खिचडी भाषामा निखिलले ल्याउने भए ‘कमिटमेन्ट सिक्स्टी आवर्स’

खिचडी भाषामा निखिलले ल्याउने भए ‘कमिटमेन्ट सिक्स्टी आवर्स’


Nikhil Up

मुम्बईमा अलपत्र परेकी एक युवतीको उद्धार गर्दै भारतीय नाका कटाएर नेपाल फर्काएको कथालाई मूल विषयवस्तु बनाएर ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नामक चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको छ । नेपाल र भारतका कलाकार रहने यस महत्वाकाङ्क्षी चलचित्रका निर्माता तथा निर्देशक रहनेछन्– सुपरिचित नायक निखिल उप्रेती । भैरव नामक चलचित्रबाट फिल्म निर्देशनमा पाइला बढाएका निखिलले ‘कमिटमेन्ट सिक्स्टी आवर्स’मार्फत आफूभित्रको निर्देशकीय क्षमताको थप परख गर्दै छन् ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बन्न लागेको ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को मुख्य भूमिकामा निखिल स्वयम् रहनेछन् भने नेपाली कलाकारहरूका अलावा वलिउडका केही चर्चिच अनुहार पनि यसमा संलग्न गराइने निखिलको भनाइ छ । हालै फिल्म निर्माण घोषणाका अवसरमा जानकारी दिइएअनुसार ‘वेलकम ब्याक’, हाउसफूल २’, बम्बे टु गोवा’, सावन’लगायत वलिउडका चर्चित सिनेमामा काम गरिसकेका रञ्जित, ‘वाजिर’ नामक अमिताभ अभिनीत फिल्ममा देखिएका सायजी सिंधे, ‘लालसलाम’, ‘राउडी राठौड’, ‘सरकार’जस्ता फिल्ममा काम गरेका अनन्त जोग निखिलको फिल्ममा प्रमुख भूमिकामै देखिनेछन् । अली जफर, नान्सी नामक भारतीय कलाकारका साथै पाइलट एवम् अभिनेता विजय लामा पनि ‘कमिटमेन्ट सिक्स्टी आवर्स’का लिड क्यारेक्टर हुन् ।

भारतमा बेचिएकी नेपाली युवतीलाई उद्धार गर्ने कथासँग जोडिएको सिनेमा हुनाले यसको अधिकांश छायाङ्कन मुम्बईमै हुनेछ भने भारतकै उत्तर प्रदेश, मध्यप्रदेश, नेपाल–भारत सिमाना, काठमाडौं, थाइल्यान्ड, सिङ्गापुर र अमेरिकामा समेत फिल्मको सुटिङ हुने बताइएको छ । बेचिएकी युवतीको उद्धारका क्रममा आइपर्ने समस्या एवम् उतारचढावमै फिल्मको कथा जेलिनेछ । फिल्मको मुख्य नायिकाको टुङ्गो भने लागिसकेको छैन । उचित पात्रको खोजी तीव्र रूपमा भइरहेको निखिल बताउँछन् । सिनेमामा ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अङ्ग्रेजी भाषा प्रयोग हुने खुलासा पनि उनले गरेका छन् । एउटै सिनेमामा यसरी भाषाको खिचडी पकाउन खोज्नु रिस्क होइन र भन्ने प्रश्नमा सफाइ दिँदै निखिलले भने, ‘पछिल्लो पुस्ताका दर्शकलाई मध्यनजर गरी यस्तो भाषा प्रयोग गरिए पनि विशुद्ध नेपाली चलचित्र निर्माण हुनेमा शङ्का नगर्दा हुन्छ ।’

nikhil-upreti