आरआर स्ववियु सभापतिमा विकासको दाबेदारी

आरआर स्ववियु सभापतिमा विकासको दाबेदारी


Bikash Adhikari 3

जाडोयामको विदाई तथा चढ्दो मौसमी उष्णतासँगै विद्यार्थी संगठनहरुमा पनि स्ववियु चुनावको गर्मी चढेको छ । राजनीतिक दलको भातृसंगठनका रुपमा रहेका विभिन्न विद्यार्थी संगठन तथा संगठनमा आबद्ध सदस्यहरुलाई वर्षौंपछि हुन लागेको स्ववियु निर्वाचनले उल्लसित तुल्याउनु अस्वाभाविक पनि होइन । युनियनको नेतृत्व लिन विद्यार्थी नेताबीच उत्तिकै होडबाजी चलेको छ । यही होडबाजीबीच त्रिविविअन्तर्गत आरआर क्याम्पसमा नेविसंघले विद्यार्थी नेता विकास अधिकारीलाई स्ववियु सभापतिको बलियो दाबेदारको रुपमा हेरेको बुझिएको छ ।

नेवि संघको आशलाग्दा युवाहरुको कोटीमा गनिएका विकास अबको स्ववियु चुनावमा ‘गुणस्तरीय शिक्षासहित वैज्ञानिक एवं व्यवहारिक शिक्षा’ भन्ने नारासहित आफूले उम्मेदवारी दिन चाहेको बताउँछन् । नेपाली कांग्रेस धादिङ र नेपाल विद्यार्थी संघ धादिङका केन्द्रीय प्रतिनिधि समेत रहेका प्रतिभाशाली विद्यार्थी नेता अधिकारी आर आर क्याम्पस अखिलको गढ मानिए पनि यसपटक नेविसंघले बाजी मार्नेमा आफू विश्वस्त भएको दाबी गर्छन् ।

विगत लामो समयदेखि हुन नसकेको स्ववियु चुनावमा नेवि संघको पोजिशन दर्बिलो रहेको दाबी गर्ने अधिकारी नेविसंघ धादिङको एक उदयमान नेताको रुपमा चिनिन्छन् । आर आर बाट गणित र अर्थशास्त्रमा स्नातक गरिसकेका अधिकारी आफूलाई निकै बलिलो उम्मेदवारको रुपमा चित्रण गर्दै भन्छन्, ‘स्ववियु चुनाव भव्य र मर्यादित बनाउन सक्दो प्रयास गर्नेछु ।’