ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्यको नयाँ आयाम

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्यको नयाँ आयाम


Indra Baral

– इन्द्रबहादुर बराल

धार्मिक एवम् पर्यटकीय दृष्टिकोणबाट काठमाडौं उपत्यकाकै अत्यन्त महत्त्व राख्ने नयाँ गन्तव्य बन्न पुगेको छ यतिबेला चन्द्रागिरी डाँडो । कलंकीदेखि पश्चिममा रहेको चन्द्रागिरी पहाडको काँठमा अवस्थित मच्छेनारायणदेखि मातातीर्थ हुँदै थानकोटसम्मको भूभाग ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले उल्लेख्य सम्भावना बोकेर पनि कम चर्चामा आउने गरेको थियो । यस क्षेत्रका उक्त ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै हालै निर्माण भएको चन्द्रागिरी हिल्स प्रालिले केवलकार सञ्चालनमा ल्याएसँगै अर्को धार्मिक एवम् पर्यटकीय गन्तव्य बनेको छ चन्द्रागिरी डाँडो ।

चन्द्रागिरी डाँडोमा बसेर नेपाल एकीकरणका महानायक बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहले बनाएको योजनामुताबिक भएको एकीकरणका कारण यसको ऐतिहासिक महत्त्व कति रहेछ भन्ने प्रस्ट हुन्छ । यही चन्द्रागिरी रेञ्जको तल्लो मानवबस्तीमा मच्छेनारायणको अर्को त्यत्तिकै महत्वपूर्ण धार्मिक स्थल अवस्थित छ । त्यसैगरी लोहकोटमा रहेको प्रसिद्ध विष्णुदेवी मन्दिर पनि विशेष धार्मिक गन्तव्य बनेको इतिहास छँदै छ । यस्तै साविक महादेवस्थान गाविसस्थित मातातीर्थ कुण्डको त त्यति चर्चा गरिराख्नुपर्ने कुरै भएन । वर्षेनी मातातीर्थ औँसीका दिन सबैजसो धार्मिक आस्थाका मानिस, जसले आमा गुमाएका छन्, दिवंगत आमाको मुख हेर्ने लाखौँ श्रद्धालुको भीडले धार्मिक आस्थाको केन्द्र मातातीर्थको डाँडै छोपिएको हुन्छ ।

प्रसिद्ध सामाजशास्त्री डोरबहादुर विष्टले त आजभन्दा ६ हजार वर्षभन्दा पहिले गोपालवंशी खसहरूले मातातीर्थलाई केन्द्र बनाएर राज्य गरेका हुनाले यो अति महत्त्वपूर्ण ऐतिहासिक स्थलको रूपमा चित्रण गरेका छन् । यद्यपि गोपालवंशी खसहरूले राज्य गरेको स्थानको त्यति धेरै अध्ययन–अनुसन्धान तथा तथ्यहरूको खोजी हुन अझै बाँकी नै छ जस्तो देखिन्छ । ऐतिहासिक एवम् धार्मिक स्थलको थप महत्त्व उजागर गर्न भर्खरै सञ्चालनमा आएको केवलकार सेवाले बल पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

थानकोट, महादेवस्थान, मातातीर्थ र चित्लाङ तथा फाखेल गरी मकवानपुरका दुई र काठमाडौं जिल्लाका तीन गाविसको संगमस्थल चन्द्रागिरीको चुचुरोमा अहिले आएर केवलकारमार्फत १०–८ मिनेटमै पुग्न सकिन्छ । उक्त चन्द्रागिरीको चुचुरोलाई स्थानीय नेवा समुदायले गंगचुँ अर्थात् भालेको सिउर भन्ने गरेको पाइन्छ । सो चुचुरो भालेको सिउरजस्तो देखिएकाले उक्त चुचुरोमा भालेश्वर महादेवको स्थापना गरी हरेक वर्ष वैशाख पूर्णिमाको दिन पूजाआर्चना गर्ने प्रचलन प्राचीनकालदेखि चलिआएको छ । वैशाख पूर्णिमाका दिन चन्द्रागिरीको चुचुरोमा निकै ठूलो धार्मिक मेला लाग्ने गरेको छ । पोखराबाट हेर्दा मनै लोभ्याउने हिम शृङ्खलामध्ये माछापुच्छ्रे हिमालको नामाकरण भएजस्तै चन्द्रागिरी चुचुरोको पनि गंगचुँ अर्थात् भालेको सिउर नाम रहनु समान देखिन्छन् । माछाको पुच्छरजस्तो देखिँदा उक्त हिमालको नाम माछापुच्छ्रे रहेजस्तै चन्द्रागिरी चुचुरोको नाम नेवारी भाषामा गंगचुँ रहेको प्रस्ट हुन्छ ।

यसरी यस भेगका ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक सम्पदाको भरपूर फाइदा लिँदै स्थापना गरिएको चन्द्रागिरी हिल्स प्रालिले केवलकार नै निर्माण गरी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको वन क्षेत्रको करिब १००० रोपनी ४० वर्षका लागि भाडामा लिई उक्त कम्पनीले केवलकार सञ्चालन गरेको बुझिन्छ । चन्द्रागिरी चुचुरोमा रहेको भालेश्वर महादेवको पुरानो स्वरूपमा परिवर्तन गरी ऐतिहासिक एवम् पुरातात्विक हिसाबले विशाल शिवमन्दिर निर्माण भएको छ । हिन्दू नारीहरूको शिव भगवान्प्रतिको अगाध आस्था र विश्वासको केन्द्रलाई ध्यान राख्न निर्माण भएको भालेश्वर महादेवको मन्दिरको यही ०७३ साल साउन २४ गते सोमबारका दिन प्राणप्रतिष्ठा सम्पन्न भएको छ । सो अवसरमा चन्द्रागिरी हिल्स प्रा.लि.ले नि:शुल्क टिकटमा तीर्थालु भक्तजनलाई केवलकारको सुविधा उपलब्ध गराएपछि त त्यस स्थानको विशेष चर्चा सुरु भएको छ । यस मानेमा चर्चा भएको छ कि त्यस स्थानमा पुगेपछि वास्तवमै बेग्लै आनन्दको अनुभूति प्राप्त हुँदो रहेछ । कहीँ गएर पनि शान्त र आनन्द अनुभव नगर्ने जोकोही पनि उक्त भालेश्वर महादेव मन्दिर परिसर पुगेपछि शान्त र आनन्दको अनुभूति गर्छन् भन्दा अतिशयोक्ति हुँदैन ।

चन्द्रागिरी पहाड

सीमित क्षेत्रका मानिसले मात्रै धार्मिक गन्तव्यको रूपमा लिँदै आएको अवस्थामा केवलकारको माध्यमबाट सजिलै उच्च शिखरमा पुग्न सकिने भएपछि अब चन्द्रागिरीको चुचुरोमा रहेको भालेश्वर महादेवको मन्दिर र त्यहाँ पुगेपछि मनै लोभ्याउने दृश्यले पर्यटकीय गन्तव्यको नयाँ ढोका खोलिदिएको छ । काठमाडौं उपत्यमा हलसम्म रहेका पर्यटकीय क्षेत्रमध्ये चन्द्रागिरीको डाँडा सम्भवत: पर्यटकको लागि पछिल्लो गन्तव्य हुनेछ । उच्च शिखर वा अग्ला–अग्ला स्थानमा पुग्न र सो स्थानबाट टाढा–टाढा हेर्न अनि मनलाई आनन्दित र शान्त बनाउन कसलाई मन हुँदैन र ? पहिले–पहिले पर्यटक भन्नेबित्तिकै विदेशी मात्रै भन्ने लाग्दथ्यो, तर आजभोलि नेपालमा आन्तरिक पर्यटक ह्वात्तै बढेको सन्दर्भमा चन्द्रागिरी हिल्सको प्रयत्न प्रशंनीय छ । यद्यपि कार्य प्रारम्भ गर्ने समयमा स्थानीयबाट वन विनाश हुने भनी केही विरोधका स्वरहरू नआएका होइनन्, तर बिस्तारै बुझ्दै जाँदा त्यस्ता विरोधका स्वर पनि मत्थरै हुँदै गए । परिणामस्वरूप केवलकार निर्माणदेखि मन्दिर, भ्यूटावर, डकुमेन्ट्री हललगायत पाँचतारे होटेल निर्माण कार्यमा समेत कुनै बाधा–विरोध भएन र कार्य सुचारु रहेको छ ।

मानिसलाई फुर्सदको समय बिताउने उपयुक्त स्थानको अभावमा कुलततर्फ लहसिएका धेरै उदाहरण छन् । यस्तो परिवेशमा फुर्सदको समय सदुपयोग गर्ने नजिकैको गन्तव्यले निश्चय पनि उत्साहित बनाएकै हुनुपर्छ । हुन त त्यस्ता गन्तव्य चाहे ऐतिहासिक, धार्मिक एवम पर्यटकीय किन नहोस् राज्यले बनाएर न्यूनतम पैसा लिएर गर्न सकेको भए झनै राम्रो हुने थियो । तर, त्यस कार्यमा राज्य चुकेको वा राज्यको प्राथमिकता अहिलेको वर्तमानमा अरू नै भएकोले उक्त कार्य हुन सकेको पाइँदैन । निजी क्षेत्रले नै किन नहोस् नयाँ–नयाँ ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्य खोलिदिएकोमा काठमाडौं उपत्यकाले यसको भरपूर लाभ लिने निश्चित देखिन्छ ।

एकपटक काठमाडौं आउने जोकोहीले पनि पशुपतिनाथको दर्शन गरेकै हुन्छन् । त्यस्तै अब चन्द्रागिरी केवलकारको यात्रा नगर्ने पनि सायद कोही नहोलान् । यसर्थ, निजी स्वार्थ र आयआर्जनकै लागि निर्माण गरिएको किन नहोस्, तर त्यसले समग्र समाजको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय मनहरूलाई तान्न सफल भएको देखिन्छ । त्यसकारण चन्द्रागिरी हिल्स प्रालिका सञ्चालकहरूले मूलत: आन्तरिक पर्यटनलाई समेत ध्यान राखी काम गर्नुपर्दछ । केवलकारको टिकटदर निर्धारण गर्दा साबिक मातातीर्थ, महादेवस्थान र थानकोट अनि मकवानपुरका फाखेल र चित्लाङ गाविससँग परामर्श गरी विशेष सहुलियतमा केवलकारको यात्रा गर्न सक्ने स्थिति निर्माण गर्न सके कम्पनीको दीर्घकालीन हित हुनेछ । त्यसो हुन सके चन्द्रागिरी हिल्स प्रा.लि. र स्थानीय बासिन्दाबीच प्रगाढ सम्बन्ध हुन गई दुवै पक्षको हित र चाहना पूरा हुने पक्का छ ।