एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार : को–को परे उत्कृट पाँचमा ?

एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार : को–को परे उत्कृट पाँचमा ?


nfdc-header

पुरस्कार वितरणको मिति टुङ्गो लागिनसके पनि नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो । ‘क्लासिक’ र ‘प्रेमगीत’ दुई चलचित्र समान ११ विधामा मनोनीत भएका छन् । त्यस्तै ‘पशुपतिप्रसाद’ र ‘वडा नम्बर ६’ समान आठ–आठ विधामा मनोनीत भएका छन् भने ‘कबड्डी कबड्डी’ सात विधामा मनोनयन भएको छ ।

यस्तै, ‘हीरा सर्वोत्कृष्ट चलचित्र’मा सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ‘क्लासिक’, ब्ल्याक हर्ष पिक्चर्स र अ सिनेमा आर्ट प्रोडक्सनको ‘कबड्डी कबड्डी’, टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्सनको ‘पशुपतिप्रसाद’, आशुसेन फिल्मस् प्रोडक्सनको ‘प्रेमगीत’ र आमा सरस्वती गीतादेवी फिल्मस्को ‘वडा नम्बर ६’ छन् । ‘प्रकाश सर्वोत्कृष्ट निर्देशक’अन्तर्गत ‘क्लासिक’का दिनेश राउत, ‘पशुपतिप्रसाद’का दीपेन्द्र के खनाल, ‘कबड्डी कबड्डी’का रामबाबु गुरुङ, ‘प्रेमगीत’का सुदर्शन थापा र ‘वडा नम्बर ६’का उज्ज्वल घिमिरे छन् । त्यसैगरी ‘शिव सर्वोत्कृष्ट अभिनेता’मा ‘क्लासिक’का आर्यन सिग्देल, ‘कबड्डी कबड्डी’का दयाहाङ राई, ‘पशुपतिप्रसाद’का खगेन्द्र लामिछाने, ‘प्रेमगीत’का प्रदीप खड्का र ‘फन्को’का सौगात मल्ल मनोनयनमा परेका छन् ।

यसैगरी, ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री’मा ‘भाग सानी भाग’की केकी अधिकारी, ‘रेशम फिलिली’की मेनुका प्रधान, ‘क्लासिक’की नम्रता श्रेष्ठ, ‘वडा नम्बर ६’की प्रियंका कार्की र ‘प्रेमगीत’की पूजा शर्मा छन् भने ‘नीर सर्वोत्कृष्ट सहअभिनेता’मा ‘पशुपतिप्रसाद’का विपिन कार्की, ‘रेशम फिलिली’का कामेश्वर चौरसिया, ‘होस्टेल रिटन्र्स’ का नाजिर हुसेन, ‘चङ्खे, शङ्खे पङ्खे’का प्रमोद अग्रहरि, ‘लभ सब’का शिशिर भण्डारी छन् । त्यस्तै, ‘वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री’मा ‘अधकट्टी’की अशिष्मा नकर्मी, ‘वडा नम्बर ६’की दीपाश्री निरौला, ‘क्लासिक’की रोमीवानी घिमिरे, ‘सुश्री’की सुरविना घिमिरे र ‘होस्टेल रिटन्र्स’की स्वस्तिका खड्का छन् । ‘विश्व सर्वोत्कृष्ट नवअभिनेता’मा ‘फूलैफूलको मौसम तिमीलाई’का आमेश भण्डारी, ‘नाइँ नभन्नु ल ४’का पल शाह, ‘अधकट्टी’का प्रदीप बास्तोला, ‘होस्टेल रिटन्र्स’का सुशील श्रेष्ठ र सोही चलचित्रका सुशील सिटौला छन् । साथै, ‘चैत्य सर्वोत्कृष्ट नवअभिनेत्री’मा ‘सुश्री’की आशिका तामाङ, ‘काफल पाक्यो’ र ‘नाइँ नभन्नु ल ४’ दुवैबाट वर्षा राउत, ‘ड्रिम्स’की साम्राज्ञी शाह र ‘होस्टेल रिटन्र्स’की शशी श्रेष्ठ मनोनयनमा परेका छन् ।

हरेक पुरस्कारको नामाकरण सोही क्षेत्रमा लामो समय योगदान पुर्‍याएका वरिष्ठ कलाकारको नामबाट नामाकरण गरिएअनुसार ‘चेतन सर्वोत्कृष्ट लेखन’, ‘मञ्जु सर्वोत्कृष्ट छायाकार’, ‘तुलसी सर्वोत्कृट सम्पादक’, ‘भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशक’, ‘प्रदीप सर्वोत्कृष्ट ध्वनि पुनर्मुद्रण’, ‘शुभ सर्वोत्कृष्ट पाश्र्व सङ्गीत’, ‘वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक’, ‘उदीत सर्वोत्कृट पाश्र्व गायन, ‘शम्भुजित सर्वोत्कृष्ट सङ्गीतकार’जस्ता विधाका लागि पनि प्रत्येक विधाबाट पाँच–पाँचजना मनोनयनमा परेका छन् । जसको नामबाट पुरस्कारको नाम राखिएको हो उनीहरूलाई चाहिँ प्रतिस्पर्धामा राखिएको छैन ।