‘आईएसका सहयोगी’ भन्छन्– भ्रष्ट राजदूतले फसाए !

‘आईएसका सहयोगी’ भन्छन्– भ्रष्ट राजदूतले फसाए !


mahendra-jung-shahi-niranjanman-singh-basnet

कालिकोट जन्मथलो भई मलेसियामा केही वर्ष व्यवसाय गरेर एनआरएन मलेसियाको अध्यक्षसम्मको पहिचान बनाएका महेन्द्रजंग शाहीको सो जिम्मेवारी त खोसिइसकेको छ, नक्कली भिसा बनाएर बिक्री गर्नेलगायतका आरोपका कारण चर्चामा आएका उनी अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन आईएसको सहयोगीसमेत रहेको गम्भीर अभियोगका साथ हालै मलेसियाबाट ‘डिपोर्ट’ भएपछि थप चर्चा र रहस्यको पात्र बन्न पुगे । यस्तो गम्भीर अभियोगका साथ नेपाल फर्काइएका शाही यतिबेला थप चर्चाको पात्र बन्न पुगेका छन् । आईएस आतङ्ककारी समूहका सदस्यलाई नक्कली भिसा बनाइदिएकोसहितका अभियोग लगाएर पाँच वर्ष मलेसिया प्रवेश गर्न नपाउने गरी नेपाल डिपोर्ट गरिएका शाहीले आफू मलेसियाबाट खेदिनुको रहस्य बेग्लै कोणबाट खोलेका छन् ।

शाहीको कुरा पत्याउने हो भने मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतमाथि सरकारले विशेष अनुसन्धान गर्नुपर्ने हुन्छ । राजदूत बस्न्यातले गरेको भ्रष्टाचारको विरोध गर्दा आफूलाई आईएस आतङ्ककारीको आरोप लगाइएको शाहीको कथन छ । गत सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी शाहीले बस्न्यातमाथि यस्तो आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा शाहीले मलेसियामा बस्ने नेपालीलाई नेपाल फर्काउन मलेसियाका लागि नेपाली राजदूत बस्नेतले गैरकानुनी रूपमा कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई अवैधानिक रूपले चर्को रकम असुलेको दाबी गरेका छन् । दूतावास परिसरमा कोप्रासीको कार्यालय खोल्ने ठाउँ उपलब्ध गराई बस्नेतले गरेको अनियमितताको विरोध गर्दा आफूलाई नेपाल फर्काइएको उनले बताए ।

नेपालीले घर फर्किनका लागि बुझाउने आरएम १२५० को रसिद दिएर आरएम २१०० सम्म असुल्ने गरेको पाइएपछि आफूले त्यसैको विरोध गरेको र यसबाट तिल्मिलाएका बस्न्यातले रिसइबी साध्न आफूमाथि गम्भीर आरोप लगाएर फसाउन खोजेको तर्क गरे । राजदूतले कोप्रासी संस्थासँग मिलेर ३६ करोड भ्रष्टाचार गरेको शाहीको दाबी छ । उनले बताएअनुसार एनआरएनए मलेसियाका निवर्तमान महासचिव सुनिल चालिसेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गराउन दबाब दिइएको थियो, नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशकसहितको टोली मलेसिया पुग्दा पनि राजदूतको उक्त कार्यको अनुसन्धानका लागि पहल गर्न शाहीलगायतले आवाज उठाएका थिए, त्यही कारण उनलाई फसाउन खोजिएको हो ।

गैरकानुनी रूपमा मलेसियामा रहेका नेपालीलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, बिमासमेत गरी जम्मा १३२० रिंगेटमा घर फिर्ता गर्न सकिने अवस्था हुँदाहुँदै करिब एक हजार बढी रकम लिएकोमा विरोध गरिएको उल्लेख गर्दै शाहीले भने, ‘त्यही कारण राजदूतले इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेलमार्फत मविरुद्ध झुटो आरोपको निवेदन दिन लगाई सोही बहानामा फसाउन खोजेर मलेसिया प्रशासनमार्फत पक्राउ गराएका हुन् ।’

मलेसियामै १४ दिनसम्म प्रहरी हिरासतमा राखेर राजदूत बस्न्यातकै आग्रहमा पाँच वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाइएका शाहीको मलेसियामा रहेका सबै चलअचल सम्पत्ति रोक्का राखी भिसासमेत रद्द गरिएको छ । आफू कुनै अपराधमा संलग्न नभएको र अन्यायपूर्वक नेपाल फकाईएको दाबी उनको छ । यसरी मलेसियाबाट नेपाल आएको आफूमाथि प्रहरीले आतङ्ककारीको जस्तो व्यवहार गरेको गुनासो पनि उनले गरेका छन् । उनले राजदूत बस्न्यातलाई तत्काल बर्खास्त गरी भ्रष्टाचारको छानबिन गर्न सरकारसँग आग्रहसमेत गरेका छन् । तर, आफूमाथि लागेको नक्कली भिसा तयार गरी बेच्ने गरेकोजस्ता आरोपका विषयमा भने शाहीले प्रस्ट र चित्तबुझ्दो जवाफ दिन सकेनन् ।