‘कांग्रेस मरिसकेको छैन !’

‘कांग्रेस मरिसकेको छैन !’


यादव शर्मा

वैचारिक एवम् दार्शनिक र व्यावहारिक दृष्टिले समेत ठीक विपरीत धु्रवमा उभिएको माओवादीसँगको सत्ता गठबन्धन कांग्रेसका लागि लाभकारी या हानिकारक हुनसक्छ, यसको पुष्टि भविष्यमा हुँदै गर्ला । प्रचण्डले भारत भ्रमणका क्रममा संयुक्त वक्तव्यमार्फत जुन सन्देश दिएका छन्, त्यसलाई लिएर माओवादी पार्टीभित्र एमालेबाट र जनसाधारणका तर्फबाट समेत अनेक प्रतिक्रिया प्रकट भइरहेका छन्, तर कांग्रेस मौन छ, यति मौन छ कि मानौँ देशमा कहीँ कतै केही भइरहेकै छैन ।

कुनै पनि विषयमा विचार–धारणा नहुनु आफैँमा एउटा विचार हो कि होइन भन्ने प्रश्नको जवाफमा मतैक्य नहुन सक्छ । विद्वान्हरू विचारबाट प्रभावित हुन्छन्, नयाँनयाँ विचार निर्माण गर्छन् र विचारविहीनतालाई ‘शून्य’ मान्छन् । सनातनीहरूको शास्त्रीय परम्पराले मौनतालाई पनि एउटा निश्चित विचार–पक्षको रूपमा ग्रहण गरेको छ । ‘मौनम सम्मति लक्षणम्’ भन्ने उक्तिले तटस्थता या मौनताको बेग्लै अस्तित्वलाई स्वीकार गरेको छैन । आँखा अघिल्तिर या कानका दायाँबायाँ जे भइरहेका छन् त्यसबारे कुनै प्रतिक्रिया नजनाउनुलाई निरन्तरतामा सम्मतिका रूपमा बुझ्ने गरिन्छ । प्रतिक्रियाविहीन बन्न या त व्यक्ति एन्लाइटेड (निर्वाण प्राप्त अर्थात् मुक्त) हुनुपर्छ या प्राणविहीन । सामान्यतः जीवन छ भने बाह्य क्रियाप्रति उसले प्रतिक्रिया जनाएकै हुन्छ, बम–गोलीको आवाज र सुमधुर सङ्गीतको धुनमा जनाइने प्रतिक्रिया एकै प्रकारको नहुनसक्छ, तर प्रतिक्रियाचाहिँ अवश्य प्रकट हुन्छ । यदि क्रियाप्रतिको ‘रेस्पन्स’ या प्रतिक्रिया भएन भने व्यक्तिले प्राण त्याग्यो, व्यक्ति बेहोसीको अवस्थामा पुग्यो, व्यक्ति ‘एन्लाइटेड’ भयो या व्यक्ति निर्जीव पत्थरमा रूपान्तरित भयो भनेर बुझ्नुपर्छ ।

विगत केही वर्षयता नेपाली कांग्रेस जस्तो भूमिकामा देखापर्दै छ यसले कांग्रेस सामान्य अवस्थामा रहेको सङ्केत गर्दैन । काङ्ग्रेस ‘एन्लाइटेड’ हुने मार्गमा लागेकै छैन, त्यसैले उसलाई ‘एन्लाइट्मेन्ट’ प्राप्त भएको ठानिरहनुपर्दैन । कांग्रेस राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कैयन विषयमा आफ्नो स्वतन्त्र र मौलिक धारणा प्रकट गर्दैन, त्यसैले यो सामान्य अवस्थामा रहेको महसुस गर्न सकिन्न । तर, सत्ताको वरिपरि हात–पाउ चलाउँदै गरेको अवस्थामा यदाकदा कांग्रेसलाई भेटिन्छ, त्यसैले यो पूरै मरिसक्यो भन्न मिल्ने अवस्था पनि रहेन ।

कुनै बेला कांग्रेसमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता नेता थिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई तिनले आदर्श, विचार र कार्यक्रमको रूपमा अवलम्बन गरेका थिए । बहुलवादमा आधारित संसदीय प्रजातन्त्रको पक्षमा दृढतापूर्वक उभिएको कांग्रेस पार्टी पञ्च र कम्युनिस्टहरूको भीडमा ‘डिस्टिङ्ट’ अर्थात् विशिष्ट देखिन्थ्यो । बहुदलीय प्रजातन्त्र नास गर्ने पञ्चहरू तथा भविष्यमा प्रजातन्त्र र राष्ट्रियताको निम्ति सर्वाधिक खतरनाक चुनौती बन्न सक्ने कम्युनिस्टका बीचमा दृढतापूर्वक उभिन कांग्रेसले जनप्रतिनिधिमूलक राजनीतिक प्रणालीलाई आफ्नो धरातल बनाएको थियो । जनमतका आधारमा सत्तापक्षी र प्रतिपक्षी भूमिका निर्धारित हुने संसदीय प्रजातन्त्रका पक्षमा पञ्च र कम्युनिस्ट थिएनन्, एउटा कांग्रेसले मात्र उक्त प्रणालीका पक्षमा आफूलाई खडा गरेकोले ऊ भीडमा बेग्लै देखिन्थ्यो । बहुसङ्ख्यक जनताको भावनालाई कदर गर्ने पक्षमा भएकोले कांग्रेसबाट धर्मनिरपेक्षताको वकालत पनि कहिल्यै भएन । राष्ट्रियताको संरक्षणमा राजसंस्थाको भूमिका विशिष्ट र व्यापक हुनसक्ने विश्वासका आधारमा कांग्रेसले राजाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दा पनि गणतन्त्रको वकालत गरेन । एकात्मक अभ्यासमा रमाइरहेका जनताबीच फाटो ल्याउन कांग्रेसले चाहेन, त्यसैले ऊ सङ्घीयताको पक्षमा कहिल्यै गएन, बरु विकेन्द्रीकरणको नीतिलाई कांग्रेसले आत्मसात् गरेको थियो ।

पिछडिएको समुदायको मूल प्रवाहीकरणकै लागि कांग्रेसले समाजवादी कार्यक्रमलाई स्वीकार गरेको हो । आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेको समुदायलाई अगाडि ल्याउनकै लागि कांग्रेसले समाजवादी अवधारणा अवलम्बन गरेको थियो । तर, यतिबेला कांग्रेसको विचारमा आधारित सबै अवयव ध्वस्त पारिएका छन् । कांग्रेस आफैँले आफ्नो विचारको मौलिक इतिहास मेटिसकेको छ, भविष्यप्रति उसको आफ्नै कुनै मौलिक सपना भएको महसुस गर्न पाइएको छैन । वर्तमानमा कांग्रेस किंकर्तव्यविमुढ देखिएको छ, इस्युहरूमा ऊ प्रतिक्रियाविहीन या धारणाविहीन चरित्रमा देखिँदै छ । जुन राजनीतिक दलले आफ्नो इतिहास तथा विचारमार्ग मेटेको छ, जसले भविष्यप्रतिको कुनै सपना साँचेको छैन र वर्तमानमा प्रतिक्रियाविहीन चरित्र दर्शाउँदै छ, त्यसको आफ्नै भविष्य कसरी सुरक्षित होला भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । कम्युनिस्ट र कुन्नि क–कसका एजेण्डामा रमाइरहेको कांग्रेस प्रजातन्त्रमा सङ्कट उत्पन्न हुँदा पनि मौन रहनु र राष्ट्रियतासँग सम्बन्धित विषयमा बहस प्रारम्भ हुँदा पनि मौन रहनुले कांग्रेससँगै मुलुक विघटनको खतराका सङ्केतहरू देखाएको छ ।

nepali-congress

वैचारिक एवम् दार्शनिक र व्यावहारिक दृष्टिले समेत ठीक विपरीत धु्रवमा उभिएको माओवादीसँगको सत्ता गठबन्धन कांग्रेसका लागि लाभकारी या हानिकारक हुनसक्छ, यसको पुष्टि भविष्यमा हुँदै गर्ला । प्रचण्डले भारत भ्रमणका क्रममा संयुक्त वक्तव्यमार्फत जुन सन्देश दिएका छन्, त्यसलाई लिएर माओवादी पार्टीभित्र एमालेबाट र जनसाधारणका तर्फबाट समेत अनेक प्रतिक्रिया प्रकट भइरहेका छन्, तर कांग्रेस मौन छ, यति मौन छ कि मानौँ देशमा कहीँ कतै केही भइरहेकै छैन । एकथरीले प्रचण्डबाट गम्भीर राष्ट्रघात भएको भनिरहेका छन्, प्रचण्डले ‘महान् उपलब्धिमूलक’ भन्ने दाबी गरिरहेका छन्, दुई पक्षको बेग्लाबेग्लै दाबीले एकप्रकारको अन्योल र आशङ्का पैदा गरिरहेको छ । छिमेकी मित्रराष्ट्र भारतप्रति जनस्तरमा असन्तोषको भावना बढ्दै छ, तैपनि कांग्रेस मौन छ । सुरक्षा परिषद्मा जर्मनी र जापानलाई छोडेर भारतलाई मतदान गर्नु उचित र जायज हो कि होइन ? संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय इस्युहरूमा नेपाल–भारत समान धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुने व्यहोरा उपयुक्त हो कि होइन ? भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा दुवै देशका संयुक्त संयन्त्रहरूले अनुगमन गर्ने समझदारी जायज हो कि होइन ? र, संविधानको अन्तर्वस्तुमा भारतको सुझाव अपेक्षित हुनु र त्यसलाई प्रधानमन्त्रीहरूको संयुक्त वक्तव्यमा समावेश गरिनु उपयुक्त हो या होइन भन्नेजस्ता प्रश्नहरूमा कांग्रेसको मौनताको अर्थ के हो ?

असहमति या सहमति दुवै जनाउन नसकिने मुद्दा राजनीतिमा हुँदै हुँदैनन् । देशकेन्द्रित राजनीतिबाट मुक्त भई आत्मकेन्द्रित या सत्ताकेन्द्रित राजनीतिप्रतिको समर्पणले मानिसलाई पथभ्रष्ट मात्र बनाउँदैन, सत्य बोल्नबाट पनि विचलित तुल्याउँछ । काङ्ग्रेसको रूखमा अलिकति पनि ‘हरियो’ बाँकी छ भने हरियाली जगाउन अब निकै विलम्व भइसकेको छ ।