कर्मचारीका आ–आफ्नै म्यानपावर कम्पनी

कर्मचारीका आ–आफ्नै म्यानपावर कम्पनी


man

वैदेशिक रोजगार विभागका अधिकांश कर्मचारीको विभिन्न म्यानपावर कम्पनीमा सेयर रहेको बुझिएको छ । सम्बद्ध व्यवसायीका अनुसार वैदेशिक रोजगार विभागमा पदस्थापन भएर अन्यत्रै सरुवा भएका कर्मचारीको ठूलो सङ्ख्या म्यानपावर कम्पनीसँग आबद्ध रहेको छ । राष्ट्रसेवक कर्मचारी नै यसरी म्यानपावर कम्पनीसँग मिलेर मानव तस्करीमा लागेका कारण दैनिक हजारौँको सङ्ख्यामा सर्वसाधारण नेपाली विदेशी भूमिमा अलपत्र पर्नुपरेको एक तथ्याङ्कले देखाएको छ ।

एक दशकभन्दा लामो समय वैदेशिक रोजगार विभागको कम्प्युटर अपरेटर पदमा कार्यररत झपेन्द्र खरेलको वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको भेरी–कर्णाली म्यानपावरमा सेयर रहेको छ । कल्पना राउत सञ्चालक रहेको उक्त म्यानपावर कम्पनी विगतदेखि नै विवादित रहँदै आएको पीडितहरू बताउँछन् । वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई दिनदहाडै ठगी गरी अलपत्र पार्ने भेरी–कर्णाली इन्टरनेसनल इजाजत नं. ९१४ की सञ्चालिका राउत र विभागको काठमाडौं कार्यालयमा कम्प्युटर अपरेटरमा कार्यरत झपेन्द्र खरेलले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणसँग खाडीलगायत मकाउ पठाइदिने भन्दै करोडौँ ठगी गरेपछि पीडितले विभागमा उजुरी दर्ता गराएका थिए । सरकारी कर्मचारीकै आडमा भइरहेको ठगीलाई विभागका महानिर्देशक शत्रुधन पुडासैनीले रोक्का राखिदिएपछि कम्प्युटर अपरेटर खरेल पुर्पुरोमा हात लगाएर बसेका छन् ।

सञ्चालिका राउत र खरेलको मिलेमतोमा वैदेशिक रोजगारीको अलावा प्रहरी र सेनामा भर्ना गरिदिने, शान्तिसेनामा पठाइदिने नाममा अवैध रकम असुल्ने कार्य भइरहे पनि सम्बन्धित निकायले भने छानबिन गर्न सकेको छैन । खरेल अहिले वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयको व्यक्तिगत शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । अपरेटर खरेलले म्यानपावर कम्पनीले निकालेका व्यक्तिगत भिजालाई श्रमस्वीकृति दिलाएर दैनिक लाखौँ लुट मच्चाएको विभाग स्रोतले जानकारी दिएको छ ।

म्यानपावर कम्पनीले संस्थागत रूपमा एक लाख पचास हजारदेखि १२ लाखसम्म लिएर खाडीलगायतका मुलुकमा नेपाली कामदार पठाउँदै आएका छन् । संस्थागत रूपमा रकम असुलेर व्यक्तिगत श्रमस्वीकृति निकाल्ने र जिम्मेवारीबाट पन्छिएर सर्वसाधारणलाई विदेशी भूमिमा अलपत्र पार्ने कामको जिम्मा खरेलले लिएका छन् । म्यानपावर व्यवसायीका श्रमप्रतिनिधिसँगको मिलेमतोमा खरेलले दैनिक सयौँको सङ्ख्यामा यसरी श्रम स्वीकृति दिन बाध्य पार्ने गरेको विभाग स्रोतले जानकारी दिएको छ । खरेलको आचरणले गर्दा विभागको व्यक्तिगत शाखामा मनमुटावसमेत हुन थालेको छ । यसभन्दा पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले विभागका अर्का कम्प्युटर अपरेटर सुशील शाक्यलाई रङ्गेहात पक्राउ गरेको थियो ।