आर्य जात, वंश, नश्ल कि विशेषण ?

आर्य जात, वंश, नश्ल कि विशेषण ?


Indra Baral 2

– इन्दबहादुर बराल

नेपालको सामाजिक आन्दोलनमा अत्यन्त छोटो समयमा नै खस क्षेत्रीहरू देशव्यापी रूपमा सङ्गठित हुँदै गए । यस अर्थमा सङ्गठित हुन बाध्य गराइयो कि जनआन्दोलन ०६२-६३ पछिका विकसित राजनीतिक घटनाक्रमले खस क्षेत्रीको अस्तित्वमाथि धावा बोल्यो । र, यस मुलुकका शोषक र शासक अनि उत्पीडित भनेकै खस क्षेत्री नै हुन् भन्ने भ्रम छर्न उद्यत् नेकपा माओवादी अग्रपङ्क्तिमा देखिएको थियो । आफ्ना अधिकारको खोजीमा निरन्तर विभिन्न स्वरूप र प्रकारका आन्दोलनमार्फत लागिपरेका आदिवासी÷जनजाति र केही मधेसीलाई साथ लिएर खस क्षेत्रीको उछित्तो काड्ने काम भयो । झनै राजत्रन्त्रको उन्मूलनले खस अहंकारको आरोपमा खस ‘महाजाति’लाई किनारा लगाउने काममा नेकपा माओवादी ज्यान छाडेर लाग्यो ।

यिनै अशोभनीय र अनर्गल आरोपबाट आहत भएका खस जातिमध्येका प्रमुख जाति खस–क्षेत्रीले बिस्तारै सङ्गठित भई आफ्नो जाति–समूहमाथि लगाइएका झुट र तथ्यहीन आरोपको प्रतिवाद गर्न थाले । खस क्षेत्रीहरू क्रमशः सङ्गठित हुँदै गरेको सन्दर्भमा ब्राह्मण पनि एकाकार हुन थालेको हुनुपर्छ । पहिलो संविधानसभाबाट ठूलो पार्टी बन्न सफल नेकपा माओवादी संविधान निर्माणभन्दा पनि बदलाको राजनीतिमा तल्लीन भयो । लामो बिरासतयुक्त राजसंस्थालाई जरैदेखि उखेलेर फालेको उन्मादमा एकपछि अर्को त्यस्तै प्रयत्नमा लागे पनि सफलता प्राप्त हुन सकेन, बरु उल्टै आफू सत्ताबाट हात धुनुपर्ने दुःखद् स्थिति आयो । भलै राजसंस्थाको उन्मूलन पनि काङ्ग्रेसका अति महत्वाकाङ्क्षी तत्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्रीको आडभरोसामा किन नहोस्, पशुपतिका पुजारी र सेनाप्रमुखलाई फाल्न नसक्ने शक्तिले नेपालको करिब २४० वर्ष लामो राजसंस्था फाल्ने त्यही शक्ति हो भनेर पत्याउन पनि गाह्रो भयो । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनुमा नेकपा माओवादीको कुनै दमदार तर्क देखिँदैन, बरु कुनै त्यस्तै बाह्य तथा अदृश्य शक्तिको हात थियो भनी सजिलै अनुमान गर्न सकिन्छ ।

विशेष गरेर नेकपा माओवादीले सामन्त र शासकको संज्ञा दिँदै पूरै खस समुदायमाथि शोषक र उत्पीडकको दोष थुपार्न थाल्यो । आदिवासी÷ जनजातिहरू त वास्तवमै माओवादीकै भ्रातृ सङ्गठनजस्तै देखिए र खस क्षेत्रीलाई भन्दा ब्राह्मणलाई सफ्ट कर्नरमा राख्दै बाहुनजतिलाई काशी र क्षेत्रीजतिलाई फाँसी जाऊका नारामा माओवादी रमाउँदै गरे । बाहुनभन्दा क्षेत्रीमाथि बढी आक्रोश पोख्दै गर्दा ब्राह्मणहरूले उक्त नारा दिने शक्तिलाई निर्देश गर्दै थिए, सायद त्यसैले होला बाहुनलाई कम्तीमा काशीसम्म भए पनि बाँचुन् भन्ने नरम दृष्टिकोण देखिनुले खस क्षेत्रीप्रति षड्यन्त्र गर्ने तिनै बाहुन हुन् भन्नु अतिसयोक्ति नहोला । एउटा कुरा के सत्य हो भने नेपाल एकीकरण अघिपछि दुवै अवस्थामा खस मूलका क्षेत्री–ठकुरीले राज्य गरेका हुन्, तर तिनीहरूलाई पनि दिशानिर्देश गर्ने ‘श्री ६ महाराज’हरू पनि थिए भन्ने तथ्य बिर्सिनुहुँदैन । यसर्थ कसैलाई दोष थुपार्नुभन्दा पहिले सोच्नुपर्ने कुरा के थियो भने नेपालका शासक भनेका पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्म र जंगबहादुर राणादेखि मोहनशमशेरसम्मका मुठ्ठीभरका खस क्षेत्री, ठकुरी निःसन्देह शासक थिए । तर, शोषक, सामन्त र उत्पीडकको इतिहासलाई निष्पक्ष आँखाले हेर्नेलाई थाहा होला न कि राजनीतिक आँखाले । हाम्रो नेपाली समाजमा उखानै छ– जुन औँलामा विष लाग्छ त्यही औँला झर्छ । खस जातिमध्येका माथि उल्लिखित शाह वश र राण वंशबाहेक ठूलो सङ्ख्यामा रहेका आफँै शोषण र उत्पीडनमा परेका खस क्षेत्रीलाई तथानाम आरोप लगाउँदा कति मन दुख्यो होला वा आहात भए होलान् ।

हुन त यहाँ आर्य जात, वंश वा नश्ल कि विशेषणको शीर्षकमा विषयान्तर हुँदै गएको जस्तो लाग्न सक्छ । तर, माथि उल्लेख पृष्ठभूमिमा नेपालको संविधान २०७२ मा समानताको हक आदिमा खस आर्य लेखिएको र खस आर्यको स्पष्टीकरणमा खस आर्य भनेको क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी (सन्न्यासी) भनिएको छ । तर, यसै प्रसङ्गमा खस र आर्य भन्ने शब्द समानार्थी हुन् वा खस जाति, वंश र नश्ल हो भने आर्य विशेषण मात्र हो भन्नेबारे प्रस्ट हुन जरुरी छ । हाम्रा कानुन निर्माताहरूमा संविधान निर्माणको बेला शब्दहरूको राम्रो ज्ञान हुनुपर्ने होइन र ? के जात, वंश र नश्ल तथा विशेषण पनि समानार्थी शब्द हुन् ? यसैले खस जात, वंश वा नश्ल हो भने आर्य भन्ने शब्द न जात हो न वंश न त नश्ल नै हो । आर्य शब्दको अर्थ हुन्छ उत्कृष्ट, आदरणीय, सम्मानित (मर्यादित सभ्यता र कुलीन भन्ने) बुझिन्छ ।

यसरी आर्य शब्दको अर्थलाई बुझ्ने हो भने हाम्रा संविधान निर्माताहरूको नजरमा क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी (सन्न्यासी) मात्रै उत्कृष्ट, आदरणीय वा सम्माननीय, सभ्य र कुलीन हुन् भने बाँकी जाति समूह के हुन् त ? यसको जवाफ दिनुपर्दैन ? नेपालमा अहिलेसम्म पहिचान भएका १२६ जातिमध्ये केवल क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामीलाई उत्कृष्टको कोटिमा राखेर बाँकी सबै जातिलाई के भन्न खोजिएको हो ? संविधानजस्तो देशको मूल कानुनमा भएको भयानक त्रुटिलाई सच्याएर समानताको हकमा उल्लेखित खस आर्यको सट्टा खस मात्रै लेख्न उपयुक्त हुने हुँदा आवश्यक प्रक्रिया अपनाएर संशोधनमार्फत सच्चिनु असल, जिम्मेवार सरकार र व्यवस्थापिका–संसद्को दायित्वभित्र पर्दछ । साथै संस्कृतमा आर्य शब्दको अर्थ नै उत्कृष्ट, आदरणीय, सम्माननीय, सभ्य र कुलीन भन्ने बुझिन्छ त्यसैले आर्य भनेको जात, वंश र नश्ल होइन यो त केवल विशेषण (उपाधि) मात्र हो । अङ्गे्रजीमा पनि आर्यलाई नोबल (उत्कृष्ट) भनिएको छ । कुनै खास खास जातिमा उत्कृष्ट वा आदरणीय हुने र बाँकी सबै जाति निकृष्ट तथा अनादरणीय हुने गलत सन्देशले भविष्यको कुनै कालखण्डमा ठूलो अनर्थ निम्त्याउन सक्नेतर्फ सचेत रहन माथि उल्लेखित शीर्षकबारे चर्चा गर्ने जमर्काे गरिएको हो ।

मानिस उत्कृष्ट, आदरणीय वा सम्मानित हुनमा कुनै जातिको बार हुनुहुँदैन । तर, संविधानमा नै खस आर्य लेखिँदा गैरखस–आर्यको मानमर्दन गरेको ठहर्छ । शब्द ज्ञानको अभाव र शब्दको व्याख्या–विश्लेषण नगर्ने बानीले पनि त्यतातिर गैरखस आर्यको ध्यान नपुगेको हुन सक्छ । हामीकहाँ गैरखस आर्यहरू उत्कृष्ट छन्, सम्मानित र आदरणीय छन् । यस अर्थमा एउटा मात्र जाति समूहलाई आर्य मानिँदा बाँकी सबै अनार्य हुने नै भए । त्यस्तो अर्थको अनर्थ लाग्ने गरी संविधानजस्तो मुलुकको मूल कानुनमा किन र कुन जातिको स्वार्थमा खस मात्रै लेखे पुग्नेमा आर्य किन जोडियो भन्ने कुरा प्रस्टै छ ।
जातकै कारण कोही उत्कृष्ट हुँदैन, आदरणीय र सम्माननीय पनि हुँदैन, तर यहाँ जातैले उत्कृष्टता देखाउने मनसायले संविधानमै आर्य शब्द लेख्न र लेखाउन सक्षम देखिए । काम, व्यवहार, पद, प्रतिष्ठाले उत्कृष्ट र आदरणीय हुनुको सट्टा जात नै उत्कृष्टता र निकृष्टता हुन्छ भन्ने खालको गलत सन्देश दिन खोजिनुको पछाडि ब्राह्मणवाद हावी भएको प्रस्ट हुन्छ । जात आफैँमा उत्कृष्ट र निकृष्ट हुँदैन । त्यो त व्यवहारले देखाउने हो । आफ्ना व्यवहार र चरित्रले समाजमा पहिचान दिन्छ, त्यही व्यवहार र चरित्रका आधारमा विशेषण प्राप्त गर्दछ । मानिसले असल वा खराब भनेर त्यही असल काम गरेर उत्कृष्ट वा असल विशेषण पाउँछ भने खराब आचरण र व्यवहारले निकृष्टताको संज्ञा पाउँछ ।

त्यसैले जातका आधारमा कोही मानिस उत्कृष्ट वा निकृष्ट हँुदैन भन्ने शाश्वत सत्यलाई आत्मासात् गर्दै तत्काल नेपालको संविधानको भाग–३ को धारा १८ को समानताको हकलगायत जहाँजहाँ खस आर्य उल्लेख गरिएको छ त्यहाँत्यहाँबाट आर्य शब्द हटाउँदा मात्र सबै जातजातिको संविधानतः समान सम्मान र आदर हुन सक्छ । सम्मानित खस जातिको पहिचान स्वीकार नगर्नेहरूको षड्यन्त्रस्वरूप आर्यरूपी अस्त्रमार्फत आफ्नो उच्चताबोधको प्रतिबिम्बको रूपमा आर्य लेखिएकोमा व्यापक असन्तुष्टि छ । त्यसको निराकरण भनेको संविधानमा लेखिएको खस आर्यबाट आर्य शब्द हटाउनु नै हो किनकि आर्य जात, वंश वा नश्ल होइन ।