अमरेशको उपस्थितिमा निधिको आपत्ति !

अमरेशको उपस्थितिमा निधिको आपत्ति !


Amresh-nidhi

उपेन्द्रकान्त अर्यालले सोमबार मध्यरातदेखि महानिरीक्षक पदबाट अनिवार्य अवकाश पाउने भएपछि त्यसअघि ‘निमित्त’ कसलाई दिने भन्ने विषयमा परामर्श गर्न फागुन २ गते अपराह्न ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा एक परामर्श बैठकको आयोजना गरिएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कृष्णबहादुर महरा, सांसद एवम् नेपाली काङ्गे्रसका युवा नेता डा. अमरेशकुमार सिंह, मुख्यसचिव सोमलाल सुवेदी, प्रचण्डपुत्र प्रकाश दाहाल, माओवादी नेता मातृका यादव र महान्यायाधिवक्ता रमण श्रेष्ठको सहभागिता थियो । सहभागीहरूले आ–आफ्ना विचार प्रकट गर्दै थिए, अचानक गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डसँग एकान्त गर्नुभयो र ‘अमरेशलाई यहाँ किन बोलाएको’ भनी कानमा फुसफुसाउनुभयो ।

प्रचण्डले निधिलाई के जवाफ दिनुभयो बुझ्न सकिएन, तर विमलेन्द्र निधिचाहिँ अमरेशको उपस्थितिलाई अप्ठ्यारो मान्दै बैठकमा बसिरहनुभयो ।
महान्यायाधिवक्ताको रायअनुसार मन्त्रिमण्डलको बैठकद्वारा प्रहरी नियमावली संशोधन गरी प्राविधिकतर्फका वरिष्ठतम् अधिकृतलाई समेत विशेष अवस्थामा निमित्त आईजीपीको जिम्मेवारी दिने भन्ने भएपछि मन्त्री निधि क्याबिनेटको बैठकमा आफू सहभागी हुन नसक्ने भन्दै सो परामर्श बैठकबाट बाहिरिनुभएको थियो । निधि बाहिरिएपछि सो कुराको जानकारी प्रधानमन्त्री प्रचण्डले काङ्गे्रस सभापति शेरबहादुर देउवालाई गराउनुभएको थियो ।

उक्त परामर्श बैठकमा प्रचण्डले आफ्ना छोरादेखि सांसद पदमै नरहेका मातृका यादवसम्मलाई सहभागी गराउनुभएको थियो, त्यसप्रति निधिले आपत्ति जनाउनुभएन । तर, सांसद अमरेशकुमार सिंहको उपस्थितिलाई भने उहाँले रुचाउनुभएन । निधिले अमरेशलाई किन रुचाउनुभएन भन्ने जिज्ञाशा प्रधानमन्त्री स्वयम्मा पनि उत्पन्न भएको बताइन्छ । आफूलाई मध्यपूर्वी मधेसको एकछत्र नेता ठान्नुहुने विमलेन्द्र निधि आफ्नो प्रभाव क्षेत्रमा अरू कसैको उचाइ बढेको देख्न चाहनुहुन्न भन्ने तथ्य सबैमा जाहेर नै छ । त्यसैले उहाँले उच्चस्तरीय परामर्श बैठकमा अमरेश सिंहको उपस्थितिलाई पनि रुचाउनुभएन । तर, बाह्रबुँदे सम्झौतादेखि हालसम्म कुनै न कुनै रूपले सहकार्य गर्दै आउनुभएका प्रचण्डले आफूलाई अप्ठ्यारोमा परेका बेला अमरेशकुमार सिंहलाई परामर्शका लागि बोलाउनु कुनै आश्चर्यको विषय भने मानिएको छैन ।