आशाका कारण निराश

आशाका कारण निराश


Asha Lama

१० गते मंगलबार बिहानै बूढानीलकण्ठस्थित देउवानिवासमा हुल बाँधेर पुगेका वैदेशिक रोजगार व्यवसायीले काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रश्न तेस्र्याए, ‘यस्तै हो भने हामी अब काङ्ग्रेस भएर किन रहने ? पार्टीका लागि हामी अब किन मरिमेट्ने ?’ प्रजातन्त्रवादी खेमाका भनेर चिनिएका काङ्ग्रेसी व्यवसायीहरू एकाएक यसरी प्रस्तुत भएपछि देउवा रनभुल्ल परे । ‘होइन, के भयो ? प्रस्ट पार्नुस् न कुरा के हो ?’ सभापति देउवाले व्यवसायी टोलीको अग्रपङ्क्तिमा रहेका विमल ढकाल, तिलक रानाभाटहरूतर्फ दृष्टि दिँदै जिज्ञासा राखे । व्यवसायी सङ्घका पूर्वअध्यक्ष तिलक रानाभाट कड्किए, ‘सभापतिज्यू, सबै बुझेर पनि के अन्जान बन्न खोज्नुहुन्छ ? यूएईको लागि काङ्ग्रेस कोटाबाट राजदूत बनाउन कुनै जनजाति काङ्ग्रेसजन फेला पार्नुभएन र एमालेकी आशा लामालाई रोजेको ?’ देउवा फेरि जिल्ल परे । अकमकिँदै उनले प्रतिप्रश्न गरे, ‘को एमाले ? आशा लामालाई त काङ्ग्रेसकै कोटाबाट सिफारिस गरिएको हो नि ।’

सभापतिको मुखबाट यत्ति के फुत्किएको थियो, व्यवसायीहरूले जिब्रो समाइहाले । एमालेको कोटाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घमा सदस्यको उम्मेदवार भई जितेरै केही वर्ष अघिसम्म नेतृत्वमा रहेकी आशा लामा कहिलेदेखि काङ्ग्रेस भइन् भन्दै ¥याख¥याख्ती पारेपछि देउवाले ‘जिपछिरिङ लामाको आग्रहमा आशालाई राजदूतमा सिफारिस गरेको’ खुलासा गरे । तर, लामा एमालेनिकट रहेको आफूलाई जानकारी नभएको पनि उनले बताए । व्यवसायीहरूले देउवालाई फेरि सोधे, ‘काङ्ग्रेसको सभापति तपाईं हो कि जिपछिरिङ ?’ अलमल्ल परेका देउवाले परराष्ट्रमन्त्री डा. प्रकाशरण महततर्फ इशारा गर्दै यथार्थ बुझ्न खोजे । डा. महत पनि जिपछिरिङलगायतका साथीहरूले जनजाति कोटामा आशा नै योग्य छिन् भन्दै सिफारिस गरेकोले निर्णय लिइएको भन्दै गोलमटोल कुरा गरेर पन्छिन खोजे । जिम्मेवार नेताहरूले ‘अब जे हुनु भइगयो, पछि–पछि विचार गरौँला, साथीहरूले नै झुक्याएछन्’ भन्दै थुमथुम्याउने प्रयत्न गरेपछि आक्रोश बोकेर सभापतिनिवास पुगेका व्यवसायीहरू झन् चर्किन थाले । निर्णय सच्याउनुपर्ने जिकिर गर्दै उनीहरूले प्रश्न गरे, ‘राजदूत बनाउन लायक, दुःख पाएका, पार्टीकै लागि ज्यान दिने जनजाति साथीहरू काङ्ग्रेसमा कति छन् कति, एमालेकै मान्छे सिफारिस गरे पनि योग्यता–क्षमता भएका निर्विवाद पात्र छान्न सकिन्नथ्यो ?’

यो प्रश्नले देउवा र महत गम्भीर देखिए । फरर्र अङ्ग्रेजी बोल्ने आशा लामालाई जिपछिरिङले ‘योग्य’ भनेरै पेस गरेका रहेछन् । तर, दार्जिलिङतिरको स्कुल पढेर थोरबहुत अङ्ग्रेजी बोले पनि आशा लामा एउटा राजदूतको रूपमा यूएईजस्तो मुलुकमा पठाउनुअघि निकै सोचविचार गर्नुपर्ने पात्र रहिछिन् भन्ने त्यतिबेला मात्रै नेताहरूलाई हेक्का भएछ । केही समयअघिसम्म आफ्नै म्यानपावर कम्पनी चलाएकी र हाल आशा फाउन्डेसनको नाममा ‘समाजसेवी’को पहिचान बनाउने प्रयत्न गर्दै गरेकी आशा तिनै व्यक्ति हुन्, जो नेपाली युवतीलाई अवैध रूपले विदेश पठाएर अलपत्र पारेको उजुरीका आधारमा पटक–पटक प्रहरी कारबाहीमा परिसकेकी छिन् । यति मात्र नभई जुन देशमा उनी राजदूत भएर जाँदै छिन्, त्यहीँको प्रहरीले समेत उनलाई ब्ल्याक लिस्टमा राखेको म्यानपावर व्यवसायीहरूको दाबी छ । आशा लामाबाट राजदूतको रूपमा देशको इज्जत जोगिनेगरी काम हुनेमा पटक्कै आशा नरहेको, उल्टै कुनै बेला माओवादी कोटामा राजदूत बनाइएकी माया शर्मा नामक व्यक्तिका कारण देशको बेइज्जत भएको घटनाकै पुनरावृत्ति हुने व्यवसायीहरू बताउँछन् । आफूहरू देशको हित र काङ्ग्रेस पार्टीको चिन्ता गरेर सभापति देउवासमक्ष गुनासो गर्न पुगेको प्रस्ट्याउँदै एक अग्रज व्यवसायीले भने, ‘इमानदार कार्यकर्ताका आवाज नसुनी चाटुकारहरूको प्रभावमा परेर जथाभावी निर्णय गर्दै जाने हो भने कार्यकर्तामा व्यापक निराशा आउनेछ, काङ्ग्रेस खिएर जानेछ ।’
देउवानिवासमा गुनासो लिएर जाने व्यवसायीमा विमल ढकाल, तिलक रानाभाट, विष्णु गैरे, प्रज्ञान न्यौपाने, सीता देवकोटा तथा किरणकिशोर घिमिरेलगायत थिए ।