अमेरिकामा पनि यस्तो हुन्छ र ?

अमेरिकामा पनि यस्तो हुन्छ र ?


babita basnet 15

■ बबिता बस्नेत

०७३ साउन ३२ गते अमेरिकाको मुटु मानिने न्युयोर्कस्थित जोन अफ केनडी एयरपोर्टमा दिउँसो १ बजे प्लेन ल्यान्ड गर्दै गर्दा एयर होस्टेजले स्थितिको जानकारी दिँदै भनिन्, ‘एयरपोर्टमा बत्ती गएकाले हामी केही समय प्लेनमै बस्नुपर्ने भएको छ, असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’ एकैछिन त गलत सुनाइ र बुझाइ भयो कि जस्तो लाग्यो । सोही कुरा पटक–पटक भनेपछि मनमा प्रश्न उठ्यो– लौ न ! अमेरिकामा पनि यस्तो हुन्छ र ? अपर्झट परेको भनिएको त्यो अवस्थाले एयरपोर्टमा निकै अप्ठ्यारो पर्‍यो । एयरपोर्टको सिस्टम आपतकालीन बत्तीले चले पनि बत्तीका कारण ब्याग ल्याउने मेसिन नचल्दा यात्रुहरू अलमल्ल पर्ने स्थिति आयो । अध्यागमन पार गरेर लगेज लिने ठाउँमा पुग्दा साना आपतकालीन बत्तीले अलिअलि उज्यालो दिए पनि पर्याप्त नभएकाले यात्रुहरू मोबाइलको बत्ती बालेर आफ्नो ब्याग कहिले आउँछ भनेर पर्खिरहेका थिए । बत्ती नभएपछि मेसिनबाट आउने कुरै भएन । एयरपोर्ट कर्मचारी, सुरक्षाकर्मी सबै नै बत्तीको प्रतीक्षामा थिए । पाँचवटा जति जहाजका यात्रुले ठाउँ खचाखच थियो । प्रत्येक ६ मिनेटमा प्लेन आउने–जाने गर्ने जेएफके एयरपोर्टमा आउने अरू प्लेनबाट यात्रुहरूलाई ओर्लिन दिइएको थिएन भन्ने कुरा तीन घन्टासम्म थप यात्रुहरू ब्याग लिने ठाउँमा नआएबाट बुझिन्छ । अध्यागमनको घुइँचो कम गर्न यात्रुहरूलाई प्लेनमै राखिएको थियो । निकैबेर कुर्दा पनि बत्ती नआएपछि ब्यागहरू ट्रलीमा राखेर ल्याउन थालियो । सयौँ ब्यागहरू मान्छेले तान्दै–तान्दै ल्याउँदा समय लाग्ने नै भयो । त्यत्तिका समय लाग्दा मानिसहरू आत्तिए, तर ठूलो स्वरले कोही बोलेन । कतिका आफन्तहरू बाहिर लिन आएका थिए, उनीहरू यत्तिका समयसम्म कुरिरहेका होलान् त ? भित्र के भइरहेको छ भन्ने थाहा नपाएर उनीहरू गए भने गन्तव्यसम्म कसरी पुग्ने ? विशेषगरी बूढाबूढीहरू यस्तो प्रश्न गरिरहेका थिए । छिमेकीलगायत अन्य मुलुकबाट पहिलोपल्ट अमेरिका पुगेकाहरू एक–अर्कामा कुराकानी गर्दा भनिरहेका थिए, ‘अमेरिकामा पनि यस्तो हुन्छ र ?’

वास्तवमा अमेरिकामा पनि यस्तो हुन्छ र ? भन्ने प्रश्न पटक–पटक आउँछ । जेएफकेमा उक्त दिन भएजस्तो बिजुली जाने कुरा अमेरिकामा अत्यत्नै कम हुने कुरा हो । लामो समय बिजुली जाने कुरा त्यहाँ अस्वाभाविक हो । कहिलेकाहीँ ट्रेनमा पनि यस्तो हुने गर्छ । सन् २०११ मा वासिङ्टनडीसीबाट न्युयोर्क जाँदै गर्दा यो पङ्क्तिकारले ट्रेनमा त्यस्तै समस्या भोग्नुपरेको थियो । विश्वका मानिस बस्ने सहर भएकाले न्युयोर्कमा प्राय: सबै देशका सांस्कृतिक कुराहरूदेखि लिएर रहनसहन सबै नै देख्न पाइन्छ । बङ्गालीको अपार्टमेन्टमा माछा पाक्नेदेखि लिएर नेपालीको भान्सामा तामा आलु, गुन्द्रुकलगायतका खानेकुरा पाक्नु सामान्य कुरा हो । नेपालमा जस्तै गरी चाडबाड मनाउनु, नेपालमा जे चलेको छ त्यस्तै गहना या सारी, लेहंगालगायतका कुरा खोज्नुले देश छोडे पनि नेपालमा गरेका अभ्यासहरू छोडिएका छैनन् भन्ने स्पष्ट हुन्छ । न्युयोर्कमा अहिले तिजको धमाधम रहेछ । काठमाडौंमा जस्तै दरका लागि पैसा उठाउने, एकै ठाउँ जम्मा हुने र दर खाने काममा महिलाको व्यस्तता निकै देखिन्छ । फरक के हो भने यसरी दर खानका लागि नेपालमा महिला जहिले पनि तयार हुन सक्छन् । अमेरिकामा बस्ने नेपाली महिला प्राय: सबै नै कुनै न कुनै काममा व्यस्त हुने हुँदा छुट्टी मिलाउनुपर्ने हुन्छ । तिजको ‘ड्रेस कोड’ रातो सारी र हरियो तिलहरी । गीत र नाचहरू सबै नेपाली । खाना पनि सकेसम्म उस्तै । पहिलोपल्ट अमेरिका पुग्ने नेपालीको मनमा फेरि उही प्रश्न उब्जिन्छ– लौन, अमेरिकामा पनि यस्तो हुन्छ ?

तिज होस् या अन्य चाडबाड, पहिला भए धेरै कुरा काठमाडौंबाटै मगाउनुपथ्र्यो । तर, अहिले त्यस्तो छैन । सारी जस्ता भए पनि पाइन्छन् । छिमेकी मुलुकका नागरिकहरूले चलाएका पसलमा नयाँ–नयाँ डिजाइनका सारी लेहंगालगायतका पोसाकको कमी छैन । काठमाडौंमा सबैथरी नपाइएला, तर अमेरिकामा पाइन्छ, सबैभन्दा बढी न्युयोर्कमा । ज्याक्सन हाइट, क्विन्स, न्युजर्सीमा दक्षिण एसियालीलाई नै लक्षित गरेर खोलिएका पसलहरू प्राय: खचाखच नै हुन्छन् । केही वर्षअघिसम्म सारी पाए पनि फल्स हाल्ने, ब्लाउज पेटिकोट सिलाउने झन्झट थियो । ब्लाउज र पेटिकोट काठमाडौंबाटै सिलाएर ल्याउनुपथ्र्यो । अहिले त जस्ता ब्लाउज पनि पसलवरिपरि नै सिलाइ हुन्छन् । पछाडि पूरै खोलेकादेखि छोपेकासम्म, झुम्का हालेकादेखि सादासम्म । पछाडि धेरै खोलेका चोलो लाउनेमा चाहिँ नेपालमा जस्तै अमेरिकामा पनि अधबैंसेहरू नै छन् । खासमा उमेर ढल्किएपछि महिलाहरू किन पछाडि खोलेका ब्लाउज लाउँछन् ? त्यस्ता प्रश्न त्यहाँ पनि उब्जिँदा रहेछन् । डिजाइनअनुसार चोलो सिलाएको ज्याला फरक छ, सुरुचाहिँ ३५ डलरबाट हुन्छ । फल्स हालेको ८ डलर, पेटिकोट प्राय: सिलाएकै पाइन्छ । तिजको रमझम काठमाडौका टोलटोलमा जस्तै न्युयोर्कका बस्ती बस्तीहरूमा सुरु भइसक्यो । कहिले कुन क्षेत्रमा कहिले कुन क्षेत्रमा, निमन्त्रणाहरू आदान–प्रदान हुन्छन् । यहाँ पनि टिकट सिस्टम छ, एउटा पार्टीको प्राय: ३५ डलर । गीत, माहोल, म्युजिक पूरै नेपाली । २० वर्षदेखि अमेरिका बस्दै आएकी खुश्बु थापा मजुम्दारले भनिन्, ‘पूरै अमेरिकाभरि सबैभन्दा बढी तिजको रमाइलोचाहिँ न्युयोर्कमै हो ।’

हुँदैहुँदै नेपालीहरू मिलेर ढिकुटी पनि खेल्ने गरिएको छ । नेपालमा बद्नाम भए पनि न्युयोर्कमा भने ढिकुटीले नेपालीलाई सहज बनाउँदै आएको रहेछ । एकैपटक पैसा जम्मा हुन्छ । तीसजनाले एक हजारको खेले भने ३० हजार भइहाल्यो । एकैपल्ट यति पैसा भएपछि व्यापार–व्यवसाय जेमा लगाए पनि भयो । ढिकुटीको बहानामा एक–अर्कासँग भेटघाट हुन्छ । त्यही नाममा रमाइलो पनि । विभिन्न समूह बनाएर ढिकुटी खेल्नेहरूको सङ्ख्या निकै छ । आ–आफ्नो पालोमा कसैले घरमै जमघटको आयोजना गर्छन्, कसैले रेस्टुरेन्टमा । रेस्टुरेन्टमा गर्दा नेपाली रेस्टुरेन्टमै गरिन्छ । नेपाली गीत सुन्दै रमाइलो गर्नुको आनन्द नै अर्को । ढिकुटीका लागि पनि समय मिलाउनुपर्ने भएकाले शुक्रबार या शनिबारको साँझमा पारिन्छ । सकेसम्म सबैका परिवार नै जम्मा भयो, एक–अर्कामा घुलमिल पनि हुने, रमाइलो पनि हुने, एकमुष्ठ पैसा त छँदै छ । यसपटकको यात्रामा एउटा ढिकुटी जमघटमा पाहुनाको रूपमा सहभागी हुन पाइयो । फोनमा काठमाडौंमा आफन्तहरूलाई सुनाउँदा प्राय: सबैको उही प्रश्न– अमेरिकामा पनि त्यस्तो हुन्छ र ?