कुनै पनि देशभक्त नेपाली भारतविरोधी हुन सक्दैन

कुनै पनि देशभक्त नेपाली भारतविरोधी हुन सक्दैन


nk-shrestha

– नारायणकाजी श्रेष्ठ

० प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जाँदै हुनुहुन्छ, तर अहिलेसम्म भ्रमणको ठोस एजेण्डा तय हुन सकेन नि, किन होला ?
– भ्रमणको एजेण्डा सरकारले तय गर्ने हो । यो सद्भाव भ्रमण भएकाले दुई देशबीचको सम्बन्धमा पछिल्लो चरणमा पैदा भएको केही तिक्तता मेटाउनु नै भ्रमणको मुख्य उद्देश्य रहेको कुरा नेपाल सरकारका मन्त्रीहरूबाट सार्वजनिक भइरहेकै छन् । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि मुलुकको स्वाभिमान उचो राख्दै दुई देशबीचको मित्रतामा समयोचित थप प्रयत्न गर्ने आफ्नो भ्रमणको उद्देश्य रहेको आशय व्यक्त गर्नुभएकै छ । बाँकी ठोस एजेण्डा छ जस्तो त मलाई लाग्दैन ।

० प्रधानमन्त्री तपाईंको पार्टीका अध्यक्ष हुनुहुन्छ र तपाईं पनि पार्टीको शीर्ष जिम्मेवारीमा हुनुहुन्छ, भ्रमणमा यसो–यसो गर्ने, यस्ता कुरा राख्ने, यसरी प्रस्तुत हुने भनेर पार्टीको तर्फबाट केही सुझाव दिइएको छैन ?
– हाम्रो पार्टीको कुरा त प्रस्टै छ नि, यो राजकीय भ्रमण भए पनि मुख्यतः सद्भाव भ्रमण नै हो । नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्नका निम्ति पछिल्ला दिनमा देखापरेका केही चिसोपनलाई अझ राम्ररी सामान्यीकरण गर्न नै यो भ्रमण केन्द्रित रहनेछ । अरू धेरै कुराचाहिँअहिलेको भ्रमणमा नहोला ।

० प्रधानमन्त्रीले आफ्नो हात–खुट्टा बाँध्ने भए भारत जान्नँभनेर सार्वजनिक रूपमा साङ्केतिक अभिव्यक्ति दिनुभयो, तपाईंहरूले के त्यस्तो दबाब दिनुभयो र उहाँले त्यसो भन्नुप¥यो ?
– हामी, हाम्रो पार्टी या नेपाली जनताले त्यसरी हात–खुट्टा बाँध्ने या प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पारेर दबाब दिने भन्ने प्रश्नै आउँदैन । त्यो अभिव्यक्ति उहाँले त्यस्तो अर्थमा दिनुभएको पनि होइन । उहाँले त आफू नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र हितलाई केन्द्रबिन्दुमा राखी खुल्ला दिमाग लिएर जान्छु भनेर भन्नुभएको पो हो त । सबै कुरा पूर्वनिर्धारित धारणा बोकेर मात्र आफ्नो भारत यात्रा नहुने, भारतीय नेतृत्वसँग खुल्ला छलफल गर्ने कुरा उहाँले दर्शाउन खोज्नुभएको हो । मैले त उहाँको उक्त अभिव्यक्तिलाई यसरी नै बुझेको छु ।

० बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा पनि तपाईं सँगै भारत जानुभएको थियो, तर त्यतिबेला तपाईंले डा. भट्टराईले प्रधानमन्त्रीको हैसियतमा गरेका सम्झौताप्रति असहमति प्रकट गर्नुभएको थियो, यसपटक पनि यस्तै गर्न खोज्नुभएको त होइन ?
– त्यतिबेला बाबुरामजीले जुन प्रकारले बिप्पा सम्झौता गर्नुभएको थियो, त्यसमा मैले असहमति जनाएको हुँ । बिप्पा सम्झौता गर्नै नहुने भन्ने मेरो धारणा होइन, तर त्यसलाई करेक्सन गर्नुपथ्र्यो, त्यो रूपको बिप्पा गर्नुहुँदैनथ्यो भन्ने धारणा हो । त्यो सन्दर्भलाई अहिले हुन लागेको प्रधानमन्त्रीको भारतयात्रासँग जोड्नु आवश्यक छैन ।

० प्रधानमन्त्रीले भारतसँग सन्धि–सम्झौताहरू गर्नुभएमा तपाईंको प्रतिक्रिया के रहला ?
– यस्तो सवाल नै उठ्दैन नि † उहाँत हाम्रो पार्टीको अध्यक्ष हो र हामी पूरै विश्वस्त छौँकि उहाँले त्यसो गर्नु नै हुन्न । उहाँले चाल्दैनचाल्ने कदमबारे कल्पना गरेर किन अहिले नै बहस गरिरहने ?

० देशको प्रधानमन्त्री यसरी औपचारिक भ्रमणमा गइसकेपछि केही पनि नगरी फर्कने त ?
– केही नगरी फर्कने कुरा मैले कहाँगरेको छु ? मैले भन्न खोजेको त उहाँले जे गर्नुहुन्छ नेपालको राष्ट्रिय सार्वभौमिकता वा मुलुकहितकै लागि गर्नुहुन्छ, नयाँसन्धि–सम्झौताहरू अहिले गर्ने अवस्था छैन, वर्तमान राजनीतिक परिवेशको हेक्का उहाँलाई राम्रैसँग छ, तसर्थ विवादमा आउने कुनै त्यस्ता काम उहाँबाट हुनेछैन, हुनु पनि हुँदैन भन्ने पो हो त । केवल सद्भावलाई अझ वृद्धि गर्ने, बीचमा भएको चिसोपनलाई खुल्ला ढङ्गले छलफल गरेर मेटाउने प्रयत्न गर्ने, नेपालको हितमा भारतसँग भएका सम्झौताहरू वा कतिपय त्यसप्रकारका निर्णयहरू कार्यान्वयन गर्ने–गराउने प्रक्रियालाई व्यवस्थित गर्ने काम यसपटक हुन्छ भन्ने मैले ठानेको छु ।

० नेपाल–भारत सम्बन्धको कुरा गर्दा केही समस्याहरू पनि छन्, तपाईं स्वयम्ले पनि लिपुलेक, कालापानी, १९५० को सन्धि, सुस्ता र सीमाका मुद्दा उठाउँदै आउनुभएको छ, विराटनगरमा राखिएको अस्थायी कन्सुलर अफिस पनि हटाउनुपर्छ भन्ने तपाईंको धारणा रहँदै आएको छ, प्रधानमन्त्रीले यी मुद्दामा छलफल गर्न सक्नुहोला भन्ने लाग्छ ?
– मैले उल्लिखित मुद्दा सबै यसैपटक हुन्छ भनेर मैले कतै भनेको छैन र अहिले त्यस्तो अपेक्षा राख्ने समय पनि होइन । यसरी उठ्दै आएका मुद्दा हल हुनुपर्छ त म भन्छु, तर नेपाल–भारत सम्बन्धका समस्त आयामका बारेमा समीक्षा गरेर सम्बन्ध राम्रो बनाउन के गर्नुपर्छ, समस्या समाधान गर्न के गर्नुपर्छ भन्ने पर्गेलेर सरकारलाई सुझाव दिन वा सिफारिस गर्न त नेपाल भारत प्रबुद्ध व्यक्तिहरूको समूह नै गठन भएको छ नि । अहिलेलाई त त्यो समूहको कामलाई प्रभावकारी बनाउने र छिटो त्यो काम अघि बढाएर निष्कर्षमा पु¥याउनका निम्ति जोड दिने हो । अर्को कुरा म परराष्ट्रमन्त्री हुँदाखेरि नै भारतले विराटनगरमा राखेको फिल्ड अफिसको औचित्य समाप्त भइसकेको हुँदा त्यो हटाउनुपर्छ भनी अनुरोध गरेको हो नेपाल सरकारले, तर त्यो अहिलेसम्म चलिराखेको छ ।

० तपाईंहरूले नै सहमति दिएर राखेको अफिस होइन र त्यो ?
– तत्कालीन अवस्थामा हाम्रो बाटो भत्किएको हुँदा भारतको भूमि भएर हाम्रा गाडीहरू हिँड्नुपर्ने भयो र आवागमन सहज तुल्याउनका लागि त्यो फिल्ड अफिस राखिएको हो । अब हाम्रो बाटो सुचारु भएकाले उक्त कार्यालयको औचित्य सकिएको छ र त्यो भारतले बिनासर्त हटाउँदा हुन्छ ।

० प्रधानमन्त्री प्रचण्डले भारतसँग यसो भन्ने हिम्मत गर्नुहोला त ?
– उहाँले कुरा राख्नुपर्छ, राख्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । उहाँनेपालको देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको व्यक्तित्व हो, हाम्रो पार्टीको अध्यक्ष हो, तसर्थ उहाँले नेपालको हितमा हुने तत्कालका आवश्यक विषयमा पनि कुरा राख्नुहुनेछ र दीर्घकालीन ढङ्गले कसरी अगाडि जाने भन्ने सवालमा पनि पारस्परिक सम्मान र समानतामा आधारित सम्बन्ध विकसित गरौँहै भन्ने दृष्टिकोण पनि राख्नुहुनेछ ।

० मुलुकको प्रधानमन्त्री भारत भ्रमणमा गइरहँदा उहाँको हात बलियो बनाउने कि यसो गर यसो नगर भनेर खुम्च्याउन खोज्ने, के भन्नुहुन्छ ?
– हाम सबै मिलेर प्रधानमन्त्रीको हात बलियो बनाउन खोजेको हो, खुम्च्याउन खोजेको सवाल कहाँबाट आयो फेरि ? कुनै पनि देशका जनताले आफ्ना प्रधानमन्त्रीलाई विदेशमा गएर जेसुकै गर भनेर भन्दैनन् । तसर्थ, प्रधानमन्त्रीले मुलुकको राष्ट्रिय हितमा काम गर्नुहुनेछ भन्ने हामीलाई आशा छ, विश्वास छ । यसैका लागि उहाँको आत्मबल बढाउने, जनताको समर्थन जुटाउने प्रयास हामी गरिरहेका छौँ।

० भारतलाई विभिन्न दोष दिँदै नेपाली नेतृत्वले उम्कन खोज्ने गरेका सन्दर्भहरू निकै छन्, यो जायज लाग्छ तपाईंलाई ?
– त्यसैले त मैले प्रस्ट भन्दै आएको छु कि कसैले हस्तक्षेप गर्न चाहँदैमा हस्तक्षेप हुँदैन । नेपालका राजनीतिक पार्टी तथा कतिपय नेतामा बाह्यशक्तिमुखी प्रवृत्ति देखिन्छ, त्यो हाम्रै कमजोरी हो, अरूलाई दोष दिएर हुँदैन । कतिपय अवस्थामा त व्यक्तिगत स्वार्थपूर्तिका लागि आफैले हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्ति पनि यहाँदेखिएको छ । यो नेपालका राजनीतिक पार्टी तथा राजनीतिक नेतृत्वको कमजोरी हो । यसैगरी, विदेश मामलाका सवाल या परराष्ट्रसम्बन्धी नीतिको मामलामा नेपालका सबै पार्टीबीच एउटा सहमति हुनुपर्नेमा त्यसो हुन नसक्नु पनि हाम्रो कमजोरी हो । जुन पार्टी सरकारमा आउँछ, त्यो आफ्नै ढङ्गले चल्ने गरेको छ, यो पनि कमजोरी हो । आफ्नो राजनीतिक स्वार्थसिद्धिका लागि विरोधको राजनीति अघि बढाउनुहुन्न र नेपालका कुनै पनि सच्चा देशभक्त नेपाली भारतविरोधी हुनै सक्दैन भन्ने मेरो प्रस्ट धारणा छ । यस्तै, नेपालको हितको पक्षमा बोल्नुलाई नै भारतविरोधी भनेर अथ्र्याउन खोज्नु पनि गलत हो ।

० तपाईंलाई पनि भारतविरोधी नेता भन्छन् नि ?
– होइन, म भारतविरोधी होइन, बरु नेपालपक्षीयचाहिँपक्कै हुँ। नेपालको राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा दृढताका साथ उभिने, अडान दिने व्यक्तिचाहिँम पक्कै हुँ। यसो गर्दा भारत र नेपालको सम्बन्ध पनि राम्रो हुन्छ र नयाँउचाइमा पुग्छ भन्ने मलाई लाग्छ । भारतको विरोध गर्नुलाई नै नेपालको राष्ट्रियताको आधार भनी बुझ्ने, भारतसँग कुनै पनि सन्धि–सम्झौता हुँदा त्यो नेपालको हितमा छ कि छैन भनी हेर्दैनहेरी विरोधको वक्तव्य दिने प्रवृत्ति गलत हो भनी मैले भन्दै आएको छु । भारतसँग हामीले असल मैत्रीपूर्ण सम्बन्ध राख्नैपर्छ भन्नेमा म प्रस्ट छु, किनकि त्यो नेपालको राष्ट्रिय आवश्यकता हो ।

० नेपालको संविधानलाई भारतले स्वागत गरिदियो भने त्यही नै ठूलो उपलब्धि हुन्छ भनेर पनि भन्नुहुन्छ नि तपाईं त, किन ?

– अहिलेसम्म भारतले नेपाली जनताले बनाएको संविधानको हामी बिनासर्त स्वागत गर्छौं भनेर नभनेको हुँदा त्यास्तो स्टेटमेन्ट भारतबाट आएमा दुई देशबीच पछिल्लो चरणमा चिसिएको सम्बन्धमा व्यापक सुधार आउँछ भन्ने मेरो धारणा हो ।

० नेपालको संविधान नेपालीकै लागि हो, भारतका लागि त होइन । अनि उसले स्वागत गरोस् या नगरोस्, यसमा किन टाउको दुखाउनु प¥यो ?
– भारत हाम्रो छिमेकी देश हो । हाम्रो संविधान जारी भएपछि ऊ असन्तुष्ट बनेको, यसप्रति रिजर्भेसन राखेको देखिएकाले टाउको दुखाउनुपरेको हो । अरू सबै मित्रराष्ट्रले स्वागत गरेको परिवेशमा छिमेकी देशले पनि गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना हो । भारत र नेपालबीच सम्बन्धको प्रगाढताको लागि पनि यसले सकारात्मक भूमिका खेल्थ्यो भन्ने कुरा हो ।

० भारतले स्वागत गरिदेओस् भन्दै पुकारा गर्नु आन्तरिक हस्तक्षेप निम्त्याउनु हो कि होइन ?

– राम्रो छिमेकी–सम्बन्ध कायम होस् भनेर यसो भनिएको हो, यसलाई बङ्ग्याएर बुझ्न खोज्दा कसैको पनि हित हु“दैन ।