किन चढाइयो नवराजलाई बलि !

किन चढाइयो नवराजलाई बलि !


नवराज सिलवाल 2

नवराज सिलवालका पनि केही ‘कमजोरी’ थिए या छन् । कसैको ‘एसमेन’ बन्ने गुण–स्वभाव नहुनु उनको पहिलो ‘कमजोरी’ मानिन्छ । उनको दोस्रो ‘कमजोरी’चाहिँ नियम–कानुनलाई प्राथमिकता दिनु हो । तेस्रो कमजोरी कार्यक्षमता हो, आईजीपी भइसकेपछि मात्र देखाउनुपर्ने कार्यक्षमता उनले हरेक ओहोदामा रहँदा दर्शाए, जसका कारण सम्भावित आईजीपीका रूपमा नवराजको नाम धेरै अघिदेखि नै बजारमा आउन थाल्यो, यसले प्रतिस्पर्धीहरू शत्रु पक्षलाई सचेततापूर्वक आफ्नो गतिविधि सञ्चालन गर्ने मौका मिल्यो । नवराजको चौथो कमजोरीका रूपमा ‘नगद आर्जन गरी त्यसको वितरण गर्न नसक्नु’लाई मान्न सकिन्छ । उच्च अवसर प्राप्तिका निम्ति करोडौँ लगानी गर्नुपर्ने अवस्था आउनु नै विद्यमान लोकतन्त्रको एउटा ‘सौन्दर्य’ बनेको तथ्यप्रति उदासीन रहनु नवराजको कमजोरी हो ।

– यादव शर्मा
बलि चढाउनुको आ–आफ्नै संस्कृति या पारम्परिक मान्यताहरू छन् । मूलतः शक्तिका उपासकहरू अर्थात् शक्तिप्रतिको चाहना राख्नेहरू ‘बलि’मा विश्वास गर्छन् । साकाहारीहरू नरिवल, घिरौँला, त्यस्तै वनस्पतिजन्य वस्तुको बलि चढाएर तुष्टि लिन्छन् भने अन्यले राँगो, कुखुरा, हाँस, परेवा आदि निरीह र निर्दोष जीवजन्तुको बलि चढाएर शक्ति प्राप्तिको तुष्टि लिन्छन् । बलि जुनसुकै देवीस्थानमा जसको चढाए पनि बलि चढ्ने पशुपक्षीमा कुनै प्रकारको खोट हुनु नहुने धारणा छ । शारीरिक या मानसिक खोट देखिएमा देवीले बलि स्वीकार नगर्ने र भक्तको मनोरथ पूरा नहुने ठानिन्छ । भारतको राजधानी नयाँदिल्लीमा बाह्रबुँदे सम्झौताको जग हालेर खडा गरिएको ‘लोकतन्त्र’मा पनि यसका ठेकेदारहरूले कुनै बेला खोट लागेका लोकमानसिंह कर्कीलाई खोटमुक्त बनाए र देशमा सुशासनका लागि केही गर्ने अग्रसरता लिएपछि बलि चढाए । नेपाल प्रहरीका नवराज सिलवालमा चाहिँ कुनै खोट नपाइएपछि सुरुमै बलि चढाउने निर्णयमा सत्ता पुग्यो । नेपाल प्रहरीका डीआईजीपीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी महानिरीक्षक बन्न योग्य हुन्, योग्य नभएको भए नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारीमा रहन पनि सम्भव थिएन । त्यसैले महानिरीक्षक बन्ने प्रतिस्पर्धामा रहेका उल्लिखित चारैजनालाई अयोग्य या अक्षम ठान्नु उपयुक्त होइन । त्यसैगरी देशको कार्यकारी निकाय (सरकार) लाई विधिसम्मत् ढङ्गले आफ्नो विश्वास र भरोसाका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिन पाउने अधिकार रहन्छ भन्ने पनि सिद्धान्ततः सही हो । आफ्नो अनुकूल र विश्वासका मानिसलाई जिम्मेवारी दिन पाउने विशेष अधिकार सरकारमा रहन्छ भन्ने सैद्धान्तिक मान्यता स्वीकार्य हुनुको अर्थ विधि र विवेकविपरीत निर्णय पनि आमजनताका दृष्टिमा मान्य हुन्छ भन्नेचाहिँ होइन ।

सुरक्षा निकाय, निजामती सेवालगायतमा कार्यक्षमता, योग्यता, अनुभव, नेतृत्व या व्यवस्थापन कौशल, पृष्ठभूमि, चरित्र, रोलक्रम र बरियतालाई आधार मानेर पदोन्नति गर्ने परम्परा विश्वव्यापी रूपमा रहिआएको छ । यस्तै आधारलाई आधार मानेर पदोन्नति गर्दै जाँदा नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी नायव प्रहरी महानिरीक्षकसम्म बनेका र महानिरीक्षक बन्ने प्रतिस्पर्धासम्म आइपुगेका हुन् । तर, महानिरीक्षक चयन गर्ने क्रममा निर्णायक तहमा रहेका तथा निर्णयमा प्रभाव पार्न सक्ने हैसियतमा रहेकाहरूले आफूलाई प्राप्त हैसियत र अधिकारको सदुपयोग गरेनन् भन्ने आमटिप्पणीको विषय बनेको छ । यदि नेपाल प्रहरीमा रोलक्रमको कुनै अर्थ हुँदैन भने यसअघि र पटकपटक एक नम्बरमा रहेका अधिकृतलाई नै महानिरीक्षक किन बनाइने गरिन्थ्यो भन्ने प्रश्न जनस्तरमासमेत उठेको छ । गृहमन्त्री रहँदा शेरबहादुर देउवाले रत्नशमशेर जबरालाई हटाएर अछाम मूल घर भएका मोतीलाल बोहरालाई तथा वामदेव गौतम गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेललाई हटाएर धु्रवबहादुर प्रधानलाई ‘आईजीपी’ बनाउनुका पछाडि कति राजनीतिक र कति अन्य कारण थियो, यो समीक्षा या छलफलको विषय हुन सक्छ । पछिल्लोपटक वामदेव गौतम गृहमन्त्री रहँदा रोलक्रमको पहिलो नम्बरमा रहेका रवीन्द्रप्रताप शाहलाई बढुवा नगरेर रमेश चन्द ठकुरीलाई आईजीपी नियुक्त गर्नुको रहस्यचाहिँ खुलेको थियो । शाहले नगद चढाउन अस्वीकार गरेपछि वामदेव गौतमले दुई करोड र तात्कालिक एमाले अध्यक्ष झलनाथ खनालले कुनै व्यापारी (नाम उल्लेख गर्न उपयुक्त नठानिएको) मार्फत एक करोड रुपैयाँ हात पारेपछि रमेश चन्दलाई आईजीपी बनाइएको तथ्यबारे अनुसन्धान भए अहिले पनि पुष्टि हुन सक्दछ ।

राजनीतिजीवीहरूले सबै उच्च पद बिक्रीमा राखेका छन् भनियो भने त्यो पूरै गल्ती हुनेछैन । संवैधानिक निकायका पदाधिकारी, राजदूत, महानिर्देशक, महाप्रबन्धक र उच्च प्रहरी अधिकृतहरूको बढुवा तथा नियुक्तिमा नगद बढाबढलाई आधार बनाउने गरिएको छ भने कारणवश बढुवा या नियुक्ति पाएका योग्य मानिसको मान मर्दन हुन सक्छ, तर राजनीतिजीवीहरूको पहिलो सर्तचाहिँ नगद नै बन्ने गरेकोमा शङ्का गरिरहनुपर्ने अवस्था होइन । नवराज सिलवाल एक विशुद्ध व्यावसायिक प्रहरी अधिकृत भएको विश्वास आममानिसमा छ । जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीको छवि पनि व्यावसायिक प्रहरीकै हो । त्यसैले जयबहादुर चन्दलाई किन आईजीपी बनाइयो भन्ने कोणबाट प्रश्न उठेको छैन, नवराज सिलवाललाई आईजीपी किन बनाइएन भन्ने कोणबाट प्रश्न ज्यादा उठेको छ । प्रहरी सङ्गठनको इतिहासमा साधारणतः रोलक्रमको पहिलो नम्बरमा भएकै व्यक्तिलाई प्रमुख बनाउने गरिएको र यसअघिका आईजीपी उपेन्द्रकान्त अर्याल पनि रोलक्रममा अगाडि भएकै कारण संगठनको प्रमुख बन्ने मौका पाएका हुन् । यदि क्रमको कुनै अर्थ नरहने हो भने त्यसबारे या त प्रहरी नियमावलीमा खुलाइनुपर्ने या वर्णानुक्रमअनुसार नाम राख्ने परम्परा बसाइनुपर्ने थियो । यसअघि मान्य हुने गरेको सूत्र यसपटक अवज्ञा हुँदा आममानिसले यस विषयलाई लिएर प्रश्न उठाएका हुन् ।

हो, सार्वजनिक जानकारीमा आएअनुसार नवराज सिलवालका पनि केही ‘कमजोरी’ थिए या छन् । कसैको ‘एसमेन’ बन्ने गुण–स्वभाव नहुनु उनको पहिलो ‘कमजोरी’ मानिन्छ । उनको दोस्रो ‘कमजोरी’चाहिँ नियम–कानुनलाई प्राथमिकता दिनु हो । तेस्रो कमजोरी कार्यक्षमता हो, आईजीपी भइसकेपछि मात्र देखाउनुपर्ने कार्यक्षमता उनले हरेक ओहोदामा रहँदा दर्शाए, जसका कारण सम्भावित आईजीपीका रूपमा नवराजको नाम धेरै अघिदेखि नै बजारमा आउन थाल्यो, यसले प्रतिस्पर्धीहरू शत्रु पक्षलाई सचेततापूर्वक आफ्नो गतिविधि सञ्चालन गर्ने मौका मिल्यो । नवराजको चौथो कमजोरीका रूपमा ‘नगद आर्जन गरी त्यसको वितरण गर्न नसक्नु’लाई मान्न सकिन्छ । उच्च अवसर प्राप्तिका निम्ति करोडौँ लगानी गर्नुपर्ने अवस्था आउनु नै विद्यमान लोकतन्त्रको एउटा ‘सौन्दर्य’ बनेको तथ्यप्रति उदासीन रहनु नवराजको कमजोरी हो । वास्तवमा नवराज सिलवाल काङ्गे्रस, कम्युनिस्ट, राप्रपा, फोरम–तोडम केही होइनन्, थिएनन् । उनी पनि जयबहादुर र प्रकाश अर्यालजस्तै विशुद्ध प्रहरी मात्र हुन्, हालसम्म उनले राजनीतिक निकटता झल्किने साङ्केतिक व्यवहार पनि झल्काएका छैनन् । कुन्नि क–कसले हो, उनलाई एमालेनिकट भनिदिए, चुनावमा जान ठिक्क परेका प्रचण्ड र शेरबहादुर देउवाको मुटुको छेउ यस कुराले सायद कटक्क खायो, अनि दुवैजना नवराजका विरुद्ध अडिए, गृहमन्त्री बनेका विमलेन्द्र विधिको पनि केही चलेन ।

चर्चा जे–जस्तो प्रकारको चलेको भए पनि नवराजलाई आईजीपी नबनाइनुको मुख्य कारण उनमा ‘आफैँ चल्न सक्ने क्षमता’ भएकोले हो । नेताहरूबाट ‘आफूले चाहेबमोजिम चल्ने’ मानिसको खोजी गर्ने ‘लोकतान्त्रिक युग’ सुरु भइसक्दा पनि नवराज ‘आफ्नै क्षमताले चल्ने’ र ‘नियम–कानुनअनुसार गर्ने’ अडानमा रहिरहे, परिस्थितिअनुरूप चल्न सकेनन् या सतीले श्राप दिएको यस मुलुकमा राम्रो गर्नेको भलो हुन्न भन्ने पक्षलाई बुझ्न सकेनन्, सरकारका दृष्टिमा उनी आईजीपी बन्न अयोग्य ठहर भए । देवीहरू खोट नभएका प्राणीको भाग लिन्छन्, राजनीतिजीवीहरूचाहिँ खोट नभएका प्राणीको भोग दिँदारहेछन् । नवराजलाई यसपटक बलि चढाइएको छ, यस घटनाले पनि यो देश राम्रा, इमानदार र योग्य मानिस बस्नका निम्ति उपयुक्त नभएको पुष्टि गरेको छ ।
नवराज सिलवाल