्ने र रिजर्भ रहने उनीहरूको विशेषता देखियो । नेपालमा जस्तो सरकार र विदेशको राजनीतिको हावादारीजस्तो लाग्ने चर्चा हुँदैन । जस्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पहिलाको एजेन्डाको आधारमा नहुने चिश्चित भएको सङ्केत त्यहाँका भनाइहरूबाट हामीले पाएको भए पनि खुलेर कसैले कुरा गर्दैनन् । सँगै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको भए अपेक्षाकृत रूपमा नेपाललाई ठूलो लाभ हुने थियो भन्ने चर्चा पनि छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अघोषित रूपमा नै भए पनि छिटो हुने अवस्था टर्नुको पछाडि नेपालको राजनीतिक कारण नै देखाउने गरिँदोरहेछ भन्ने आसय पनि त्यहाँ पाइयो । अहिलेको सरकार परिवर्तन चीनसँगको नेपालसँगको निकटतासँग जोडेर भारतीय पक्षमा नजिक गएको भन्ने सङ्केतकै आधारमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछाडि सरेको (?) त होइन ? भन्ने पनि आशङ्का छ । नेपालीबीच भने सरकार परिवर्तन भारत र चीन पक्षधर हावी हुनुभन्दा पनि मात्र सरकारमा जाने तँछाड मछाडसँग सम्बन्धित छ भन्ने चर्चा हुँदोरहेछ र त्यो चर्चा अरू देशमा रहेका नेपालीले पनि गरेका हुन्छन् । यसमा एमाले, माओवादी, काङ्ग्रेस मात्र होइन अन्य दलहरूको हैसियत पनि उस्तै हो भन्ने चीनले बुझ्नुपर्छ र नेपालप्रतिको सद्भाव नेपाली जनताको पक्षको आधारमा राख्नुपर्छ भन्ने नेपाली पनि प्रसस्त छन् ।

चीनको प्रगतिको तुलना नै छैन भन्दा पनि हुन्छ । पेकिङको तुलना एसियाका अन्य सहरहरूसँग सायदै गर्न मिल्दछ । लन्डन, ओस्लो, संयुक्त राज्य अमेरिकाका धेरै सहरभन्दा पेकिङ कुनै पनि आधारमा कम व्यवस्थित र विकसित छैन, अझै बढी अनुशासित छ ।

समग्र रूपमा हेर्दा चिनियाँ जनताको साह्रै ठूलो सम्पत्ति र विशेषता भनेको उनीहरूको कर्तव्यप्रति सजगता नै हो । उनीहरू कोही पनि दैनिक जीवनमा र परिवारमा पनि अधिकारवादी छैनन् जस्तो देखिन्छ । सबैले आफ्नो कर्तव्य मात्र देख्ने प्रवृत्ति नै महान् छ । सबै नै कर्तव्यप्रति सजग भएपछि अधिकार र विकास तथा समानता आफैँ पछि लागेर आउँदो रहेछ । अधिकार मात्र खोज्ने नेपाली मोडेलले गर्दा विकास सद्भावना भाग्दो रहेछ र प्रकारन्तरले अधिकार नै कम पाइँदोरहेछ भन्ने चिनियाँ अनुभवको छोटो पाटोले मलाई सिकायो । यो संस्कृति जापान, ताइवान, दक्षिण कोरियामा समेत साझा रूपमा रहेकोजस्तो लाग्दछ । हामीले यो पक्षलाई सिक्ने कि सस्तो, सजिलो र एनजीओमुखी काम मात्र गर्ने भन्ने सवाल पनि खडा हुन्छ ।

चिनियाँहरूको विकासको अर्को रहस्य भनेको प्रायजसो कृषि उत्पादनको प्याकेट एरिया बनाउनु पनि रहेछ । एकप्रकारको खेती, फलफूल आदिको उत्पादन एकै ठाउँमा हुने गर्दा काम गर्न सजिलो हुने, प्रविधिको उपयोग गर्न सजिलो हुने तथा बजार व्यवस्थापन पनि सजिलो हुने तथ्यलाई चिनियाँहरूको कृषिनीतिले अझ प्रस्ट पारेको छ ।

अघोषित रूपमा नै भए पनि चीनको विकासको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको जनतामा राजनीतिक अधिकार छैन । राजनीतिक अधिकार नदिनु नराम्रो मानिन्छ, तर राजनीतिक अधिकार पाएर दुरुपयोग गरेर आगो लगाउनै पछि नपर्नेहरूको क्रियाकलापभन्दा चीनको अवस्था ठीक हो भन्नेहरू पनि छन् । नेपालमा राजनीतिलाई आगो लगाउने काममा काङ्ग्रेस पछाडि नै छ । तर, चीनबाट बुझ्नपर्नेहरूले भने त्यो बुझेका छैनन् । चीनमा अधिकारको दुरुपयोग गर्ने वातावरण नहुनाले विकास अवरुद्ध भएको छैन । अनुशासित पुँजीवादको राम्रो विकास भएकाले उद्योग, व्यवसायहरू निर्विवाद रूपमा चलेकाले विकास मात्र होइन, सस्तोमा चिनियाँहरूले आफ्ना देशका सामानहरू विश्वमा नै स्थापित गर्न सकेका छन् ।

चीनमा कम्युनिस्ट पार्टी नाम गरेको दलले चलाएको, सारमा उदार अर्थनीति अर्थात् गैरकम्युनिस्ट अर्थनीति तर राजनीतिक अनुदारता भए पनि अनावश्यक राजनीतिक उद्दण्डता नभएकोले गाउँगाउँ र बस्तीबस्ती राजनीतिक झगडा र छिनझप्टीबाट मुक्त छ । हरेक विषयमा राजनीति त्यहाँ घुस्दैन । त्यो पनि चीनको विकासको रहस्य हो । सायद सुरक्षित रूपमा बहुलवादमा आधारित लोकतन्त्रको बाटोमा चीन अगाडि बढ्न सक्यो भने चीन विश्वको सबैभन्दा उत्कृष्ट र व्यवस्थित शक्तिको रूपामा आउँछ नै । यो भन्नुपर्नाको कारण के हो भने कुनै पनि राजनीतिक प्रणालीका निश्चित क्षमता हुन्छन् र गैरलोकतान्त्रिक प्रणालीले सबै क्षमतालाई स्वचालित रूपमा व्यवस्थित गर्न सक्दैन । जे होस्, अनुशासित जनता र निजीकरणको माध्यमबाट चीन अगाडि बढिरहेको छ । हामीले त्यस देशबाट सकारात्मक फाइदा लिन सकौँ ।

lk-paudel-china