काङ्ग्रेस नेतृत्वलाई एक युवानेतृको पत्र

काङ्ग्रेस नेतृत्वलाई एक युवानेतृको पत्र


चुनावी तालमेल गरेर काङ्ग्रेसले पार्टीको हित गरिरहेको छ कि अरू पार्टीका निम्ति जनमत बटुलिरहेको छ ?

Manita Ghimire

सभापति श्री शेरबहादुर देउवाज्यू
महामन्त्री श्री शशांक कोइरालाज्यू
वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू
सुनसरी जिल्ला पार्टी सभापति राजीव कोइरालाज्यू,

विषय : नेपाली काङ्ग्रेसले गरिरहेको चुनावी तालमेल र धरान उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी सम्बन्धमा ।

नेपाली काङ्ग्रेस नेपालको अग्रणी पार्टी हो र यो नेपालमा क्रियाशील सबैभन्दा ज्येष्ठ राजनीतिक पार्टी पनि हो । नेपाली काङ्ग्रेसले राष्ट्रिय राजनीतिमा लिने नीति र रणनीतिहरूले यसको आन्तरिक जीवन मात्र नभएर समग्र मुलुकको जीवनका साथै समग्र राजनीति प्रभावित हुन्छ ।

हाल सञ्चालन भइरहेको स्थानीय तहको चुनावबाट पनि नेपाली काङ्ग्रेस देशको अग्रणी राजनीतिक दलका रूपमा स्थापित हुँदै छ । पहिलो र दोस्रो चरणको चुनावबाट नेपाली काङ्ग्रेस एक नम्बर राजनीतिक दलका रूपमा स्थापित हुने सुनिश्चित छ । लोकतन्त्रप्रेमीहरूका लागि यो खुसीको कुरा हो ।

चुनावको दौरानमा नेपाली काङ्ग्रेसले लिएका कतिपय नीतिले राष्ट्रिय राजनीतिमा दूरगामी सकारात्मक प्रभाव पर्ने देखिन्छ भने कतिपय नीतिले नकारात्मक प्रभाव पर्ने पनि देखिन्छ । नकारात्मक प्रभाव पर्ने नीतिहरूलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प नेपाली काङ्ग्रेससँग छैन ।

गलत चुनावी तालमेल :

नेपाली काङ्ग्रेस मुलुकको अग्रणी राजनीतिक पार्टी भएकाले यसले लोकतन्त्रलाई संस्थागत गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने उद्देश्यले सबै राजनीतिक शक्तिहरूलाई समेट्ने, सबैसँग सहकार्य गर्ने नीति लिएको छ । तर, स्थानीय चुनावमा त्यसअनुसारको रणनीति अपनाउनमा नेपाली काङ्ग्रेस चुकेको छ ।

काङ्ग्रेसले विभिन्न स्थानमा अन्य पार्टीहरूसँग चुनावी तालमेल गर्ने कार्य गरेको छ । तालमेलको क्रममा कतिपय स्थानमा माओवादी केन्द्रलाई प्रमुख पदमा समर्थनसमेत गरेको छ । यो गलत भएको छ ।

संसद्भित्रको गणितीय राजनीतिमा पहिलो पार्टीले साना पार्टीलाई समर्थन दिनु, नेतृत्व दिनु स्वाभाविक हुन सक्छ, तर आमजनताले मत दिने चुनावमा अरूलाई नेतृत्वदायी पद दिनु स्वाभाविक हुन सक्दैन । आमजनतामा कुनै पनि पार्टीले सैद्धान्तिक आधारमा मत माग्ने हो । चुनावमा राजनीतिक दलहरूले आफ्ना विचार, सिद्धान्त र कार्यक्रमहरू जनतामाझ पु¥याउने हो । अरूलाई नेतृत्वदायी पदमा समर्थन गरेर काङ्ग्रेसले प्रभावकारी ढङ्गले आफ्नो विचार, सिद्धान्त तथा कार्यक्रम जनतामाझ पु¥याउन सक्दैन । नेपाली काङ्ग्रेसले जनताको मत र विवेकमा विश्वास गर्नुपर्छ । चुनावमा हुने पराजयलाई पनि स्वीकार गर्नुपर्छ । जनतामाझ आफ्ना विचार, सिद्धान्त तथा कार्यक्रम पु¥याउन सक्नु नै पहिलो विजय हो । मतगणनामा हुने विजय या पराजय दोस्रो विषय मात्र हुन सक्छ, नेपाली काङ्ग्रेसजस्तो लोकतन्त्रको पर्याय राजनीतिक पार्टीका लागि ।

जनताले विवकले मत दिने हुन् । तालमेल गरेर जनताको विवेकमाथि नेपाली काङ्ग्रेसले अविश्वास गर्न हुँदैन । वामपन्थीहरूलाई तालमेल गर्न सुहाउँछ होला, तर नेपाली काङ्ग्रेसलाई सुहाउँदैन । जनप्रतिनिधिले गर्ने तालमेल भने बेग्लै विषय हो जसमा गणितीय समीकरण प्रमुख हुन्छ ।

संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्न सबै राजनीतिक दलहरूबीच सहकार्य जरुरी छ, तर कोसँग काङ्ग्रेसले सहकार्य गर्ने भन्ने निर्णय नेपाली जनताले गर्ने हुन् । चुनावी तालमेलले जनअभिमतलाई दिग्भ्रमित पार्न सक्छ । काङ्ग्रेसले जनमत आर्जन गरेको आधारमा राजनीतिक दलहरूलाई समेट्ने कार्य गर्नुपर्छ । यसविपरीत जनमत बटुलिदिन कुनै पार्टीलाई सहयोग गरिदिने होइन । पहिलो चरणको चुनावमा गरिएको तालमेलले पार्टीलाई फाइदा नभएको पनि स्पष्ट भइसकेको छ ।

संविधान कार्यान्वयन तथा लोकतन्त्र सुदृढीकरणका लागि नेपाली काङ्ग्रेसले मूलतः नेकपा एमालेसँग सहकार्य गर्नुपर्छ । किनभने विगत तीन दशकदेखि नेपाली काङ्ग्रेसको प्रतिस्पर्धी पार्टीका रूपमा एमाले रहँदै आएको छ । देशका प्रमुख दुई शक्तिमध्ये एमाले एक हो । यद्यपि एमालेको गलत नीति र कार्यशैलीले लोकतन्त्रको सुदृढीकरण र संविधान कार्यान्वयनमा अवरोध सिर्जना भइरहेको पनि उत्ति नै सत्य हो । एमालेलाई समेत सही बाटोमा अगाडि बढाउने दायित्व नेपाली काङ्ग्रेसको पनि हो भन्ने भुल्न हुँदैन ।

महिला उम्मेदवारी सम्बन्धमा :

नयाँ संविधानले महिला अधिकार स्थापित गर्ने सम्बन्धमा धेरै काम गरेको छ । स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलालाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्ने भनेको छ । तर, पहिलो चरणको चुनावमा महिलालाई अधिकांश स्थानमा उपप्रमुखमा मात्र उम्मेदवार बनाइएको छ । यो गलत भएको छ । यसलाई सच्याउन आवश्यक छ ।

नेपाली काङ्ग्रेस नेपालमा समावेशीकरणको जननी हो, महिला अधिकार स्थापित गर्ने अग्रणी पार्टी हो । यो पार्टी अन्य पार्टीहरूभन्दा महिला प्रतिनिधित्वमा पछाडि पर्नु दुःखको कुरा हो । महिला प्रतिनिधित्वमा पनि नेपाली काङ्ग्रेस अग्रणी बन्न सक्नुपर्छ । यसका लागि काङ्ग्रेसले दोस्रो चरणको चुनावमा यथाशक्य धेरै स्थानमा महिलालाई प्रमुखको उम्मेदवार बनाओस् भनी विनम्र आग्रह गर्दछु ।

पहिलो चरणको चुनावमा नेपाली काङ्ग्रेस सङ्गठनात्मक रूपमा कमजोर रहेको ठाउँमा पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाइएको ठाउँमा सम्मानजनक मत आएको स्मरण दिलाउन चाहन्छु । दोस्रो चरणमा महिलालाई अत्यधिक ठाउँमा प्रमुखको उम्मेदवार बनाउँदा पार्टीको चुनावी अभियानलाई ठूलो सघाउ पुग्ने पनि स्वतसिद्ध छ ।
पहिलो चरणको चुनावमा प्रमुख पदमा महिला प्रतिनिधित्वमा नेपाली काङ्ग्रेस पछाडि परेको छ । त्यसको क्षतिपूर्तिका लागि पनि दोस्रो चरणमा महिलालाई अत्यधिक सङ्ख्यामा प्रमुखमा उम्मेदवार बनाउन आवश्यक छ । पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दाबी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।

प्रतिकूलता र अनुकूलता :

पहिलो चरणको चुनाव नेपाली काङ्ग्रेसका लागि निकै प्रतिकूल रहेको थियो । खासगरी राष्ट्रिय राजनीतिमा भएका कतिपय घटनाक्रमले काङ्ग्रेसलाई अप्ठ्यारो परिस्थितिमा पु¥याएको थियो । त्यसका बाबजुद काङ्ग्रेसले पहिलो चरणमा शानदार विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरू आक्रामक थिए । अब नेपाली काङ्ग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरानसहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ । यहाँहरूलाई थाहा भएकै कुरा हो, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको पहिले नै आधा चुनाव जित्नु हो ।

चुनावमा विजय भएपछि परिस्थिति झन चुनौतीपूर्ण हुन्छ । किनभने विजयीहरूले नेपाली काङ्ग्रेसको विचार, सिद्धान्त, आदर्श र कार्यक्रमअनुसार आ–आफ्नो ठाउँमा विकास निर्माण गर्नुपर्ने हुन्छ, सबै पक्षलाई समेटेर हिँड्नुपर्ने हुन्छ । विकासको संवाहक नेपाली काङ्ग्रेस नै हो भनेर स्थापित हुँदै आएको छ र आगामी दिनमा पनि स्थापित गर्न जिम्मेवारी स्थानीय तहमा निर्वाचित हुने काङ्ग्रेसका विजयी उम्मेदवारहरूको हो । यस दृष्टिले पूर्वाञ्चलको उत्कृष्ट र रणनीतिक थलो धरानलाई विकासका दृष्टिले देशकै नमुना थलोका रूपमा विकास गर्नुपर्छ । यो जिम्मेवारीलाई म गम्भीर ढङ्गले निर्वाह गर्न सक्छु भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

धरान उपमहानगर देशको नमुना समावेशी थलो हो, उत्कृष्ट थलो हो, यहाँका जनता लोकतन्त्रप्रेमी छन् र यहाँ नेपाली काङ्ग्रेसको विजय सुनिश्चित रहेको छ । पूर्वाञ्चलको यो नमुना थलोमा नेपाली काङ्ग्रेसले दिने उम्मेदवारीले दोस्रो चरणमा चुनाव हुने अन्य ठाउँमा पनि सकारात्मक प्रभाव पार्नेछ । नेपाली काङ्ग्रेसले धरानमा सञ्चालन गर्ने चुनावी अभियानले देशव्यापी प्रभाव पार्न सक्छ । यो गम्भीर जिम्मेवारी मलाई दिन म पुनः आग्रह गर्दछु । धन्यवाद । जय नेपाल ।

– मनिता घिमिरे
(नेपाली काङ्ग्रेस, सुनसरी क्षेत्र नम्बर १ कार्यसमिति सदस्य)