क्रिश्चियन निशानामा बहादुर शाह

क्रिश्चियन निशानामा बहादुर शाह


– देवीप्रसाद आचार्य

tom

नेपालको राष्ट्रियतामाथि अहिले चौतर्फी आक्रमण भइरहेको जगजाहेरै छ । यसै परिप्रेक्षमा पश्चिमा क्रिश्चियन साम्राज्यवादीहरूले बाइबलमार्फत नेपाल र नेपालीलाई गुलाम बनाउन विभिन्न ब्यानर प्रयोग गरिरहेको तीता तथ्यहरूलाई लामो समयसम्म राजनीतिक क्षेत्रमा संलग्न भएर अनुभव बटुल्नुभएका व्यक्तित्व अर्जुन ज्ञवाली आफ्नो पुस्तक ‘बाइबल र माओवाद’मा उतार्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु ।

नेपालको पछिल्लो कालखण्डको भनौँ वा आधुनिक इतिहासको अध्ययन गर्दा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान चलाएर काठमाडौं उपत्यकालाई नेपाली सार्वभौमभित्र समेटिसकेपछि यहाँबाट फिरङ्गी (क्रिश्चियन साम्राज्यवादी) का दूत पादरीलाई उपत्यका छोडाइएको घटनाका साथसाथै विदेशी साहू–महाजन, धर्म संस्कृतिलाई राष्ट्रभित्र आउन नदिनु, यो ‘असली हिन्दूस्तान’ हो भन्ने दिव्योपदेशमा उल्लेख गर्नुले नेपाली राष्ट्रिय एकताको आधारस्तम्भ सनातन हिन्दू धर्म संस्कृति भएको तथ्यलाई उजागर गरेको छ । त्यसबेला पनि क्रिश्चियनहरूले आफ्नो साम्राज्यवाद विस्तार गर्न बाइबल प्रयोग गर्ने गरेको देखिन्छ ।

तत्कालीन नेपाल एकीकरणको अगुवाइ गर्ने व्यक्तित्वहरूले यस तथ्यलाई समयमै बुझिदिएकाले नेपाल स्वतन्त्र राष्ट्रका रूपमा रहन सफल भएको देखिन्छ । तर, दुर्भाग्य नै भनौँ, नेपाल एकीकरण अभियान चल्दाचल्दै आफूलाई पनि राज्य दिनुपर्छ भनेर माग राख्ने महोद्दमकीर्ति शाह, दलमर्दन शाह, दलजीत शाहलगायत तत्कालीन भारदारहरूलाई देश निकाला गरिएपछि उनीहरू पटना र बेतियातिर गए । यी तीन जनासहित अन्य मानिसलाई क्रिश्चियन पादरीहरूले लोभलालच देखाएर तत्कालीन इस्टइन्डिया कम्पनीका दलाल (एजेन्ट) बनाएर तिनीहरूमार्फत नेपालमा चलखेल गर्न थालेको पाइन्छ ।

पृथ्वीनारायण शाह जीवित छउञ्जेल तिनीहरूको प्रभाव शून्य रहेको देखिन्छ । उनको देहवसानपछि महोद्दमकीर्ति शाह, दलमर्दन शाह र दलजित शाह यी तीनजनालगायतका केही मानिस नेपाल फर्किएका भए पनि बहादुर शाहको नायबी चलुन्जेल उनीहरूले नेपालभित्र भाँडभैलो मच्चाउन नसकेका मात्र होइनन् कि नेपालको एकीकरण अभियानलाई अवरुद्ध पार्नसमेत सकेनन् । यसरी प्रत्यक्ष रूपमा तिनीहरूले ठोस प्रभाव देखाउन नसकेका भए पनि तत्कालीन नेपालका केही भाइ भारदारहरूबीच फाटो र वैमनष्यता बढाउने दुस्कर्म भने गर्दैरहे । अन्ततः यिनीहरूले नेपाल आमाका वीर सपूत (वर्तमान नेपालको दुईतिहाइ भाग गुमेको नेपालको सम्पूर्ण भाग एकीकरण गर्ने सफल अभियानको शीर्ष नेतृत्व बहादुर शाहलाई जेलनेल ठोकेर, तातो तेल छ्यापेर मराउन सफल भए । तत्पश्चात् नेपालको केन्द्रमा पश्चिमा क्रिश्चियन साम्राज्यवादीहरूको प्रभाव बढ्दै गयो । फिरङ्गीका यी दलालहरूले बहादुर शाहको पालामा नेपालमा खोलिएको हतियार कारखाना बन्द गराए ।

भाइभारदारहरूबीच व्यापक गुट–फुट र वैमनश्यता बढेर अन्ततः आफँैले पटक–पटक परास्त गरेको क्रिश्चियन साम्राज्यवादीसँग सुगौली सन्धि गरेर नेपालले आफ्नो दुईतिहाइ भू–भाग गुमाउने अवस्था निर्माण भयो । यसरी महोद्दामकीर्ति शाहजस्ता भारदारहरूमार्फत नेपालमा पसेका क्रिश्चियन साम्राज्यवादी (एजेन्ट)हरूको सङ्ख्या दिन–प्रतिदिन नेपालमा बढ्दै गयो । त्यसपछि तत्कालीन क्रिश्चियन ब्रिटिस साम्राज्यवादले उनीहरूमार्फत सच्चा देशभक्त नेपाल आमाका सपूतहरूलाई मार्ने, मराउने, विस्थापित गराउँदै लगेर वि.सं. १९०३ मा जंगबहादुरमार्फत कोतपर्व गराई सत्ता हत्याउन सफल भए ।

त्यसपछि राणाहरूमार्फत आफ्नो साम्राज्यवादलाई चुनौती दिने नेपालीका सन्तानलाई समाप्त पार्नका लागि नेपालका तामाखानी, फलामखानीलगायत सम्पूर्ण उद्योग बन्द गराउने, नेपालीलाई शिक्षाबाट वञ्चित गराउने र अन्धकारको युगमा धकेल्ने काम गर्न सफल भए । उनीहरूका दलालहरूलाई विभिन्न सेवासुविधा उपलब्ध गराएर मख्ख बनाउन सोभन्दा बाहेकका हामी सम्पूर्ण नेपालीलाई निरङ्कुश जहानियाँ शासनको जञ्जिरले बाँधेर राख्न सफलता प्राप्त गरे । ब्रिटिस (बाइबल) साम्राज्यवादीहरूलाई भारतमा भएको स्वतन्त्रता आन्दोलन र त्यसपछि नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनले केही अस्थिर र अन्योलको अवस्था सिर्जना गरायो । तिनै ब्रिटिस क्रिश्चियन लिगेसी बोकेका राणाहरूमार्फत शाहहरूलाई उक्साएर वि.सं. २०१७ मा बहुदलीय व्यवस्थालाई किनारा लगाउन सफल भएपछि वि.सं. २०१८ मा क्रिश्चियन साम्राज्यवादीका बिनाबर्दीका सेनाको टुकुडी ‘पिसकोर’मार्फत संस्थागत रूपमै नेपाल प्रवेश गरे । नेपालका गाउँगाउँ, बस्तीबस्तीमा पसेर के गर्दा नेपालीलाई आफ्नो साम्राज्यवादी जालभित्र फसाउन सकिन्छ भनेर रणनीति बनाई नयाँ शिक्षा पद्धति (२०२८), गुठी साट्ने बेच्ने कानुन आदि इत्यादि गतिविधि गर्दै अगाडि बढेर बुद्ध धर्मको आवरणमा दलाई लामालाई प्रयोग गरेर चीनलाई ध्वस्त गर्ने रणनीति बनाएजस्तै हिन्दू धर्मको खोल ओढेका घोर दक्षिणपन्थीहरूलाई प्रयोग गरेर नेपाली मौलिक धर्म संस्कृति समाप्त पार्दै नेपाललाई आफ्नो गुलाम बनाउने रणनीतिमा केही हदसम्म मात्र सफल भए । त्यसलाई पूर्णता दिनका लागि चर्चमार्फत लगानी गरेर माओवादका नाममा धर्मनिरपेक्षता लादेर ॐकार परिवारभित्रका सनातन धर्म संस्कृतिलाई समाप्त पारेर त्यस ठाउँमा क्रिश्चियानिटी संस्थागत गर्ने प्रयत्न भएको कुरालाई लेखकले उजागर गर्ने साहस गर्नुभएको छ । यो आफैँमा चुनौतीपूर्ण छ । उहाँको यो पुस्तक नेपाल राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्ने अभियानको कोसेढुङ्गा साविबत हुनेछ । चौथो संस्करणसम्म आइपुग्दा पुस्तक पाठकका निमित्त रोचक नै रहेको सिद्ध हुन गएको छ ।

(पङ्क्तिकार ‘नेपालको यथार्थ इतिहास’का लेखक हुन् ।)