एनआरएनएका ‘एन्टिबायोटिक’ युवराज

एनआरएनएका ‘एन्टिबायोटिक’ युवराज


■ डिल्लीराम अम्माई, बेल्जियम

निरन्तर नेपाल र नेपाली भन्दै कुदिरहने एक जुझारु एनआरएन, प्रवासको बोझिलो झन्झटबीच पनि आफ्नै पनमा बाँचिरहेका हिमाली अधबैंसे । आर्जनको स्तरबाट नहेरी भावनाको सङ्लोपन र शुद्धताबाट हेर्दा युरोपकै नेपाली इतिहासजस्ता देखिने मिलनसार नेपाली वयस्क । उनी अर्थात् सबैको भाउ पुऱ्याएर पनि आफ्नो भाउ नखोज्ने, राजनीतिक खोपीभित्र कसैको हुन नसकेका, तर स्वतन्त्र आँखाबाट हेर्दा लेखिनुपर्ने, सम्झिनुपर्ने र बचाउनुपर्ने तेस्रो ध्रुवका एक पथिक शरणार्थी युवराज गुरुङ । उनै अभियन्ताको मनोदशा चिरफार गर्ने मनसायले पङ्क्तिकार उनको घरमा पुग्यो ।

१६ वर्षको प्रवासी दौडका विभिन्न मोडमा पङ्क्तिकारले धेरैलाई देखेको छ । धेरैले रूप फेरी–फेरी आफूलाई स्वार्थको लौरोले चुटेर धुलोपिठो बनाए । अब उनीहरूलाई लेख्नैपर्ने अवस्था रहेन । कतिपय रोएर सकिए, कति अरूको इतिहासलाई टुक्राटुक्रा पार्ने प्रतिशोधले सकिए, कतिपय आर्थिक असफलतामा सामाजिक त्याग मिलाई जहर बनाउने प्रतिस्पर्धाले सकिए । त्यसैले फ्रान्सका अविरल देशप्रेमी धावक हरिहर अर्यालजस्तै सबैले सुनेका तथा नबुझेका, धेरैको बन्ने रहर भएका तर बन्न नसकेका युवराजलाई नै रोजियो । अर्थात्, मनले भन्यो– उनी लेखिनयोग्य पात्र हुन् ।

खुल्दुली र परिवेश :
बिनासूचना पुगेकाले होला, भलाकुसारीबाहेक केही बोलेका छैनन् उनी । कतै जाने तयारीमा थिए कि ! औपचारिक पहिरनमा छन् । पङ्क्तिकार अचानक पुगेकाले बाध्यतावश रोकिए होलान् सायद । उनले कफी सोध्न ढिलो गरेनन् । एउटा सञ्चारकर्मी अकस्मात् घर आउँदा आशङ्काले भरिएको पोटिलो मंगोलियन अनुहार अलमलिएको पाएँ । उनलाई कफी उमाल्न हतारो भइरहेको थियो सायद, भान्सा कोठातर्फ लागे । मेरा आँखा उनका भित्तामा सजिएका सम्मानपत्र र ब्याचहरूतर्फ पुग्यो । वास्तवमा उनले त्यति सम्मानमा चित्त बुझाएका होलान् त ? आफैँलाई प्रश्न गरँे । मनमा कुरा खेलिरह्यो । यी अधबैँसे गुरुङ कसैले सम्मान देलान् भनेर त कुदेका होइन होलान् भन्ने लाग्यो । उनी नेपाल डायस्पोरामा देखिने गरी खोज्दै छन् । कसैले भन्लान्– डायस्पोरामा आफ्नोपन खोज्नु पागलपन हो । मलाई आज उनी नजिक पुगेर केही शब्द थुपार्न बाध्य पार्ने उनको त्यही सुन्दर पागलपनले हो ।

यो पङ्क्तिकार उनको घरमा पुगेको पहिलोपल्ट नै हो । पङ्क्तिकारको उनीसँगको पुरानो परिचय भए पनि मनको सजावट र धून भने उनी र मबीच फरक छ, आस्था र खेल्ने मैदान पनि फरक छन् । मलाई झन्डामा देश बोकेर प्रवासका गल्ली–गल्ली चहार्ने मान्छेहरूको बारेमा लेख्ने धून, उनलाई झन्डामा देश बोकेर देशविदेशका गल्लीमा कुँदिरहने धून ।

गुरुङ मित्रले कफीको कप दिँदै आत्मीय सत्कार देखाए । मैले उत्पात खुसीको भावमा कफीको कप समातेँ । मतर्फ विस्फारित नेत्रले हेरी हाँस्दै उनले भने, ‘भेटघाटबाहेक केही काम पनि थियो कि ?’ ‘केहीबेर गफ गरौँ भनेर,’ कनिकुथी जवाफ थियो मेरो । उनी पनि कफी लिएर नजिकै सोफामा बसे ।

y-gurung

उत्खनन :
कफीको चुस्कीसँगै आजको मितिसम्म उनले पद र पैसाका लागि राजनीतिक गुट–उपगुटमा नपुगेको कुरा स्मरण गरे । ठाउँ–ठाउँका मञ्चहरूमा जात–जातको झुण्डमा विभाजित साम्प्रदायिकता देखेको गुनासो गर्दै आफू त्यस्तोमा फरक धारणासहित प्रस्तुत हुँदै आएको धारणा सार्वजनिक गरे । लयबद्ध रूपमा गफिने सुरले सोधेँ, ‘सहजता र असहजताबीचको तपाईंको जीवनको अनुभवलाई कसरी विश्लेषण गर्नुहुन्छ ?’

‘प्रथमतः मेरो रुचि र बाध्यता बताउँछु, रुचि सफल हुन्छ, तर बाध्यता सधैँ सफल नहुँदोरहेछ । एन्ट्वेर्पेनको ममः सेन्टर भर्खर बेचेँ । त्यो लिएदेखि साथीभाइसँग भेटघाटको समय र आत्माले निर्देशित गरेका विभिन्न कार्यक्रममा समय नहुने नै भइहाल्यो । त्यसपछि रेस्टुरेन्टतिरको अनुभवको कमीले होला, ‘मूभ’ पनि त्यति राम्रो भएन । त्यस्तै हो व्यापार, कहिले नाफा त कहिले घाटा । हरेक चिज र परिस्थिति सधैँ अनुकूलतामा टुङ्गिन्छ भन्ने छैन,’ कफीको चुस्कीसँगै सासभरमा उत्तर दिए उनले ।

प्रारम्भिक दिनहरू :
घरबाट अढाइ घन्टा टाढाको स्कुल गई पढेका उनी पहिलोपल्ट एसएलसी फेल भएका रहेछन् । भक्तपुर सानोठिमी क्याम्पसमा अध्ययन गर्दा आर्थिक अभाव राम्रैसँग झेलेको उनले गुनासो गरे । उनकी आमाले गाउँमै भेडाको ऊनबाट राडीपाखी बुन्ने, घरेलु रक्सी बनाउने, काँचो पातको सुर्ती बनाएर बेचबिखन गरी छोरालाई पढाएकी रहिछिन् । पढाइको सन्दर्भमा कुरा गर्दा उनले छात्रावृत्तिमै क्याम्पस तहको पढाइ सकेको स्मरण गरे । त्यसबीचका विभिन्न परिघटना केलाउँदै उनले थपे, ‘आन्दोलनको कारण आईएडको दुईवर्षे कोर्स सक्न तीन वर्षभन्दा बढी लाग्यो । परीक्षा दिएपछि रिजल्ट कुर्न अरू एक वर्ष पर्खनुप¥यो ।’ गफको क्रममा उनले दुःखेसो पोख्न थाले, ‘पढाइकै बीच खर्च जुटाउन जागिरका विभिन्न हण्डर खाँदै पढाइलाई सुचारु गराएँ ।’

२०४४ सालमा उनी सानोठिमी पढ्न आएपछि त्यसबेलाका उद्योग सहायकमन्त्री धर्मबहादुर गुरुङको स्वकीय सचिब भएर काम गर्दाको एउटा चाखलाग्दो घटना सुनाउँदै उनी बोल्न हौसिए । ‘एकाबिहानै मन्त्रीक्वार्टरमै भएको बेला छिमेकमा हल्लीखल्ली भएको सुनियो । के रहेछ भनेर बाहिर निस्कँदा करेसाबारीमा फुल्न लागेका काउलीका बोटहरू छपाछप काटिएका रहेछन् । कामदारहरूको खासखुसले होहल्ला मच्चिएपछि त्यो हल्ला एकाएक सामसुम पारियो । अघिल्लो साँझै मन्त्रिमण्डल विघटन भइसकेको हुनाले मन्त्री आफँैले रोपेका काउली नयाँ आउने मन्त्रीले खान नपाउन् भनेर त्यसो गरेका रहेछन् । कस्तो मानसिकता होला ती बेलाका ती मन्त्रीको †’ त्यो घटना सम्झदा अहिले पनि उनलाई विस्मात् लाग्दोरहेछ ।

यता पहिलो वर्षको रिजल्ट बाँकी हुँदाहुँदै उनले प्रावि शिक्षकका लागि आयोगबाट नाम निकालेछन् । उनी त्यसपछि खाँदबारी फर्केर आफ्नो दरबन्दी बुझ्दा दुर्गम क्षेत्र च्याम्ताङ तोकिएको रहेछ । उनी चाकडी र भनसुनभन्दा कर्मको इमानदारीमा विश्वास गर्ने भएकाले तोकिएकै ठाउँमा त्यही गाउँकै सञ्चालक समितिका अध्यक्ष भैरुङ धोर्चेसँग बाटो लागेछन् । नमिठो गरी मुख बिगार्दै उनले भने, ‘बाटो अचम्मको डरलाग्दो । धेरै खोलाहरूमा पुलपुलेसा नै छैनन् । फलामको लठ्ठामा झुन्डिएर अरुण तर्नुपर्ने, बगिरहेको पहिरोसँगै दौडेर बाटो पार गर्नुपर्ने, उर्लंदो खहरेखोलाहरूमा पानीलहरोको फड्केबाट तर्नुपर्ने । खिस्रिक्क खस्यो कि चोक्टोलाम्टोको नामनिशाना नभेटिने । स्याउँस्याउँ जुका त कत्ति हो कत्ति ! भैरुङसँगै आठौँ दिनका दिन च्याम्ताङ पुगेको मलाई के थाहा ? त्यो ठाउँमा त धेरैले नेपाली बोल्न पनि जान्दारहेनछन् ।’

y-gurung-2

उनी झन् उक्सिँदै गए– पहिलो रात असङ्ख्य उपियाँको टोकाइले इन्तु न चिन्तु बनायो । सुँगुरको खोरमाथि ओछ्यान भएकोले न शान्तसँग सुत्न पाइयो न त सास फेर्न नै । एकाबिहानैको झुल्के घाममा १३ वर्षे केसाङले घु¥यानबाट आधा खिइएको भुक्के हेटौडे चप्पल खोजेर ल्याए अनि यसलाई चक्कुले काटेर चिया फिट्ने वासर बनाए, एकैछिनमा चौँरीको घ्यू हाली चिया बन्यो, तर मुस्किलले एक–दुई सुरुप पिएँ । घरमा भैरुङकी श्रीमतीले भात पकाइन्, खाँदा भातका सीताभन्दा सेता चिल्सा कीरा धेरै † कसरी रुच्ने ? मलाई अत्यास लाग्यो । सहज हुन सक्दिनँ कि भन्ने डर लाग्यो, तर त्यो परिवारबाट मैले यति धेरै माया र सम्मान पाएँ कि त्यस्तो स्नेह सायदै कतै पाइएला ।’

केही महिना अत्यास लागे पनि पछि बिस्तारै झ्याम्मिँदै गए रे उनी । त्यहीँको रहनसहनमा रत्तिएर सबैको माया बटुल्न सकेको बताए उनले । गाउँभरिका सबैले रुँदैरुँदै बिदा गरेको त्यो बेलाको तस्बिर कहिले पनि भुल्दैनन् रे उनी । पढाएर खर्चको जोहो गर्दै पढ्दै गर्दाको सम्झना गर्दै उनले भने, ‘बीचबीचमा काठमाडौं आइरहनुपर्ने, कहिले जाँच दिन त कहिले किताबकपी किन्न ।’

दुर्गम स्कुलमा पढाउँदाका रमाइला घटनाहरू सुनाउन कस्सिए उनी । ‘नेपाली भाषा खासै नबुझ्ने स्थानीयले । एकजना स्थानीय थोक्मी भोटेको सट्टा मलाई स्थायी नियुक्ति गरेर त्यहाँ खटाइएको रहेछ । थोक्मीले टेस्ट मात्र पास गरेका रहेछन् र उनी सामान्य अपाङ्गसमेत थिए । म उनको सट्टा त्यहाँ पुगेको थाहा पाएपछि मलाई सबै मिलेर कुटपिट गरी लखेट्ने सल्लाह गरिसकेका रहेछन् । भैरुङबाट सबै कुरा थाहा पाएपछि मैले साहसका साथ उनीहरूलाई भनेँ, ‘मलाई कुटपिट नगर्नुहोला, बरु हाजिर हुन नदिने हो भने त्यही रिपोर्ट लेखिदिए म यहाँबाट फर्कन्छु । मलाई हाजिर नगराउँदा स्कुल र तपाईंहरूलाई फाइदा हुँदैन भनेपछि उनीहरूले मलाई स्वीकारे । थोक्मीको पनि जागिर थमाउन अरू उपायको खोजी गर्ने सल्लाह भयो ।’

यसरी ज्यान जोगाएछन् युवराजले । उनले धेरैपटक मरेर बाँचेको कथा सुनाइरहे । ‘आईएड पढाइको अन्त्यतिर २०४५ सालमा दशरथ रंगशालाको घटनामा पनि परेँ । त्यतिखेर मैले फलामको काँडेतारमा अल्झिएका दुई आइमाईलाई उद्धार गरेको कहिल्यै भुल्दिनँ । व्यवस्थापनको कमजोरीले र प्रहरीको लाठीप्रहारबाट घाइते भई ढलेर कुल्चाइमा परेका सबै मरेका हुन्, आफू त सञ्जोगले मात्र बाँच्न सकेँ,’ उनले भने । अचेल सम्झँदा आभास हुन्छ, हजारपटक मर्दै–बाँच्दै गर्दा जिउनुको मज्जा बेग्लै हुँदोरहेछ । रोचक त के भने च्याम्ताङमा अध्यापन गराउँदै गर्दा एकपटक भोकमरी लागेछ । सरकारले दुर्गमका कर्मचारीका लागि भोकमरी चामल दिने घोषणा गरेपछि सबै कर्मचारीले त्यही उसिना चामल ल्याएर भोकमरी कटाएका रहेछन् । चार किलो त्यो चामलले दुई–चार दिन कटे पनि बाँकी दश दिन जति कटाउन बन–जङ्गलको कन्दमूल र स्थानीयको सहयोगमा खोले खाई बाँचेका रहेछन् उनी । एक अर्को प्रसङ्गमा उनी भन्दै गए, ‘एक दिन त्यही गाउँको निम्तामा दुलहा लिएर जन्ती गइयो । जन्तीका मुल्किरीले गोरुको सिङ्गै टाउको घाँटीमा चोयाले झुन्ड्याएर दुलहीको घरमा जानुपर्ने, अनि दुलही पक्षकाले चिसो पानी र सिस्नुको मुठोले दुलाहा र जन्ती सबैलाई जथाभावी हानेर स्वागत गर्ने चलन रहेछ । कस्तो अनौठो चलन ! त्यसरी सिस्नुपानीले हान्दा पनि जन्तीले हाँसेर सहनुपर्ने, स्वीकार गर्नुपर्ने । म त धेरै डराएँ । तर, दुलाहा घरभित्र छिरेपछिको स्वागत–सम्मानले अगाडिको सबै पीडा भुलाइदिने रहेछ ।’

नौ महिनापछि च्याम्ताङबाट उनको जागिर खाँदबारी सरुवा गराइएको रहेछ । खाँदबारी स्कुलमा चार महिना पनि पढाउन नपाउँदै जिल्लाका सामन्त माझियाले अर्कै ठाउँमा सरुवा गराइदिएछन् । त्यो नयाँ ठाउँ यस्तो रहेछ कि कुकुर भुकेको सुनिने तर घरबाट स्कुल पुग्न ६ घन्टा हिँड्नुपर्ने । त्यसपछि भने उनलाई शिक्षण पेसादेखि विरक्त लागेर जागिर छाड्ने निर्णयमा पुगेछन् । क्याम्पस पढ्ने उद्देश्यले पुनः काठमाडौं छिरेर आईएड सकाए युवराज गुरुङले ।

०४६ देखि उनी सानोठिमी क्याम्पसमै बीएड पढ्न थाले । त्यसबेला भएको स्ववियुका प्रतिनिधिमा उनी र लोकनाथ ढुङ्गाना सर्वसम्मत छानिएको स्मरण गर्दै उनले भने, ‘त्यो बेला छत्रावासको ‘प्रिफेक्ट’ म थिएँ भने बैतडीका फन्कु सिंह ऐरी वार्डेन थिए । त्यसबेलाका छत्रावासको प्रशासन हेर्ने चिरञ्जीबी पौडेल हाल रोल्पाका जिशिअ छन् । ८ कक्षादेखि डिग्रीसम्मका सहपाठी साथी दयाराम दाहाल पाँच वर्ष चाइना रेडियो नेपाली सेवामा काम गरेपछि हाल माथिल्लो मस्र्याङ्दी जलविद्युत् योजनामा सिनियर अनुवादकको रूपमा कार्यरत छन् । लोकनाथ, चिरञ्जीवी र दयारामको सहयोगले छात्रावासमा धेरै राम्रो काम गर्न सकेको सम्झन्छन् उनी । उनले त्यो बेलाको कामबारे उल्लसित हुँदै थपे, ‘मेरै नेतृत्वमा छात्रावासको कोटा ४३ बाट बढाएर ९० पु¥याएँ । खानपिनको लागि मेस सञ्चालन, अध्ययन व्यवस्थापन, पुस्तकालयको व्यवस्थापन सँगसँगै कम्पाउन्डभित्र वृक्षारोपणजस्ता सुधारमुखी कार्यक्रमहरू सम्पन्न गरियो । ती कुराबाट आज पनि सन्तोष महसुस गर्दछु ।’

विदेश पलायन :
नेपालमा जति सङ्घर्ष गरे पनि केही नहुने र मुलुकमा राजनीतिक द्वन्द्वले अत्यासलाग्दो अवस्था बनेको कारण उनी विदेश पलायन भएको बताउँछन् । ‘नत्र के पिर थियो र ! ठूलो परिवार थिएन, दुई छोरा, श्रीमती, बहिनी र आमा मात्र † छोड्न त मन थिएन नि आफ्नो थातथलो ।’ यो भन्दै गर्दा उनी गम्भीर देखिन्थे । सपना पनि अहिलेसम्म उनी आफ्नै गाउँको मात्र देख्ने गरेको सुनाउँदै घतलाग्दो गरी उनले थपे, ‘राज्यको त सीमा होला, तर राष्ट्रियताको सीमा हुँदैन त सर ! राष्ट्रियता त मन र सपनामा पो जाग्दोरहेछ त !’

वास्तवमा युवराज गुरुङ बेल्जियम आए पनि आर्थिक र सामाजिक भूमिकामा नेपाल र नेपालीसँगै छन् । सन् १९९९ मा बेल्जियम आएका उनी केही नेपालीको सम्पर्कमा आई नेपाली समाज सङ्गठित गर्नतिर लागे । राज्य र विद्रोही दुवै पक्षबाट नेपालमा मानवअधिकारको उल्लङ्घनका घटना व्यापक रूपमा भइरहेका थिए । ती मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न उनले जरुरी सम्झे । अर्कोतर्फ बेल्जियममा नेपालीका आफ्नै समस्याहरू थिए । अवैधानिक बसाइबाट अत्तालिएका नेपालीलाई बसाइको कानुनी सहजीकरणका लागि काम गर्नैपर्ने उनले महसुस गरे । यिनै मुद्दाहरूलाई बोकेर सन् २००० मा जनप्रगतिशील मञ्च निर्माणमा सरिक भए उनी ।

त्यसबेलाका उनका सहयात्रीहरू नवीन सापकोटा अध्यक्ष, कृष्ण खतिवडा सचिव र उनी कोषाध्यक्ष बने । उनी आफ्नै रफ्तारमा बोल्दै गए, ‘तपाईंलाई पनि अलिअलि थाहा हुनुपर्ने † कागजविहीन नेपालीका लागि थुप्रै सङ्घर्ष गरियो । त्यस्तै नेपालमा द्वन्द्व रोकी मानवअधिकार वहालीका लागि राजदूतावास र युरोपियन युनियनमार्फत थुप्रै दबाब दियौँ ।’ आफूले त्यसबेला गरेका सङ्घर्षबारे अझैसम्म गौरव गर्दारहेछन् उनी । त्यसबेला मञ्च निर्माण गरेकोमा उनलाई कत्ति पनि पछुतो छैन रे । सन् २००३ पछि भने उक्त सामाजिक सङ्गठनभित्र अमूक राजनीतिक पार्टीको नीति तथा कार्यक्रम हावी भएकाले मञ्चबाट अलग हुनुपरेको उनको दुःखेसो रह्यो । आफ्नो स्वभाव अलि हठी भएको कारण केही असजिलो अवस्था व्यहोर्नुपरेको पनि उनले अवगत गराए । प्रयत्नबाट मात्र परिवर्तन सम्भव छ भन्दै सामाजिक भूमिकामा आफ्नो ब्रह्मले देखेको सत्यबाहेक सितिमिति कसैसँग सम्झौता गर्दैनन् युवराज ।

सन् १९६९ मा संखुवासभाको मादी मूलखर्कमा जन्मेका उनी स्वर्गीय कर्णबहादुर गुरुङ र आमा चन्द्रमायाका एक्ला छोरा हुन् । ०४७ सालमा बीएड गर्दै गर्दा खाँदबारीका क्याम्पसप्रमुख उपेन्द्र कोरङीका सहयोगले मन्दरा गुरुङसँग मागी विवाह गरेका उनी दिदीहरूले त्यसबेला आफूहरू पढ्नलेख्नबाट बन्चित रही उनलाई पढाउन साह्रै दुःख गरेको कहिल्यै भुल्दैनन् रे । साहिँली दिदी चन्द्रकला पहाड गाउँमै र माइली दिदी धनमाया तराई पथरीमा सुखका साथ बसेका छन् उनका । ठूली दिदी गोरी स्वर्गवास भइसक्नुभएको र कान्छी बहिनी रश्मी काठमाडौं घरैमा आमासँग रहेको उनले सुनाए । आईएड पढ्दै गर्दा बुबालाई गुमाएका उनले आफ्नो जीवनकालमा धेरै सङ्घर्ष गरेर आफ्नो अध्ययनलाई स्नातकोत्तर तहसम्म पु¥याएका रहेछन् ।

आफ्ना कुरा खुलेर राख्न नडराउने उनी अहिलेसम्म आस्थाका कुनै पनि राजनीतिक सङ्गठनमा नछिरेका र आफूलाई अझैसम्म स्वतन्त्र राख्न सफल भएको बताउँछन् । दौराको तुनाछेउ नेपाली झन्डाको ब्याच भिरेर उनी नपुगेका एनआरएन कार्यक्रम बिरलै होलान् । अचम्म छ उनको जाँगर ! अचम्मको छ उनको नेपाली मन !! कसैकसैले भनेको सुनिन्छ– केको पैसाले पुग्दो हो युवराजलाई, युरोप, अमेरिका, जापान कुदिरहन्छन् झन्डा र ब्यानर बोकेर । उनको गतिविधिले बताउँछ कि उनको कर्म प्रवासमा नेपाल भेट्टाउने र नेपालीमन खोजी–खोजी नेपालीपनले भिजाउनु हो ।

सुरुवात कालमा डल्लो मङ्गोलियन अनुहारका उनी अलिक कठोर जस्तै लाग्थे यो पङ्क्तिकारलाई । उनलाई पङ्क्तिकारले सम्पर्क गर्ने चासो पनि लिएन, त्यसमा आफ्नै बुझाइको पनि कमी रह्यो होला । जनप्रशासनबाट स्नातकोत्तर गरेका उनी बौद्धिक मान्छे हुन् भन्ने कुरा पनि सन् २००६ मा एनआरएनको पहिलो अध्यक्ष भएपछि मात्र थाहा भयो ।

स्वभाव र रुझान :
स्वभावजन्य कुराहरूमा उनी अरूभन्दा फरक छन् । कुनै पनि कार्यक्रम या भ्रमणमा जाँदा सर्वप्रथम आफ्नो पहिरन विशेष चासोका साथ हेर्छन् उनी । चिटिक्क काटेको कपाल लसक्क कोरी बाहिर निस्कन्छन् उनी । भिज्दै जाँदा उनी सोचेभन्दा मिजासिला र भद्र छन् । कुनै पनि औपचारिक कार्यक्रमहरूमा दौरासुरुवाल पहिरिएर निस्कन्छन् । सबै नेपालीप्रति सहिष्णु र सहयोगी रहेछन् भन्ने कुरा पङ्क्तिकारलाई एक दशकपछि मात्र थाहा भयो । छोटकरीमा भन्दा उनले आफूलाई प्रवासी नेपालीको बीच गज्जबले स्थापित गराइसकेका छन् । हाल एनआरएनए आईसीसीको विधान मस्यौदा समितिको उपप्रमुख रहेका गुरुङमा पदीय रवाफ कत्ति पनि देखिँदैन । मुलुकप्रतिको कर्तव्य डायस्पोरामा विश्वासयोग्य रूपले फक्रँदै गरेको देख्छन् उनले । मुलुकमा भन्दा नेपालको चित्र प्रवासमा अझ पवित्र र गाढा हुँदै गएको उनको विश्वास छ ।

सन् २०१३ मा एनआरएनएको केन्द्रीय सल्लाहकार बनेपछि उनको जिम्मेवारीले विश्वव्यापी हुने मौका पायो । उनी अब व्यक्ति मात्र रहेनन् । भूमिकाले थप उत्साहित हुँदै उनी भन्छन्, ‘सबै नेपालीको विश्वासले आत्मविश्वास र सङ्कल्प झन् निखारिँदै जाँदोरहेछ । आत्माविश्वासका साथ गरिने मिहिनेत, प्रयास र कर्मलाई समाजले क्रमशः मूल्याङ्कन गरिरहेको हुन्छ । सुरुमा बेल्जियम छिर्दा एक किसिमको वातावरण थियो । त्यही रूपमा समाजका तात्कालिक मुद्दाहरूमा सरिक भइयो । त्यो परिस्थितिले सङ्गठनको आधार बनाइदियो र त्यहीअनुसार अघि बढियो ।’ पङ्क्तिकारको अनुभवमा पनि केही अग्रजहरूले त्यसबेला सङ्गठन गर्ने जमर्को नगरेको भए नेपाली समाज यो रूपमा स्थापित र सरलीकृत हुन गाह्रो हुन्थ्यो जस्तो लाग्छ ।

y-gurung-3

उनको स्वभाबबारे समालोचनात्मक टिप्पणी गर्नुपर्दा उनी कुनै पनि सामाजिक सङ्गठन वा अभियानमा विचार नै नगरी लुसुक्क पस्छन्, कतै आफूलाई शङ्का लाग्यो भने चुनौती दिँदै बाहिरिन्छन् । लुम्बिनी कपिलवस्तु विश्व अभियानमा उनले त्यही गरे । बाहिर सुनिन्छ– उनले यत्तिकै त्यसो गरेनन्, त्यहाँ पनि उनले ब्याक्टेरियाको सङ्क्रमण देखे होलान् र सिंह गर्जेझैँ गर्जिंदै अभियानबाट बाहिरिए । यो प्रवृत्तिविरुद्धको लडाइँ हो भन्ने सङ्केत उनको वक्तव्यबाट बुझिन्छ । हानिकारक ब्याक्टेरिया देख्नेबित्तिकै सके भित्रै लड्नु नसके बहिरिएर लड्नु उनको धर्म हो । किनकि उनी नेपाली डायस्पोरिक समाजका एन्टिबायोटिक हुन् । उनी एनआरएन वा आफूलाई चासो लाग्ने सङ्घ–सङ्गठनमा मज्जाले खेल्छन् ।

उनी नेपालमा रहुन्ज्याल पनि समाजका एक खेलाडी थिए, प्रवासमा पनि रापिला खेलाडी हुन् । उनी आफ्नो महत्वाकाङ्क्षाका लागि कहिले देखिने गरी खेल्छन् त कहिले नदेखिने गरी । कतिपयलाई उनको यही बानीबाट आलोचना गर्ने प्रसस्त मसला मिल्दछ । उनका गतिविधिमा धेरै कमजोरी पनि होलान्, तर विगत फर्केर हेर्दा ‘मूल लक्ष्य आफू संलग्न संस्थालाई नीति र विधाननियन्त्रित बनाउनु नै हो । उनको यो तर्कलाई अन्यथा मान्न सकिँदैन । पछिल्ला दिनमा एनआरएन अभियानको आदर्श र मूल्य–मान्यतालाई ओझेलमा पार्दै दलीय राजनीतिक र ब्यापारिक साझेदारीहरूको चल्तीफिर्तीले बढावा पाउँदै गएकोमा गम्भीर चिन्ता प्रकट गरे उनले ।

समाजसेवाबारे उनको आफ्नै परिभाषा छ । धन कमाएर मात्र समाजसेवा हुन्छ वा गर्न सकिन्छ भन्नेहरूलाई शब्दको झटारो हान्दै उनी भन्छन्, ‘आर्थिक अवस्थाले सामाजिक सेवाको निर्धारण गर्दैन । दायित्वबोध समाजसेवाको महत्वपूर्ण पक्ष हो, आर्थिक पाटो त केवल साधन मात्रै हो ।’

जातीय उत्थान र शैक्षिक सवालमा जनजातिको पहुँचका लागि २०५४ सालमै तमु विद्यार्थी छाँेजधिँको केन्द्रीय अध्यक्ष भएका उनी दलित र जनजातिको अवस्था अझै देशको मूलप्रवाहमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्छन् । जातीय सङ्गठनप्रतिको धारणाबारे जिज्ञासा राख्दा उनले मुख खोले, ‘जातीय समस्या दक्षिण एसियाको मनोवैज्ञानिक समस्या हो । यो चेतनासँग गाँसिएर आउँछ । आफ्नो जातीय संस्कृति, धार्मिक सम्प्रदायका मौलिकताहरू राज्यले संरक्षण गर्नुपर्ने हो, तर राज्य हिजोदेखि नै यो विषयमा विभेदकारी देखिँदै आएको छ । नागरिकबाट उठाइएका मुद्दाहरू कतिपय जायज छन्, तर एउटा कुरामा हामी सचेत हुनुपर्दछ कि यो समस्या कुण्ठा र आक्रोशबाट मात्रै हल हुँदैन । यसको समाधानका लागि सद्भावना नबिथोलिने गरी राज्यलाई दबाब दिइरहनुपर्दछ ।’

अबको सपना :
सपनाको कुरा गर्दा आफ्नो जन्मभूमिबाहेक अन्यत्रको नदेख्ने गरेको बताए । तैपनि बेल्जियम बसुन्जेल ढुकुटी प्रथाको विकल्पमा एउटा सहकारी व्यवसाय सुरु गर्ने धोको अहिलेसम्म पूरा हुन सकेको छैन । कानुन नियन्त्रित सहकारी ब्यवसायमार्फत धेरै नेपाली लाभान्वित हुने उनी विश्वाश गर्दछन् । उनीसँग नयाँ अवधारणा र नयाँ योजना ल्याउने कला र जाँगर पनि छ । नयाँ व्यवसायको कुरा गर्दा उनी हौसिएर चासो लिने गर्छन् । नेपाली खाना चिनाउन आफू बसेको सहरमा पहिलोपटक ‘यती हाउस’ रेस्टुरेन्ट खोले । नेपाली संस्कृति चिनाउन नेपाल महोत्सवको सुरुवात गरे । सांस्कृतिक भवनको अवधारणा ल्याउन कस्सिए । उनी राम्रा योजना बनाउँछन्, तर सोचेजस्तो साथ पाउँदैनन् । किन भनेर प्रश्न गर्दा झोक्किँदै भन्छन्, ‘अरूले मलाई नबुझेका हुन् वा मैले नबुझेको हुँ थाहा भएन । प्रयासहरू पूर्ण सफल नहुनु सपनाको अन्त्य होइन ! अब धेरै विदेश बस्ने रहर पनि छैन । बसुन्जेल जहाँ बसिन्छ त्यसबारे सकेजति सोच्ने र गर्ने न हो ।’