गजुरीको क्याम्पसलाई चार करोड १२ लाख

गजुरीको क्याम्पसलाई चार करोड १२ लाख


10-pr-dhading-mou-photo-min

धादिङको आदर्श बहुमुखी क्याम्पसको भवन निर्माणका लागि भारतीय सहयोग प्राप्त भएको छ । भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, धादिङका स्थानीय विकास अधिकारी भगवान अर्याल र क्याम्पसप्रमुख रुद्रप्रसाद दनाईले मित्रराष्ट्र भारतबाट उपलब्ध हुने चार करोड १२ लाख सहयोगसम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
२०२५ सालदेखि माध्यमिक विद्यालयको रूपमा सञ्चालन हुँदै आएको धादिङको प्रतिष्ठित आदर्श माध्यमिक विद्यालयमा दश वर्षअघि बहुमुखी क्याम्पससमेत सञ्चालित हुँदै आएको छ भने हाल क्याम्पसमा तीन सय पन्ध्र छात्र–छात्रा अध्ययनरत छन् । वरपरका करिब अठार गाविसका दलित, उत्पीडित तथा चेपाङ, तामाङजस्ता पिछडिएका समुदायका विद्यार्थीको उक्त क्याम्पसमा बाहुल्य रहेको छ । भारतीय सहयोगमा नयाँ बन्ने क्याम्पस भवनले अध्ययन–अध्यापनमा सहज वातावरण सिर्जना हुन गई विद्यार्थीको सङ्ख्या अभिवृद्धि हुने अपेक्षा गरिएको छ । १५ महिनामा नयाँ क्याम्पस भवन निर्माण गरिने सम्झौतापत्रमा उल्लेख भएको दूतावासले जनाएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत धादिङमा भारतीय सहयोगका तीन करोड ७० लाखका अन्य आयोजना पनि सम्पन्न हुँदै छन् भने सातवटा एम्बुलेन्स र एउटा स्कुल बस पनि यसअघि नै प्रदान गरिएको छ ।

आगलागी नियन्त्रण गर्न दूतावासबाट दमकल
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारत सरकारको सहयोगमा एम्बुलेन्स र दमकल सञ्चालन हुने भएको छ । कृष्णनगर नपा एवम् नागरिक समाजको पहल तथा भारतीय दूतावासको सहयोगमा एम्बुलेन्स दमकल सञ्चालन हुन लागेको कृष्णनगर नगरपालिका प्रमुख हरि पौडेलले जानकारी दिए । विगत वर्षमा क्षति व्यहोरेका गाविस, नगरपालिकाका साथै जिविस, वाणिज्य सङ्घ तथा सम्बन्धित अन्य संस्थाहरूबाट स्रोत जुटाई समितिमार्फत ती सेवा सुचारु गर्ने तयारी भएको छ । कपिलवस्तुमा आगलागीका घटनाका कारण फेरि क्षति व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले भारतीय दूतावाससँग दमकल उपलब्ध गराउन अनुरोध गरिएको र सो प्रयास सफल भएको कपिलवस्तु क्षेत्र नं. ५ का सांसद अभिषेकप्रताप शाहले जानकारी दिए । पछिल्लो वर्ष कपिलवस्तुका कुशवाहा, पत्थरदेइया, वीरपुरलगायत गाविसमा भएका आगलागी घटनाले हजारौँ परिवार विस्थापित हुन पुगेका थिए ।