ग्यास स्टेसनमा लुटेराबाट कसरी बच्ने ?

ग्यास स्टेसनमा लुटेराबाट कसरी बच्ने ?


sanubabu silwal

– सानुबाबु सिलवाल

ग्यास स्टेसन अर्थात् पेट्रोल बिक्री केन्द्र र सँगै राखिने सहज पसल स्टोर अमेरिकन जनताको सबैभन्दा प्यारो र बढी आवतजावत केन्द्र भन्दा भयो । नेसनल एसोसिएसन अफ कन्भिनियन्स स्टोर्स नाक्सका अनुसार सन् २०१५ को डिसेम्बरसम्मलाई गन्दा अमेरिकामा एक लाख २१ हजार चार सय ४६ ग्यास स्टेसन, जसमा ८३ प्रतिशत स्टोर र ग्यास स्टेसन दुवै रहेछ । अमेरिकन श्रम तथ्याङ्क ब्युरोका अनुसार गत सालको तथ्याङ्कलाई हेर्दा झन्डै नौ लाख २६ हजार सात सय ९२ कामदार काम गर्दा रहेछन् ग्यास स्टेसन र स्टोरमा । ग्यास स्टेसनमा वर्षमा दुई खर्ब ४९ अर्ब डलर सामान बिक्री हुँदोरहेछ भने नदेखिएका हिसाबलाई हेर्दा झन्डै चार खर्ब सामान वार्षिक बिक्री हुँदोरहेछ । यूएस सेन्सस ब्युरोका अनुसार ग्यास स्टेसनले सन् २०१३ मा मात्रै प्वाइन्ट १३७ ट्रिलियन अर्थात् १३७ बिलियन डलर राजस्व तिरेछ जुन हरेक वर्ष बढ्दै छ ।

अमेरिकी दैनिकी अर्थात् जीवनशैलीको एक महत्त्वपूर्ण पर्याय मात्र नभई ग्यास स्टेसन तथा स्टोर अरू अमेरिकी साना तथा मझौला व्यवसायको मेरुदण्ड नै हुन् । यस ग्यास स्टेसनमा काम गर्ने वर्क फोर्स नै ग्यास स्टेसनको अर्को मेरुदण्ड भन्दा भयो । जहाँ काम गर्न सहज छ, सजिलो पनि छ काम जानेपछि । असाध्यै दिमाग प्रयोग गर्नुपर्ने पनि होइन, ग्यास स्टेसनमा काम गर्न, तर ग्यास स्टेशसनको व्यवसाय सञ्चालन भने त्यति सहज र सजिलोचाहिँ छैन नै । ग्यास स्टेसन जहाँ धेरै नगदको कारोबार हुन्छ, जहाँ नगद सङ्कलन बढी हुने गर्दछ । जहाँ सबै खालका बिहान उठेदेखि नसुतेसम्म चुरोट, खैनी, पेय पदार्थ, पाउरोटी, अन्डा, दूध, पेट्रोल, मट्टीलेत, डिजेलदेखि अति आवश्यक सरसामानहरू सहज र द्रुत गतिमा सेवा पाइन्छ पनि । खुरुरुर्र आयो गाडी वा हिँडेर आयो सामान काउन्टरमा ल्यायो वा ड्राइभ वेबाट किन्यो वा पेट्रोलपम्पमा क्रेडिट, डेबिट कार्ड घोट्यो सेवा लियो जहाँ घन्टौँ घन्टा कुर्नुनपर्ने सर्वसुलभ र गतिशील सेवा नै अमेरिकाको स्टोर र पेट्रोल स्टेसनको राम्रा पक्ष भए । चिठ्ठा किन्ने, जिते पैसा लिने, मन लागेका चिजबिज, स्न्याक्स खाजाको छिटोछरितो सेवा पेट्रोल स्टेसनको अर्को राम्रा पक्ष भए । अमेरिका बसाइका लागि आवश्यक कागज नभएका जो एसियन, इन्डियन, नेपाली अरबियन, चाइनिज, कोरियन, पाकिस्तानी वा प्रवासीहरूद्वारा सञ्चालित पेट्रोलपम्पमा काम गरिरहेका हुन्छन् तिनका रोजगारीको थलो पनि ग्यास पेट्रोलपम्प र स्टोरहरू बन्ने गरेको छ अमेरिकामा । तर, अमेरिकीहरूद्वारा सञ्चालितमा चाहिँ कागज नभएकाहरूका लागि त्यति सहज हँुदैन पनि ।

दैनिक नगद सङ्कलित स्थल ग्यास स्टेसन, अति आवश्यक वस्तुहरूको सहज केन्द्र ग्यास स्टेसन सुरक्षाका हिसाबले अति नै जोखिमपूर्ण छ अमेरिकामा । ग्राहकहरूबाट सङ्कलित नगद लुटेराहरूको नजर पर्ने गर्दछ ग्यास स्टेसन । अधिकांश समय डलर नगद र कतिपय समयमा सामान्य बियर, चुरोट वा अन्य सामानहरूका लागि पनि लुटेराहरूबाट पीडित हुने गरेका छन् ग्यास स्टेशसनमा काम गर्ने कामदार र सञ्चालन गर्ने साहुहरू । अमेरिकाको यस्ता सहरहरू र ठाउँहरू छन् जहाँ ग्यास स्टेसन दिनदहाडै लुटिएका छन्, काम गर्ने कामदारहरू मारिने गरेका छन् र कहिलेकाहीँ साहुहरू पनि लुटेराहरूबाट मारिने र पीडित हुने गरका छन् अमेरिकामा । यस क्रममा थुप्रै नेपाली कामदार र साहुहरू पनि लुटेराहरूबाट मारिने गरेका छन् अमेरिकामा । अधिकांश काला जाति, केही र ग्यास स्टेसनजस्तै बाल्टिमोर, डेलवारे, एटलान्टा, सिकागो, न्युयोर्क, न्युजर्सी, कोलम्बिया साउथ क्यारोलिना, टेक्सास, ओक्लाहामा, फिलाडेलफियाजस्ता राज्य र सहर ग्यास स्टेसनमा काम गर्न अत्यन्तै जोखिमयुक्त स्थानहरू हुन् । जहाँ प्रायस बुलेटप्रुफ सिसाहरूभित्र बसेर काम गर्ने गरिन्छ । तैपनि लुटेराहरूबाट लुटिने, मारिने, तर्साउने र नगद बोकेर जाने गर्दछन् लुटेराहरू । अधिकांश समय रात्रिसमय र बिहानी पखलाई लुट्ने उत्तम समयको रूपमा लुटेराहरूले प्रयोग गर्ने गर्दछन् । मास्क लगाएर, मुख छोपेर, बन्दुक लुकाएर त कहिले नक्कली बन्दुक देखाएर पनि लुट्ने गर्दछन् लुटेराले ।

ग्यास स्टेसनहरूमा अधिकांश स्थानमा २४ सै घन्टा सर्भेलेन्स क्यामेराहरू राखिएका हुन्छन्, तैपनि लुटेराहरूले लुटेकै हुन्छन् । लुटेपछि त्यही क्यामेराका कारण केही समातिन्छन् त केहीको पहिचान गर्न सक्दैनन् अमेरिकन प्रहरीले । अमेरिकामा कुनै पनि घटना वा परिस्थितिको सुरक्षाका लागि प्रहरी बोलाउनुपर्‍यो भने ९११ डायल गर्नुपर्दछ । नजिकका सिटीका प्रहरीलाई कप वा पुलिस भनिन्छ भने काउन्टी वा सिटीभन्दा बाहिरको सुरक्षा हेर्नेलाई सेरिफ भन्ने गरिन्छ अमेरिकामा । ९११ डायल गरेपछि सुरक्षाकर्मी कार्यालयलाई सङ्क्षिप्त घटना विवरण दिएपछि (वा कहिलेकाहीँ ९११ डायल गरेपछि घटनाको स्थल अटोमेटिक पत्ता लगाउछ प्रहरीले) बढीमा ३० मिनेटभित्रमा प्रहरी घटना स्थलमा आइपुग्छ र घटना अनुसन्धान सुरु हुन्छ यदि घटना ठूलो छ भनेचाहिँ यस्तो अवस्थामा सङ्घीय प्रहरी एफबीआईको संलग्नता हुने गर्दछ ।

ग्यास स्टेसनहरूमा अधिकांश स्थानमा २४ सै घन्टा सर्भेलेन्स क्यामेराहरू राखिएका हुन्छन्, तैपनि लुटेराहरूले लुटेकै हुन्छन् । लुटेपछि त्यही क्यामेराका कारण केही समातिन्छन् त केहीको पहिचान गर्न सक्दैनन् अमेरिकन प्रहरीले । अमेरिकामा कुनै पनि घटना वा परिस्थितिको सुरक्षाका लागि प्रहरी बोलाउनुपर्‍यो भने ९११ डायल गर्नुपर्दछ । नजिकका सिटीका प्रहरीलाई कप वा पुलिस भनिन्छ भने काउन्टी वा सिटीभन्दा बाहिरको सुरक्षा हेर्नेलाई सेरिफ भन्ने गरिन्छ अमेरिकामा । ९११ डायल गरेपछि सुरक्षाकर्मी कार्यालयलाई सङ्क्षिप्त घटना विवरण दिएपछि (वा कहिलेकाहीँ ९११ डायल गरेपछि घटनाको स्थल अटोमेटिक पत्ता लगाउछ प्रहरीले) बढीमा ३० मिनेटभित्रमा प्रहरी घटना स्थलमा आइपुग्छ र घटना अनुसन्धान सुरु हुन्छ यदि घटना ठूलो छ भनेचाहिँ यस्तो अवस्थामा सङ्घीय प्रहरी एफबीआईको संलग्नता हुने गर्दछ ।

ग्यास स्टेसनको सुरक्षा जोखिमताबाट कसरी बच्ने ? कसरी लुटेराहरूको आक्रमणबाट आफूलाई बचाउने र कसरी सुरक्षित हुने भन्नेमा केही टिप्स वा जानकारी लिनु जरुरी छ जसबाट लुटेराले मार्ने अवस्थाबाट सजिलै बच्न सकिन्छ । लुटेराहरू कस्तो अवस्थामा आउँछन्, कतिपटक स्टोरमा आउने गर्दछन् ? उनीहरूले कस्तो व्यवहार देखाउँछन् ? बन्दुक बोकेर आउनेलाई, चक्कु बोकेर लुट्न आउनेलाई वा केही पनि नलिईकन एकैचोटि नगद भएको रजिस्टर बोकेर जाने वा माग्नेलाई के गर्ने ? उनीहरूले बन्दुक देखाइसकेपछि के गर्ने र लुटेरा भागिसकेपछि के गर्ने ? नभाग्दै के गर्ने त ? टेक्सासको सिवाकोटी, एटलान्टाका पाठक, साउथक्यारोलिनाका रबिनहरूको जीवन लुटेराले लिँदा यदि उनीहरूले पनि यस्तै खालका पूर्वसावधानी र जानकारी भएको भए उनीहरूको ज्यान जाँदैनथ्यो होला । भविष्यमा पनि थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको ग्यास स्टेसनमा कार्यरत रहँदा यस्ता जानकारीबाट लुटेराहरूबाट जीवन बचाउन सक्छन् ।

ग्यास स्टेसनका साहुहरूले आफ्ना व्यवसायमा लुटेराहरूले लुट्ने सम्भावनालाई ध्यानमा राखी पहिले नै बिमा गरिसकेका हुन्छन् । लुटेरा आए भने हातमाथि उठाएर रजिस्टर खुरुक्क खोलेर दिए हुन्छ । यस्तो अवस्थामा कहिल्लै पनि लुटेराको अनुहार हेर्ने प्रयास नगर्नू । यदि अनुहार हेरेमा लुटेराहरूले मारिदिन सक्छन् । उनीहरूले के ठान्छन् भने मलाई यसले चिन्ने वा जानकारी राख्ने प्रयास गर्‍यो र प्रहरीलाई हुलिया दिन सक्छ भन्ने ठान्छन् लुटेराले । अरू पैसा वरिपरि राखेको छ र लुटेराहरूले मागेमा त्यो पनि दिए हुन्छ । लुटेरा चाँडै निस्कने प्रयास गर्नेछ त्यसबेला प्रहरीलाई कल गर्ने कहिले पनि प्रयास नगर्नुहोला । जब लुटेरा जान्छ अनि मात्रै ९११ कल गर्ने, साहुलाई जानकारी दिने वा रजिस्टरभन्दा तल राखिएको सुरक्षा बटन थिचिदिने, तर लुटेरा निस्केपछि मात्रै ।
ग्यास स्टेसन हल्का वा ग्राहक पातलिएको बेला वा नभएको बेला लुटेराहरूले समय सदुपयोग गर्ने हुँदा यस्तो अवस्थामा को आउँदै छ, बाहिर निगरानी राख्नु होला यस्तो बेलामा सकेसम्म रजिस्टरमा नबस्नु होला । फोनमा टेक्समा, फेसबुक, च्याटमा यस्तो अवस्थामा नबस्नु होला । जसले यो समयको सदुपयोग गर्न सक्नेछन् लुटेराहरूले । कहिलेकाहीँ ग्राहकलाई पेनी, निक्कल, सुका नपुगेको अवस्थामा झगडा नगर्नु होला । जसले स्थानीय ग्राहकहरू रिसाउन सक्छन् र बेलुकीपख वा स्टोर बन्द भएपछि स्टोर फुटाउन सक्छन् रिसले । कहिले पनि ग्राहकको अगाडि हिसाबकिताब र नगद नगन्नु होला जसले गलत र फटाहा ग्राहकले लुट्ने योजना नबनाओस् । तपाईंले देखाएर नगद नगनेसम्म तपाईंसँग कति रकम छ भन्ने अन्दाज लगाउन सक्दैनन् गलत र क्रिमिनल ग्राहकले । राति हिसाबकिताब गर्दा स्टोर बन्द गरेर मात्र गर्नुहोला । नगद बोकेर कहिले पनि बाहिर ननिस्कनु जसले गर्दा लुटेराबाट तपाईं नलुटिनोस् । कहिले पनि गलत शब्द, नराम्रा शब्द र फोहोरी अङ्ग्रेजी शब्द प्रयोग नगर्नु होला ग्राहकका अगाडि वा ग्राहकलाई उनीहरूले लुट्ने योजना र बदलाको भावना नलियोस् । अधिकांश चिनेका, नजिकका र स्थानीय ग्राहक नै हुन्छन् लुट्नेमा । स्थानीय लुटेराहरूले सकेसम्म मार्दैनन्, तर तपाईंले कुस्ती खेल्न थाल्नुभयो, लखेट्न थाल्नुभयो र दादागिरी देखाउन थाल्नुभयो भने एउटै गोलीले तपाईंको पखेरु उडाइदिनसक्छ । सकेसम्म लुटेरालाई तपाईंसँग पनि बन्दुक छ भन्ने नपरोस् जसले हतारमा उसको गोलीले पहिले नै तपाईंको सिकार नबनाओस् । रजिस्टरपछाडि कुनै मेटल वा कुनै फलामको लौरोचाहिँ राखिराख्नुहोला केही पर्‍यो भने कहिलेकाहीँ त्यही फलामको लौराले लुटेरा छिटो भाग्न सक्छ पनि ।

तपाईंसँग ग्रिनकार्ड छ वा तपाईं अमेरिकाको नागरिक हो भने प्रहरी कार्यालयमा कन्सिल बन्दुकका लागि निवेदन दिन सक्नुहुन्छ र उनीहरूले नै तालिम दिन्छन् कसरी बन्दुक चलाउने भनेर र कहिलेकाहीँ कुनैकुनै राज्यमा सीमित साना बन्दुक लुकाउने गरी लाइसेन्सबिना नै राख्न पाउँछन्, तर बन्दुकको लाइसेन्सबिना बन्दुक देखाउने र खुलमखुला बोकेर हिँड्दा फेलोनीले सजाय दिन सक्छ । कथम्कदाचित तपाईंले फेलोनीको सजाय पाउनु भएको छ भने तपाईंलाई बन्दुक लाइसेन्स दिँदैन । लुटेराहरूको मास्क खोल्ने, लखेट्ने, पछि लाग्ने र कुस्ती खेल्ने कदापि प्रयास नगर्नुहोला । तपाईंको ज्यानभन्दा व्यवसाय नहुन सक्छ । तपाईंले गर्ने सानो गल्तीले लुटेराले तपाईंको ज्यान लिने हुँदा वा साहु वा म्यानेजरको बढी माया र धाप पाउन लुटेराहरूसँग मुक्की–बाजी नगर्नुहोला । कहिले पनि लुटेराहरूले बन्दुक ताकेमा जुन ठाउँमा तपाईं हुनुहुन्छ एक कदम पनि नचल्नुहोला । यदि तपाईं चल्न थाल्नुभयो भने उसले आफूलाई असुरक्षित ठान्छ र तपाईंमाथि बन्दुक चलाउन सक्छ । लुटेरासँग मुखमुखै नलाग्नु होला । जसले आवेगमा आएर तपाईंलाई बन्दुक चलाउन सक्छ ।

अत्यन्त सानासाना सावधानी र ख्याल गर्दा ज्यान बचाउन सकिन्छ लुटेराहरूबाट । तपाईं कहाँ बस्नुहुन्छ, को–कोसँग बस्नुहुन्छ सकेसम्म ग्राहकहरूलाई नभन्नुहोला, उनीहरूले योजना बनाउन सक्छन् तपाईंलाई लुट्न । तपाईंको ज्यानको सुरक्षा तपाईं आफँैले गर्ने हो । आफँै सजग हुने हो । सकेसम्म जोखिमयुक्त स्थानहरूमा भएका ग्यास स्टेसनहरूमा काम नगर्नु होला । गरिहाले पनि सजग हुनेभन्दा अर्को उपाय नै छैन । काम गर्दा अपनाउनुपर्ने सावधानीहरूले तपार्इंको जोखिमतामा कमी ल्याउँछ । सकेसम्म अङ्ग्रेजी भाषा सिक्ने, धेरै बोल्ने प्रयास गर्नुहोला भाषाको ज्ञानले पनि तपाईंलाई कन्फिडेन्ट बनाउने, ग्राहकले नहेप्ने र सम्मान गर्ने हुँदा यस्ता लुटेराहरूको सङ्केत पनि तपाईंले बुझ्न सक्नुहुनेछ । सहज र सजिलो काम त के नै होला र ? जहाँ जुनसुकै ठाउँहरूमा पनि एक खालका अप्ठ्यारा, जोखिम र असहजता त भइ नै हाल्छ, तर ग्यास स्टेसनमा काम गर्दा जति सहज छ जति तपाईं आफू सावधानीपूर्वक काम गर्नुभएको छ त्यसले तपाईंको सम्भावित सुरक्षाका जोखिमताहरूमा कमी ल्याउनेछ ।

bp-robbery-assault