‘कताको फूल कताको अक्षता, निल्नु न ओकल्नु मगन्ते सङ्घीयता !’

‘कताको फूल कताको अक्षता, निल्नु न ओकल्नु मगन्ते सङ्घीयता !’


dipendra-pandey

– दीपेन्द्र पाण्डे

गरिबको दशैँ कसरी सुरु हुन्छ कसरी समाप्त हुन्छ, गरिबले पनि शब्दमा वर्णन गर्न नसक्ने महँगीमा गरिब नेपालीले दशैँ मनाए भन्न दशैँ सुरु गर्ने र समाप्त गर्ने क्यालेन्डरले बाहेक अरू कसले बुझ्ला र ? त्यसमाथि दशैँैमा लगाइने टीकामा दिइने दक्षिणाले जति धेरै पिरोल्छ त्यति नै पटक–पटक क्यालेन्डर हेर्दै दशैँैलाई बिदा गर्न हतार गर्ने जमात यो महँगीमा झन्झन् बढेको तीतो यथार्थ हामीसामु छँदै छ । यसपालिको दशैँैमा गरिबीको मारमा परेको एक पीडित परिवारको घटना पस्कने अनुमति माग्दछु । दशमीको पर्सिपल्ट घरमा पाहुना थुप्रिसकेपछि घरकै मूली मान्छे दक्षिणाको अभावले गर्दा गोरु र हलो लिएर बारी जोत्न हिँड्न तयारी गरिरहँदा श्रीमतीले श्रीमान्लाई भन्छिन्, ‘होइन, के गर्नुभएको ? घरभरि पाहुना टीका लाउन बसेका छन्, हजुर भने गोरु र हलो लिएर हिँड्ने सुरसार गर्दै हुनुहुन्छ ।’ अभावले पिल्सिएका घरबूढा बूढीलाई भन्छन्, ‘छोड्दे बूढी, कताको फूल कताको अक्षता ! अब हिँडेँ बारी जोत्न म त ।’

जबसम्म हाम्रो समाजले कर्मलाई विश्वास ग¥यो तब भाग्य र आशीर्वादको स्थान पुछारमा थियो । जबजब आशीर्वादले हाम्रो जीवनको अभिन्न अङ्ग बन्न सफल भयो सुनका मुद्रामा कारोबार गरिने मुलुक क्रमशः चाँदी, तामा, पित्तल हुँदै सिलबरमा आइपुगेको हामीले देखेकै हो, भोगेकै हो । हाम्रो देश किन गरिब भयो वा बनाइयो भन्ने कुरामा बहस चलाउने काम कम्तीमा पनि पङ्क्तिकारले अहिले सुरु गर्दैन । यहाँ समाज विकासक्रम सँगसँगै हाम्रो समाज र दिमागले ग्रहण गरेको सांस्कृतिक परम्पराको आडमा गराइएको आशीर्वादको कारण हामी कसरी शासित र शोसित भयौँ भन्नैपर्ने अवस्था हामीलाई आइलागेको छ । कुनै समय जनताले जन्माउने राजालाई केही टाठाबाठाले षडयन्त्रपूर्वक जन्मजात राजा बनाउने वा जन्माउने परम्पराको कुटिल खेलले सफलता पाउनेबित्तिकै जनताको सेवक राजा होइन राजाको सेवक जनता हुन जानुले आशीर्वादले हाम्रो राजनीतिमा जरा गाड्यो भन्दा टाउको दुखाउनुपर्ने कारण छैन । जब कर्मलाई भाग्यमा रूपान्तरण गर्ने खेलले महत्व पायो तब परम्पराको आडमा आशीर्वादमार्फत मानिसले एक–अर्कामा शासन गर्न सुरु गरेको पुरानो अस्त्र पछि सामन्तवादको मूल अस्त्र हुन पुगेको हाम्रो इतिहासलाई गहिरो अध्ययन गर्दा पत्ता लाग्छ ।

मानिस किन आशीर्वादको भोको हुन्छ ? जवाफ खोज्दै जाने हो भने आफ्नै कर्ममा कम अनि भाग्यमा बढी विश्वास गर्नाले हो भन्न सकिन्छ । हाम्रो समाज कर्ममा भन्दा आशीर्वादमा बढी विश्वास गर्न बाध्य हुनुको कारण सामन्ती सत्ताले फैलाएको भ्रमको सिकार हुनाले हो भन्ने समाजले भोग्दै आएको घटनाहरूबाट पुष्टि हुन्छ । जन्मँदै राजा हुने परम्पराको विकास जन्मँदै जर्नेल हुने राणाशाही व्यवस्थासम्मको ठाडो नक्कल हरघरघरमा आशीर्वादमार्फत पुगेको आशीर्वाद लिने र दिने परम्परामार्फत बिनायोगदान अनेक मानपदवी लिन शिर झुकाउने हाम्रो सोचले के मात्र स्वीकार गरेनौँ ? नमुनाको रूपमा थरी, डिठ्ठा, बिचारीको उत्कृष्ट रूप बडाहाकिमसम्म आशीर्वादले प्राप्त गर्ने चलनलाई केही समय वकिल, इन्जिनियर, डाक्टर भएकाले धुमिल बनाएको हो । तर, सुब्बा, हाकिम, सांसद र मन्त्री पनि आशीर्वादकै भरमा प्राप्त हुने परम्पराले जरो गाड्दा देश पनि आशीर्वादकै भरोसामा चल्न बाध्य भएको हामीले बुझेकै हो । जब समाज र देश नै आशीर्वादमा चल्न थाल्यो हामी झन्झन् गरिब हुँदै जाँदा आशीर्वाद देशबाट विदेशतिर लाग्दा डीभी परेस्, विदेश गएस्, पीआर पाएस्, ग्रिनकार्ड पाएस्, ह्वाइटकार्ड पाएस्सम्म हाम्रो घरआँगन आइपुगेको कुरामा कसको विमति होला र ? समाजले नजानिँदो ढङ्गले जबर्जस्ती वादलाई स्वीकार गर्दैगर्दा आशीर्वादले पनि फड्को मार्दै कतैकतै डाक्टर केसी भएस् भन्नसम्म भ्याएको आशीर्वादभित्र लुकेको सामाजिक विकृति भनेको बिनापरीक्षण अथाह पैसा कमाएस् भन्नुले हामी हाम्रो मनमष्तिष्कलाई कसरी बर्बादीतिर धकेल्दै छौँ भन्ने चिन्तन गर्ने दिमागको कमी देशले भोग्दै छ भन्ने प्रस्ट झल्किन्छ ।

हाम्रो समाज आशीर्वादमा मात्र होइन हरेक राजनीतिक परिवर्तनमा समेत भाग्य र विदेशीको मुख ताक्छ भन्ने कुरा नेपालमा हरेक दशकमा हुने राजनीतिक उथलपुथल हाम्रो आवश्यकताभन्दा बढी अरूकै रुचिमा भर पर्ने गरेको हरेक आन्दोलनपछि प्राप्त उपलब्धि हेर्दा थाहा लाग्छ । कर्मलाई स्थापित गर्नसमेत आशीर्वादकै सहारा लिने कार्यले मानिसलाई छिटोभन्दा छिटो उपलब्धि चाहिने हुँदा व्यक्तिवादी सोचको एक अभिन्न अङ्ग नेपाली राजनीतिक नेतृत्वका लागि भारतीय आशीर्वाद हुन जाँदा आफ्ना स्वदेशी जनता र मान्यवर (मातापिता)बाट फुत्कँदै उनीहरूको इच्छाअनुसार प्राप्त फल अङ्गीकृत नागरिकताको रोग, इसाईको रोग, जातीयताको रोग, धर्मको रोग साथै सङ्घीयताको रोगी आशीर्वादले हाम्रो परम्परा, संस्कृति, पहिचानलाई टिकाउनसमेत तिनै पाखण्डीको शरणमा पुग्न बाध्य बनाउने राजनीतिक नेताको जीवन पनि उनै प्रभुको कृपामा टिकेको पुष्पकमलको निधार दशैँैमा खाली हुनुले प्रमाणित गरिसकेकै छ । सबै कुरा माग्ने बानीले हाम्रो आशीर्वाद पनि आजभोलि मूर्छित हुन जाँदा देश कर्मवादबाट विमुख हुँदै भारतवादमा पु¥याउने अन्तिम कोसिस नेपाली सत्ताले गर्दै छ ।

घरमा मानो हुनेले पाथी बाँड्छु भन्दै विदेशीको इसारामा उनीहरूकै निगाहमा बाँच्न राजी हुँदै संविधानमार्फत स्थापित गरिएको संसारकै झगडिया र महँगो व्यवस्था सङ्घीयता हाम्रो देशले आशीर्वादमा प्राप्त गर्नुको मतलब फेरि पनि कर्ममा हैन आशीर्वादमै बाँच्न राजी हुनु हो भन्नको निम्ति पुष्पकमलले बाबा रामदेवको टीको थापेका हुन् त ? सोच्नुपर्ने विषय हाम्रासामु उपस्थित भएको छ । सन् १८३० मा हामीजस्तै युनिटरी देश बेल्जियम केवल भाषाको कारणले राष्ट्रको पुनर्संरचना गर्दै पाँचपटक संविधानको संशोधन गर्न बाध्य गराइएको मितिहरू १९७०, १९८०, १९८८–८९, १९९३ र २००१ ले पनि सङ्घीयतामार्फत स्थिरता दिन नसकेको तीतो यथार्थ अध्ययन नगर्ने नेपाली नेताको राजनीतिक स्तर देख्दा आशीर्वाद त के श्राप दिन पनि श्रापकै अपमान हुने देखिन्छ । करिब ३०५२८ वर्गकिलोमिटरको सानो देश साथै करिब एक करोड १२ लाख जनतालाई स्तरीय जीवनको साथ पाल्ने आधार उनीहरूको प्रतिव्यक्ति आय करिब ४० हजार डलरभन्दा माथि हुँदा पनि तीनवटा क्षेत्र र दशवटा प्रोभिन्समा ५० देखि ९० जनाको काउन्सिल चलाउन र ५८९ कम्युनको खर्च धान्न धौ–धौ परेको सङ्केत जनतालाई दिँदै आएको सामाजिक सुरक्षाको कटौतीले पुष्टि गरिरहेकै छन् । हाम्रो गरिब देशले आशीर्वादमा पाएको सङ्घीयताले जनतालाई के दिन्छ अब पनि भन्नुपर्छ र ?

बहुधार्मिक, बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, भारतवेष्टित मुलुक नेपाल, हरेक घटनामा भारतीयको मुख ताक्ने दलाल नेपाली सत्ता, भिखारी आर्थिक अवस्था, अनावश्यक राजनीतिक मुद्दालगायत विदेशी स्वार्थले जेलिएको संविधान बोकेर उनीहरूकै आशीर्वाद र भाग्यमा मुलुक सग्लो बन्ने कुनै आधार देखिँदैन । कुनै समय सुनको मुद्राको कारोबार गर्ने देश नेपाल पुनः त्यही समयमा फर्किने अवसर प्राप्त गर्न हाम्रो आशीर्वादलाई कर्ममा आधारित गर्दै सङ्घीयतालाई बिदाइ गर्दै अगाडि नबढ्ने हो भने हाम्रो स्थिति यस्तै हुनेछ ।