‘आफू ताक्छ मूढो बन्छरो ताक्छ घुँडो’

‘आफू ताक्छ मूढो बन्छरो ताक्छ घुँडो’


Rajendra Pathak 'Sagar'

– राजेन्द्रप्रसाद पाठक

हरेक दश वर्षमा एक युग समाप्त भई अर्को युग सुरु भएको प्रतीत हुन थालेको झण्डै सात दशक पूरा हुनै लाग्दा पनि राजनीतिक स्थिरतासहितको सुसंस्कृत, सौम्य र समृद्ध देश–समाज हेर्ने या उपभोग गर्ने लालसामा आजको चौथो पुस्ताले समेत तड्पिरहनु परेको छ । एक सय चारवर्षे राणा शासनको चिडियाघरे जीवनबाट दिक्दार भएर आजाद पन्छी बन्ने र स्वस्फूर्त विकासको चाहना राख्नाले नै जनताले अहिलेको जस्तो ऋतुरङ्गे अस्थिर राजनीतिको व्यभिचारी शिकार बन्नुपरेको हो त ? स्वतन्त्र राजनैतिक चाहना राख्नु र त्यसप्रति समाजलाई प्रेरित गर्नु नै के सामाजिक अपराध थियो त ?

यत्तिको अस्थिर र आत्मकेन्द्रित सोच–व्यवहार नेतृत्व तहबाट हुन्छ भन्ने भेउ पाइएको भए के जनता राजनैतिक परिवर्तनको लागि बत्तिमा पुतली फाल हानेजस्तो हाम्फाल्थे होला त ? नेतृत्वको आत्मकेन्द्रत आग बुझाउनका खातिर जनताले लोकतन्त्रको राग आलापेका हुन् त ? नेताका मामा, भान्जा, फुपु, फुपाजु, दिदी, भिनाजु, देवर, जेठाजु, नन्द, आमाजु, साला, साली, जेठान, भतिजा, भाउजु, दाजु, ज्वाइँ, छोरी, नाती, नातिनी, धोतिको साइनो, गुन्यूको साइनो, नभए चिनेका–किनेका सम्मका लागि मात्र लोकतन्त्र र समृद्धि हो भने बाँकी अन्यले प्रजातन्त्रका लागि दत्तचित्त, निवृत्तसम्म हुनु के बेकार भयो त ?

यी सबै खाले प्रश्न जनताको दिल दिमागमा जेलिएको छ । त्यसैले त जनताका लागि चुनाव होइन तनाव सावित भएको छ । चुनावी तामझाम र खर्च त्यसपछिको बजारको महङ्गाई यी सबै जनताको लागि अभिसाप बन्न अघिल्तिरै उभिइरहेका छन् । ‘आलु खाने भालु दोष पाउने कालु’ भनेजस्तै भैदिएको छ लोकतन्त्र । त्यसो भन्दैमा लोकतन्त्र आफैंमा अभिषाप भने पक्कै होइन तर यस तन्त्रलाई चलाउने मन्त्रधारीहरूको ‘म वादी’ भाव आत्मैदेखि शुन्यतातर्फ उन्मुख नभएसम्म जनताले सास्ती पाइ नै रहनेछन् भन्ने निचोड निस्किएको मात्र हो ।

हिजोका दिनमा जहानियाँ राणातन्त्र समाप्त गर्नकै लागि भनेर नेतालाई जनताले गुरु माने, ब्रह्मा माने, विष्णु माने, महेश्वर नै माने । त्यत्तिकै सरस अभिरुची प्रजातन्त्रप्रति भएकै कारण देशमा ठूलाठूला परिवर्तनहरू भएका हुन् । तीमाथि पनि समयान्तरमा धावा नबोलिएको होइन । तैपनि जनता चुप नबसेकै कारण लोकतन्त्र गणतन्त्रसम्म सफल भएको हो । र सबैथोक जनताका सामु निरीह भए, अस्थाइ थिए–गए, टिक्नै सकेनन् । तर नेतृत्वको मनभित्र गडेर रहेको क्लेस र द्वेषसहितको शोसकीय मृगतृष्णा भने नेतृत्वको तहबाट जनताले मेटाउन सकेनन् । जस्तोसुकै व्यवस्था र शासक फेरिएता पनि उनीहरूको मन भित्रभित्रै उब्जिएको द्वेषको भाव भने जनस्तरबाट मेटाउन सकिँदो रहेनछ । त्यस्तै नकारात्मक भावभङ्गीकै कारण बन्चरोले मूढो होइन घुँडो ताक्ने अवस्था सिर्जना भइरहेको महसुस हुन थालेको छ । पञ्चायतको पजनीपछि प्रजातन्त्रका भेषधारी पाँडेहरू शासनको बागडोर सम्हाल्नेसम्मका भए ।

त्यति नै बेला संविधानले व्यवस्था गरेअनुरुप नै होला प्रबुद्ध र प्रखरहरूलाई समेत जनमतबाट अनुमोदन गर्न गराउन नसक्ने अवस्था रहँदा शासन व्यावस्थाभित्र उचित स्थान उपलब्ध गराउन नसक्दा राजनीतिक नियुक्तिको व्यवस्था गरिएको थियो होला । तर, तिनै जनअनुमोदित इतरका लागि भनेर छुट्टाइएको व्यवस्थामा विभिन्न कालखण्डमा उपयोग–दुरुपयोग गर्दागर्दै प्रजातन्त्र पुनस्र्थापना भएको समय समेत झण्डै तिस वर्ष पुग्न थालिसकेको परिवेशसम्म आइपुग्दा नेतृत्वलाई चक्रवर्ती महाराजसम्म बन्ने झोक चल्यो । लहडमा लागेको बानी मनमस्तिकमा गएर नशालु पदार्थ सेवनपछिको मनोवृत्ति जस्तो पुस्तैनी राजघराना बन्न सक्नेसम्मको दुःस्वप्ना र दुस्साहासपूर्ण व्यवहारको पुनरावृत्तिको परिणामले सिर्जना गरेको विशिष्ट अवस्था हो यो ।

विभिन्न खाले राजनैतिक नियुक्तिका नाममा दलीय भागवण्डा गरी आफ्ना आफन्त र चिनेजानेकासम्मको नियुक्ति मात्र होइन अझ त्यो भन्दा पनि विकराल परिणाम सिर्जना गर्न सक्नेसम्मको अवस्थामा पु¥याउन सक्ने तथ्य सत्यसहित पद र प्रतिष्ठामा उक्लिएकाहरूले अथाह नगदनारायण यिनै नेताहरूलाई भेटी चढाएर बन्दोबस्ती मिलाइसकेका छन् । अदालतदेखि माल अड्डासम्म, एयरपोर्टदेखि कुटनैतिक नियोगसम्म, बारदेखि वेञ्चसम्म, सडकदेखि सदनसम्म, पियनदेखि जीएमसम्म, खलासीदेखि खजान्चीसम्म, अब त हुँदाहुँदै एमपी, मिनिष्टर, पिएम हुँदै राष्ट्रपतिसम्म नै लिलामीमा चढाउने अवस्था के साधारण गरीखाने जनताले सिर्जना गरेका हुन् त ?

उल्लेखित अनेक पदलाई बिक्रीवितरण गरेर प्राप्त भएको धन धुने धोवीसम्मको नियुक्त गर्दै देशमा आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, संकट यिनै राजनैतिक दलालहरूले नै निम्त्यिाएका हुन् भन्ने जनस्तरबाटै ठहर भइसकेको छ । लोकतन्त्रको हवाला दिएरै देश र जनताको शोषण र दोहन गर्नेहरू विभिन्न दलविशेषको प्रतिनिधि बन्न सफल हुनु नै यो देश र देशवासीको दुर्भाग्य हो । अब त यतिसम्मको घटिया चरित्र राजनेता भनाउँदाबाट प्रदर्शित हुन थालेको छ कि देशभित्र रहेको सार्वजनिक संस्थान, सार्वजनिक स्थल, जमिन, सम्पदा र पुरातात्विक महत्वका स्थलहरू, सरकारी स्वामित्वमा रहेको विभिन्न खाले सम्पत्ति संस्था आदि मात्र नभएर भागवण्डामा विभिन्न पद प्रतिष्ठा सिर्जना गरेर त्यसको समेत लिलाम बढाबढ जस्तो किसिमले बिक्री वितरण गर्नेसम्मको निकृष्ट व्यवहार यिनै कलंक स्वरुपबाट देखिन थालेपछि सिद्धान्तले मात्रै काम कतिन्जेल गरिरहला ? लोकतन्त्र आफैंमा त्यस्तो मेसिन होइन जसभित्र जनता राखीदिएपछि रिफाइन भएर समृद्धिसहितको जनार्दन बनेर निस्किउन् ।

यो त एउटा पद्धति मात्र हो । उचित परिचालन हुन नसकेमा गलत परिणाम समेत निस्कन बेर लाग्दैन । त्यसैले संकट आज प्रणालीको होइन, शक्ति पृथकीकरणको सिद्धान्तले समेत गलत काम गरेको हो भन्ने सोच राख्नुभन्दा पहिले त्यस व्यवस्थाभित्र बसेर काम गर्नेको नियत शुद्ध हुनुप¥यो । जब नियतमाथि शंका रहँदैन तब मात्र नियुक्तिले काम गर्ला नत्र नगदनारायण बुझाएर प्राप्त गरेको नियुक्तिले फेरि व्यापारको नियतभन्दा फरक नराख्ला । किनकि, लगानी गरेर आएकाले निश्चिय पनि लगानी उठाएर नाफा समेत गर्नुपर्दछ भन्ने व्यापारको साधारण सिद्धान्त हो । त्यसैले पदको व्यापारले अपारको प्रणाली विकास गर्दै लैजाने संकेत हो यो ।

अबको दिन झनझन विकराल बन्दै जानेमा आशङ्का गरिरहनु नपर्ला, किनभने खरिदकर्ताको लगानी ठूलो भइसकेको छ । अब त्यसको सावाँब्याज र नाफासमेत कमाउने दिनको सिर्जना भइसकेको छ । त्यसैकारण अब बन्चरोले मुढो ताक्ने होइन भागवण्डावाला व्यापारीको भुँडो ताक्ने बेला आइसकेको छ । अब जनताले नेताको घुँडो सायदै जोगाउलान् । अस्तु ।
(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाज नेपालका अध्यक्ष हुन् ।)