चन्द्रागिरि नगरप्रमुखको सपना

चन्द्रागिरि नगरप्रमुखको सपना


Ghanashyam Giri 2

जीवनका उर्वर ३६ वर्ष अध्यापन कार्यमा लगाएका घनश्याम गिरी आफ्नो क्षेत्रमा एक अब्बल समाजसेवकको रूपमा पनि उत्तिकै चिनिएको नाम हो । आस्थाका आधारमा नेपाली काङ्ग्रेसका जुझारु योद्धा भएर पनि घनश्यामले अन्य दलप्रति आस्था राख्ने कुनै व्यक्तिप्रति कहिल्यै अर्को दृष्टिले हेरेनन् । स्थानीय क्षेत्र वा आफ्नो गाउँ, टोल, समाजको विकासको निम्ति अनेक जोखिम मोलेर पनि अघि बढ्ने स्वभावका कारण सबैको प्रिय पात्र रहँदै आए उनी । ‘केही गर्ने क्षमता, आँट र ऊर्जा भएका व्यक्ति हुन् घनश्याम’ भनी विपक्षी राजनीतिक समूहका सदस्यहरूद्वारा समेत सह्राइएका घनश्याम गिरीको परिचय यतिबेला फेरिएको छ । स्थानीय तहको निर्वाचनमा १३ हजार तीन सय नौ मत हासिल गरी राजधानीकै ठूलो नगरपालिका चन्द्रागिरिको नगरप्रमुख चुनिएका गिरीको काँधमा सम्भावना र समस्याले उत्तिकै जेलिएको उक्त नगरलाई सुन्दर र समृद्ध तुल्याउने अग्रणी दायित्व आइपरेको छ ।

निर्वाचनको सङ्घारमा आइपुग्दा जनचाहनाका साथै पार्टी निर्णयको आधारमा मेयरको उम्मेदवार बन्न पुगेका घनश्याम गिरीलाई बितेको तीस–पैंतीस वर्षमा स्थानीयवासीको मन जित्ने गरी उनले गरेका कर्मका कारण चुनाव जित्न त खास समस्या परेन । तर, मेयरको जिम्मेवारी काँधमा परेपछि उनीसामु चुनौतीको पहाड नै ठडिन पुगेको छ ।
चुनावअघि नेपाली काङ्ग्रेस चन्द्रागिरि नगर इकाइले नगर क्षेत्रका स्थानीय समस्या वा आवश्यकतालाई मध्यनजर गरी स्थानीय मतदातासमक्ष १८ वटा प्रतिबद्धता जनाएको छ ।
नगरभित्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको संरक्षणमा विशेष पहल गरिने, नगर बसको विशेष व्यवस्था गरिने, त्रिभुवन स्मारक पार्कलाई मुलुककै उत्कृष्ट उद्यानका रूपमा विकसित गरिने, सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित तथा समयानुकूल रकम वृद्धि गर्न लगाइने, फरक क्षमता भएका व्यक्तिका लागि स्थानीय सरकारमार्फत सामाजिक संरक्षणका कार्यक्रम लागू गरिने, नगरमा प्रसूति सेवासहितको न्यूनतम पन्ध्र शय्याको नगरस्तरीय अस्पताल स्थापना गरिनेलगायतका प्रतिबद्धता पूरा गर्नु उनका लागि त्यति कठिनाइको विषय नहोला, तर मोफसललाई राजधानीसँग जोड्ने मुख्य सडक–नाका चन्द्रागिरि नगरबाटै प्रारम्भ हुने र यस सडकखण्ड अत्यन्त दूरावस्थाबाट ग्रसित रहेको या कहालीलाग्दो गरी बिग्रिएको अवस्था छ, जसलाई सुधार गरी यस मार्गबाट आवतजावत गर्ने सिङ्गै देशवासीको मन जित्नुपर्ने चुनौती चन्द्रागिरि नगरपालिकाका प्रथम मेयर घनश्यामकै काँधमा छ । राजधानी काठमाडौं छिर्ने प्रमुख नाका थानकोटको यो दुरावस्था जगजाहेरै छ भने रातदिन यहीँ गुजारिरहेका अगुवा पात्रलाई यस दुरावस्थाले पिरोलेको नहोला भनी सोच्नै सकिँदैन ।

त्यसो त पञ्चायतदेखि बहुदल हुँदै राजाको सक्रिय शासनकाल र गणतन्त्रसम्म पनि आफूलाई उत्तिकै सक्रिय र जुझारु रूपमा कायम राख्दै राजनीति र समाजसेवामा सशक्त योगदान पु¥याएका घनश्याम गिरी चन्द्रागिरि नगरपालिकाको विकासका लागि अहोरात्र जुटिरहेकै छन् । मौका परे उपल्ला तहमा रहेर सिङ्गो मुलुककै सेवा गर्ने अभीष्ट पालेका घनश्यामका लागि आफ्नै टोल–समाजको सुधार, निर्माण र विकासमा लागिपर्नु कुनै चुनौती या अप्ठ्यारो विषय नबन्न सक्छ । किनकि, प्रखर युवा नेता घनश्याम गिरीसँग आफ्नै स्पष्ट धारणा, अडान र योजनाहरू छन् ।

वास्तवमा घनश्यामलाई यस्तो सडक आफ्नै चन्द्रागिरि नगरपालिकामा पर्छ भन्ने सम्झँदा पनि साह्रै नमज्जा लाग्दोरहेछ । यही नमज्जाको तोडमा उनले केही समयअघि थानकोट–कलङ्की जोड्ने ६ मिटर फराकिलो वैकल्पिक सडक खोल्न पहल गरेका हुन् । यस्तै–यस्तै कदमका कारणले नै हो, ५४ वर्षीय घनश्याम गिरीलाई चन्द्रागिरि नगरपालिकाका जनताले अत्यधिक मत दिई मेयरमा जिताएका पनि ।

स्थानीय तत्कालीन मंगलोदय माविमा पढ्ने बेलातिरै पञ्चायतविरोधीहरूको सङ्गतमा परेका गिरी राजनीतिमा लागेको ३६ वर्ष भयो । ०३६ सालको जनमतसङ्ग्रहका क्रममा काङ्ग्रेस पार्टीका तर्फबाट वाणभञ्ज्याङको प्रतिनिधि बनेर उनले आफ्नो राजनीतिक यात्रा थालनी गरेका थिए । त्यतिबेला उनी मात्र १६ वर्षका थिए । त्यो समय थानकोट गाविसमा पर्ने वाणभञ्ज्याङलगायतका अन्य गाविस गाभेर दुई वर्षअघि सरकारले चन्द्रागिरि नगरपालिका बनाएको हो । इतिहासदेखि वर्तमानसम्म चर्चा हुने महत्वपूर्ण स्थल चन्द्रागिरिडाँडाबाटै पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आँखा लगाएका थिए भन्ने इतिहासकारहरूको दाबी छ । हाल यस डाँडामा निर्मित केबलकार सयर गरी आनन्द लिनेहरूको भीड लाग्ने गर्छ । चन्द्रागिरि डाँडाको फेदैमा पर्ने गोदामचौरका रैथाने बासिन्दा हुन् घनश्याम गिरी ।

उनका हजुरबुबा पहिलो विश्वयुद्धमै सरिक भएका गोर्खा सैनिक थिए भने बुबा पनि दोस्रो विश्वयुद्धमा लडेका सैनिक योद्धा थिए । यसप्रकार सैनिक परिवार र परिवेशमा हुर्किएका घनश्यामलाई भने आफ्ना बाबुबाजेले जस्तो सेनामा जागिर खान मन लागेन । किनकि, सैनिक अनुशासनमा बाँधिएकोभन्दा पनि खुला र गतिशील जीवन चाहन्थे उनी । सैनिक परिवार भएकाले गिरीको हुर्काइ पनि सैन्य अदबमै भयो । तर, उनलाई त्यस्तो कडा अनुशासनबाट कहिले फुत्किउँ भन्ने लागिरहन्थ्यो ।

आफ्नो समाज र यहाँका मानिसको सुविस्ताका लागि काम गर्न राजनीतिमा लागेको हुँ भन्ने अभिव्यक्ति दिने गिरीभित्र नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा लागेर समाज र देशको सेवा गर्ने भाव जागेको कलेज पढाइको आरम्भतिरै हो । अलिक फराकिलो समाज बनाउन र समाजसँग अन्तरक्रिया गरिरहन मनपराउने स्वभावले आफूलाई काङ्ग्रेसतर्फ डो¥याएको बताउँछन् उनी । राजनीतिले विकासका लागि काम गर्नुपर्छ भन्ने मान्यता बोकेका घनश्याम भाषण धेरै गर्दैनन् र भाषण गरेर मात्र विकास हुँदैन भन्न पनि हिच्किचाउँदैनन् ।

क्याम्पस पढ्दै गर्दा उनको मनमा तत्कालीन पञ्चायत व्यवस्थाप्रति रोष बढ्दै थियो । उनी बिहान गोदामचौरको घरबाटै पढ्न सहर जान्थे र बेलुकी फर्किन्थे । यता गाउँमा आफूले पढेको स्कुलमा भने पञ्चहरूको दबदबा थियो । जनमतसङ्ग्रहमा बहुदलले हारेपछि पञ्चहरूको घमण्ड झन् बढेछ । त्यसपछि त्यो कलिलो उमेरमै घनश्यामले गाउँका साथीभाइ जम्मा पारेर भनेछन्, ‘हामी यहीँ स्कुल खोलौँ ।’ साथीहरूले उनलाई साथ दिए । त्यसपछि बुबासँग अनुमति माग्दा बुबाले पनि सहमति दिएछन् । यसपछि ०३७ फागुन ११ गते गाउँकै एउटा खाली ठाउँमा घनश्यामसहतिका युवाहरू मिलेर स्कुल स्थापना भयो र उनी त्यहीँ पढाउन थाले । चुनदेवी प्राथमिक विद्यालयका नाममा रूखमा ब्ल्याकबोर्ड झुन्ड्याएर खुला आकाशमुनि आफैँ प्रधानाध्यापक भई कक्षा सञ्चालन गरेको उनलाई अहिल्यैजस्तो लाग्छ । गत वैशाख १५ सम्म पनि उनी त्यहीँ हेडमास्टरका रूपमा कार्यरत थिए । मेयरका लागि चुनाव लड्ने र टिकट पाउने निश्चित भएपछि उनले प्रधानाध्यापकबाट राजीनामा दिएका हुन् ।

लगभग ३६ वर्ष चन्द्रागिरिको शिक्षा क्षेत्र विकासमा काम गरेका गिरी अन्य ठाउँमा स्कुल खोल्न परे पनि अघि सरिहाल्थे । आफू क्याम्पस पढ्न सहर जानुपरेको सम्झेर उनलाई आफ्नै गाउँमा क्याम्पस खोल्ने चाहना जाग्यो र ०४५ सालमा साथीहरूसहितको पहलमा आफैँले १० कक्षासम्म पढेको स्कुलमा उनले क्याम्पस पनि खोले । सामाजिक क्रियाकलापमा लाग्दा घर–परिवार वा परिवारका सदस्यहरूको ख्याल गर्न पनि भ्याउँदैनथे घनश्याम । आफ्ना छोराछोरी कसरी हुर्किए भन्ने कुराको भेउसमेत आफूले नपाएको स्वीकार गर्ने घनश्याम गिरी भन्छन्, ‘यो कुरा सम्झँदा मनमा खट्के पनि समाजसेवाको यात्रालाई विराम दिने छैन । चन्द्र्रागिरि नगरको मेयरका रूपमा स्थानीयवासीले सुम्पनुभएको दायित्व पालनामा अहोरात्र लागिपर्न प्रतिबद्ध छु । सङ्घीय प्रणालीमा प्रवेश गरेको मुलुकलाई समयानुकूल समृद्ध तुल्याएर विश्वसमुदायसामु गर्विलो रूपमा उभ्याउन हामी सबैको अठोट, ऊर्जा र कर्मले योगदान पु¥याउँछ । समृद्धिको सपना साकार तुल्याउने यात्राको प्रस्थानबिन्दु चन्द्रागिरिलाई नै किन नबनाऊँ म ?’
Ghanashyam Giri