काङ्ग्रेस किन ओह्रालो यात्रामा ?

काङ्ग्रेस किन ओह्रालो यात्रामा ?


वर्तमान काङ्ग्रेसलाई इतिहासले दिएको चुनौती र अवसरको सदुपयोग गर्न नसक्नु नै काङ्ग्रेसको प्रमुख कमजोरी रह्यो । सत्तासीन रहेको अवस्थामा काङ्ग्रेसले जनतालाई सुशासन दिन सकेन । जनपरिचालनभन्दा कार्यकर्ता परिचालनमा बढी ध्यान दिइयो । काङ्ग्रेसले बौद्धिक हैसियत प्रदर्शन गर्न चुक्यो । काङ्ग्रेस पार्टी जनताको भन्दा नेताको बन्यो । पार्टी कार्यकर्तालाई जुटाउने र फुटाउने खेलमा नेताहरू अभ्यस्त रहे । जनताका जल्दोबल्दो समस्याप्रति काङ्ग्रेसको ध्यान गएन, पार्टी र नागरिकबीचको सम्बन्ध पातलिँदै गयो । आफ्नो नेतृत्वमा भएका राष्ट्रिय उपलब्धिहरूको जस आफूले लिन सकेन । नीति र निर्णयको आधारमा नभई भागबन्डाका आधारमा पार्टी सञ्चालन गरियो । इतिहासको कालखण्डमा काङ्ग्रेस पार्टी कुनै समय गिरिजाको त कुनै समय सुशीलको र हाल आएर शेरबहादुरको हातको खेलौना बन्न पुगेको अनुभूति हुँदै छ ।

nepali-congress-flag

जहानियाँ पारिवारिक शासनबाट नेपाली जनताका हातमा शासन ल्याउने ०४६ को जनआन्दोलन र त्यसको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रमुख नेतृत्वदायी भूमिका खेल्ने र ०६३ को आन्दोलनमार्फत परिवर्तन ल्याएर गणतन्त्र स्थापना गर्ने नेपाली जनतालाई सार्वभौम बनाउनेलगायतका हालसम्म राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण आन्दोलनको नेतृत्व गर्दै आएको मुलुकको जेठो राजनीतिक दल नेपाली काङ्ग्रेस साँच्चिकै गौरवशाली छ । दूरदर्शी तथा लोकप्रिय नेता बीपी कोइरालाको वैचारिक नायकत्वमा स्थापना भई लामो समयसम्म उहाँले नै नेतृत्व गरेको नेपाली काङ्ग्रेसको इतिहास अत्यन्त गहकिलो पनि छ । तर, बीपी कोइरालाको नेतृत्वपछि उहाँका अन्य सहयोगी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै काङ्ग्रेसको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवाको काँधमा नेतृत्व आइपुग्दासम्म यस पार्टीप्रति जनाकर्षण कम भएको हो कि भन्ने भान पैदा हुनुचाहिँ दु:खद् विषय बन्न पुगेको छ ।

प्रजातन्त्रको पर्यायवाची नै बन्न पुगेको काङ्ग्रेसको नेतृत्व इतिहासदेखि हालसम्म विराट व्यक्तित्वहरूबाट हुँदै आएको भए पनि बीपी र सुवर्णशमशेरको देहवसानपछि नेतृत्व र पार्टीप्रति निरन्तर रूपमा जनआकर्षण कम हँदै गइरहेको पाइन्छ । प्रतिकूल परिस्थितिमा पनि ०१५ सालमा कुल १०९ सिटका लागि भएको आमनिर्वाचनमा ७४ सिट जित्न सफल भएको काङ्ग्रेसले आफ्नो साख वा छवि गुमाउँदै गएको आभास हुन्छ । ०४६ को जनआन्दोलनको परिणामस्वरूप ०४८ मा भएको आमनिर्वाचनमा प्रतिनिधिसभाको २०५ स्थानमा भएको चुनावमा १ सय १० स्थानमा काङ्ग्रेस विजयी भई बहुमतको सरकार नबनाएको होइन । दोस्रो आमनिर्वाचन ०४८ देखि संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा काङ्ग्रेस पार्टीलाई मतदान गर्नेको सङ्ख्यामा क्रमश: गिरावट हुँदै आएको पाइन्छ । ०५६ सालको आमनिर्वाचनमा केही बढी नै मत प्राप्त भए पनि पछिल्ला तीन निर्वाचनमा भने काङ्ग्रेसलाई मत दिनेको सङ्ख्या घटेको पाइन्छ ।

यसरी गत निर्वाचनमा नेपाली काङ्ग्रेसलाई प्राप्त मत–परिणाम हेर्दा काङ्ग्रेसप्रतिको जनाकर्षण क्रमिक रूपमा घट्दै गइरहेको स्पष्ट हुन्छ । तर, काङ्ग्रेस पार्टीलाई मत दिनेको सङ्ख्या यसरी घट्नुका कारण पत्ता लगाएर गुमेको जनमत आफूतिर फर्काउन र नयाँ मतदाताहरू आकर्षित तुल्याउने पहलकदमी लिने दिशातिर काङ्ग्रेस नेतृत्वको ध्यान गएको पाइन्न । काङ्ग्रेसले यथार्थ वा वास्तविकता आत्मसात् गर्न खोजेकै देखिन्न । हिजोको इतिहास भजाएर वर्तमानमा सत्ताको खुड्किलो चढ्नमा नै काङ्ग्रेस अभ्यस्त देखिँदै छ । बहुमत प्राप्त गर्ने पार्टी आज सबैभन्दा ठूलो पार्टी बन्न पाएकोमै मख्ख छ । विगतमा काङ्ग्रेसले पुर्‍याएको योगदानको चर्चा गर्नेसमेत आत्मबल गुमाइसकेको छ काङ्ग्रेस नेतृत्वले, यो दु:खद् कुरा हो ।

काङ्ग्रेससँग विगतमा योजना थिए । कार्यकर्तासँग अन्तक्र्रिया गर्ने परिपाटी नेतृत्वमा थियो । केन्द्रका नीति र विचार स्थानीय तहसम्म पुग्थ्यो । काङ्ग्रेस नेतृत्वमा गुट–उपगुट भए पनि उनीहरूमा सैद्धान्तिक निष्ठा थियो । प्रतिस्पर्धा मुलुकलाई कसरी उन्नतिपथमा अग्रसर तुल्याउने भन्ने धारणामा केन्द्रित थियो । हालका दिनमा भने काङ्ग्रेस निरन्तर कमजोर हँुदै गएको छ । यसरी काङ्ग्रेस कमजोर हुँदै जानुको पछाडि धेरै कारण भेटिन्छन् ।

वर्तमान काङ्ग्रेसलाई इतिहासले दिएको चुनौती र अवसरको सदुपयोग गर्न नसक्नु नै काङ्ग्रेसको प्रमुख कमजोरी रह्यो । सत्तासीन रहेको अवस्थामा काङ्ग्रेसले जनतालाई सुशासन दिन सकेन । जनपरिचालनभन्दा कार्यकर्ता परिचालनमा बढी ध्यान दिइयो । काङ्ग्रेसले बौद्धिक हैसियत प्रदर्शन गर्न चुक्यो । काङ्ग्रेस पार्टी जनताको भन्दा नेताको बन्यो । पार्टी कार्यकर्तालाई जुटाउने र फुटाउने खेलमा नेताहरू अभ्यस्त रहे । जनताका जल्दोबल्दो समस्याप्रति काङ्ग्रेसको ध्यान गएन, पार्टी र नागरिकबीचको सम्बन्ध पातलिँदै गयो । आफ्नो नेतृत्वमा भएका राष्ट्रिय उपलब्धिहरूको जस आफूले लिन सकेन । नीति र निर्णयको आधारमा नभई भागबन्डाका आधारमा पार्टी सञ्चालन गरियो । इतिहासको कालखण्डमा काङ्ग्रेस पार्टी कुनै समय गिरिजाको त कुनै समय सुशीलको र हाल आएर शेरबहादुरको हातको खेलौना बन्न पुगेको अनुभूति हुँदै छ ।

प्रजातन्त्रको माउपार्टी भएर पनि आन्तरिक प्रजातन्त्रमा नेपाली काङ्ग्रेस अत्यन्त कमजोर बन्यो । कैयौँ वर्षदेखि भ्रातृ सङ्गठनहरूका अधिवेशन हुन सकेको छैन । पार्टीका महत्त्वपूर्ण अङ्गहरू आपसी खिचातानीका कारण सदैव रिक्त नै रहे । मनोनीत गर्नुपर्ने पदहरूमा आन्तरिक कलहको कारण एक अधिवेशनदेखि अर्को अधिवेशनसम्म खाली नै रहे । जिम्मेवारी बाँडफाँड गर्दा नेता तथा कार्यकर्ताको प्रभावकारिताभन्दा नेतासँगको व्यक्तिगत सम्बन्धको दूरीलाई आधार बनाइयो । प्रतिबद्ध, इमानदार र स्वावलम्बी कार्यकर्ताको मनोबल उच्च बनाउने खालको वातावरण तयार हुन सकेन । नेता र कार्यकर्ताबीचको दूरी झन्–झन् फराकिलो हुँदै गयो । कार्यकर्ता प्रशिक्षण हात्तीको देखाउने दाँत मात्र भए । पार्टी प्रशिक्षण विभाग ठूलो भुँडी भएको मान्छेले ढाड अड्याएर घुम्ने मेचमा बस्नका लागि मात्र सावित भयो । काङ्ग्रेसका यावत् गतिविधि औपचारिकतामा सीमित रहे । उपलब्धिका लागि नभई देखाउन र दोष मेट्नका लागि पार्टी क्रियाकलाप सञ्चालन भए ।

परिवर्तित परिवेशमा काङ्ग्रेसका मार्गनिर्देशक सिद्धान्तहरू, जस्तो कि राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पनि पुन: परिभाषित गर्न आवश्यक छ । संविधान कार्यान्वयन गर्दै अब मुलुकमा आर्थिक विकास र समृद्धिको युग प्रारम्भ गर्ने नेतृत्व काङ्ग्रेसले लिन सक्नुपर्छ । त्यसका लागि मधेसी र जनजातिको आवाजलाई समुचित सम्बोधन गर्दै राष्ट्रियता, सीमाङ्कन, नागरिकतालगायतका मुद्दामा आवश्यक परे संविधान संशोधन गरेरै भए पनि असहमत पक्षका माग सम्बोधन गरी समस्याको समाधान गर्ने नेतृत्वदायी भूमिका काङ्ग्रेसले निर्वाह गर्नुपर्छ । हरसमय सत्ताप्रतिको मात्र चिन्तन गर्ने र सोझो वा घुमाउरो जुनसुकै पाटोबाट पनि सत्ता प्राप्त गरी सत्ता र भत्तामा मात्र लिप्त रहने प्रवृत्तिको अन्त गर्दै नयाँ सोच, नयाँ विचार, नयाँ पुस्तासहितको नयाँ नेतृत्व, नयाँ कार्यशैलीका साथ अघि बढ्दै पार्टीलाई पुनर्जीवन प्रदान गर्न लागिपर्नु आज हरकाङ्ग्रेसीको प्रमुख दायित्व बनेको छ ।

– बलराम कोइराला, नीलकण्ठ–८, धादिङ