– निस्नु थिङ
घाटजस्तै रहेछ जिन्दगी
जहिले कुर्नुपर्ने
साइतजस्तै रहेछ जिन्दगी
जहिले जुर्नुपर्ने
युगौँदेखि जलराशिले
सधैँ छाडेर गए
युगौँदेखि असङ्ख्य यात्रीले
सधैँ नाघेर गए
आफ्नाहरूले पर्खाएर गएपछि
पर्खंदा–पर्खंदा एक्लै भएपछि
खोइ कसलाई पर्खनु यसरी
आउनेहरू आउँदै नआएपछि
कोही आउँछ भने
पर्खनुको मज्जा बेग्लै छ
पल–प्रतिपल पर्खंदा–पर्खंदा
अहिले एकान्तमा एक्लै छ
शिर उठाएर माथि आकाश हेर्छु
कालो–कालो बादल नाच्दै छ
टाढा–टाढाबाट बरफ बतासले
मलाई स्पर्श गरी सोध्छ
‘कसलाई पर्खेको नानी ?’
आकाश रिसाएको छ
गड्याङगुडुङ गर्न थाले
ऊ पर क्षितिजपारि चट्याङका
डरलाग्दा आवाज सुनिन्छ
चिसा बतासहरूको दौड प्रतियोगिता चल्दै छ
पारि पाखादेखि वारि पाखासम्म
वारि पाखादेखि पारि पाखासम्म
एकतमासले दौड प्रतियोगिता चल्दै छ
पर्खंदा–पर्खंदाको झोँकले
मनभित्र आगो बल्दै छ
खोलाजस्तै रहेछ जीवन पनि
खोचै–खोचबाट बाटो रोज्नुपर्ने
गतिवान् बतासजस्तै रहेछ जीवन पनि
दिशाविहीन भएर पनि गन्तव्य खोज्नुपर्ने
मेरा बैंसका रातहरू पर्खेर बिते
जीवन सङ्घर्षका मोर्चाहरू हारेर जिते
आखिरीमा हारलाई पनि
जित सम्झेर जिउनुपर्ने रहेछ जीवन
हजारौँ चोटहरू सहेर
उच्च अठोट गर्नुपर्ने रहेछ जीवन
ए ! घाट भन अब के गर्ने ?
मेरो त छैन अब धैर्यता पर्खने
पाइला सार्न बाटो छैन
बाटो देख्न उज्यालो छैन
तैपनि त्यही अँध्यारोभित्रै
म निस्केँ जीवनको अर्थ खोज्न…
म निस्केँ जीवनको अन्तर्य बुझ्न…
म निस्केँ जीवनको अन्तर्य खोज्न…
म निस्केँ जीवनको अर्थ बुझ्न…
प्रतिक्रिया