चीनका राष्ट्रपति (न)आउने निश्चित !

चीनका राष्ट्रपति (न)आउने निश्चित !


सी जिनपिङ

नेपालको सङ्क्षिप्त भ्रमण गर्ने मानसिक तयारीमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘काठमाडौंमा स्वागत गर्न’ प्रधानमन्त्री प्रचण्ड हच्किनुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । चिनियाँ राष्ट्रपतिलाई ‘स्वागत गर्दा’ आफूमाथि राजनीतिक सङ्कट पैदा हुनसक्ने त्रासका कारण प्रचण्ड यसरी हच्किनुभएको बताइन्छ । केपी ओली नेतृत्वको सरकारले चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा भव्य स्वागत गर्ने सोच बनाएको थियो र सो क्रममा विभिन्न महत्त्वाकाङ्क्षी सम्झौताहरू गर्ने योजना पनि बनेको थियो । ओली नेतृत्वको सरकार विस्थापित भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल आगमन हुनेछैन भनी गरिएको अनुमान गलतसिद्ध गर्दै नेपालले आवश्यक तयारी गरे राष्ट्रपतिको भ्रमण हुनसक्ने स्पष्ट सङ्केत चीनले दिइसकेको छ । प्रचण्डबाहेक माओवादीका सबैजसो नेताहरू चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने र ओली सरकारले चीनसँग गरेका सहमतिहरू कार्यान्वयन गर्ने पक्षमा दृढतापूर्वक उभिएका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन प्रचण्डले आनाकानी गरेमा माओवादीभित्र नयाँ विवाद पैदा हुने र त्यसले प्रचण्डलाई गम्भीर क्षति पुर्‍याउने सङ्केतहरू देखिएका छन् । तर, अन्तर्राष्ट्रिय समुदायले चीनप्रति प्रधानमन्त्री प्रचण्डको नीति र व्यवहार कस्तो हुनसक्छ भन्नेमा गम्भीर चासो राखेका छन् । अन्तर्राष्ट्रिय समुदायको चासोलाई प्रचण्डले धेरै राम्रोसँग बुझ्नुभएको विश्वास पनि गरिन्छ । यसअघि प्रधानमन्त्री बनेका बेला (वि.सं. २०६५) चीनको भ्रमण गरेका कारण उत्पन्न आशङ्का र व्यवहारलाई प्रचण्डले भुल्न सक्नुभएको छैन । पुन: त्यस्तै प्रकारको ‘गल्ती’ नगर्न प्रचण्ड सचेत हुनुहुन्छ भन्ने ठानिएको छ । त्यसैले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने विषयमा प्रचण्डले आफ्नो भारत भ्रमणभन्दा पहिले स्पष्ट निर्णय नगर्ने सम्भावना छ ।

भदौ ३० गते भारतको भ्रमणमा जानुअघि नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण टुङ्गो लाग्दा नकारात्मक असर पर्न सक्ने विश्लेषण प्रचण्डबाट भइरहेको बुझिन्छ । त्यसैले आफ्नो विशेष दूतका रूपमा चीन पठाइएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्किएपछि पनि चिनियाँ राष्ट्रपति भ्रमणको विषयलाई रहस्यकै रूपमा राखिएको छ । सीको नेपाल भ्रमण हुने या नहुने भन्नेबारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक भएको छैन । तर, प्रचण्डको स्वभाव र माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सोचको विश्लेषण गर्दा अन्तत: प्रचण्डबाट चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा स्वागत गर्ने निर्णय हुने निष्कर्षमा पुग्न सकिन्छ । यस्तो निर्णयमा पुग्नुअघि प्रचण्डले भारतसँग पुनस्र्थापित हुँदै गरेको आफ्नो सम्बन्धलाई भने दाउमा राख्नुपर्ने हुन्छ ।

प्रचण्डबाट पनि धोखा भएको महसुस भारतले गर्‍यो भने नेपाली राजनीतिमा त्यसको कस्तो असर पर्नसक्छ भन्नेबारेमा अहिले नै अनुमान गर्न सकिँदैन, यद्यपि दूरगामी प्रकृतिको प्रभाव पर्नेमा भने कुनै शङ्का गर्नुपर्ने छैन । कदाचित सीको नेपाल भ्रमणप्रति प्रचण्डले रुचि देखाउनुभएन भने त्यसले उहाँको पार्टीभित्र गम्भीर विवाद पैदा गरे पनि चीनबाहेकका शक्तिशाली देशहरूको प्रचण्डलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा ‘सकारात्मक’ परिवर्तन आउने सम्भावना छ ।