अटुट साइनो योगेन्द्र र यातायातको

अटुट साइनो योगेन्द्र र यातायातको


  • जयप्रकाश त्रिपाठी

कर्म गर्ने तर फलको आशा नराख्ने, व्यक्तिगत लाभका लागि नभई समाज र देशकै निम्ति मरिमेट्ने, कुनै ओहोदाको अस्वाभाविक आकाङ्क्षा प्रदर्शन नगर्ने, कर्म गर्दा जे परिणाम आउँछ त्यसलाई धैर्यसाथ स्वीकार गर्दै निरन्तर कर्तव्यपथमा डटिरहने, लोभ र लाभको भासमा परेर ठाँटबाँटमा रमाउनुभन्दा इमान र स्वाभिमानका साथ उँचो शिर गरेर बाँच्ने….!

चर्को महत्त्वाकाङ्क्षा, तीव्र प्रतिस्पर्धा, स्वार्थ, जालझेल वा छलकपट मौलाएको आजको समाजमा माथि उल्लेख गरिएबमोजिमको गुण भएका व्यक्ति भेटिनु दुर्लभ नै मान्नुपर्छ । तर, काभ्रे बनेपाको एक मध्यमवर्गीय व्यापारी–परिवारमा जन्मिएर आफ्नो खुट्टामा उभिन सक्ने अवस्थादेखि नै यातायात व्यवसायमा समर्पित भई नेपालको यातायात क्षेत्र सुधारको सपना साकार पार्न अहोरात्र डटेका योगेन्द्रनाथ कर्मचार्य कर्तव्यपरायणता र इमानदारीको कसीमा यस्तै एक दुर्लभ पात्र हुन् ।

०१५ भदौ २६ का दिन बनेपामा माता नानीछोरी र पिता विश्वनाथ कर्माचार्यका माइलो सुपुत्रका रूपमा जन्म लिएका योगेन्द्र कर्माचार्यलाई सोझो गरी चिन्नुपर्दा एक यातायात व्यवसायी तथा यातायात क्षेत्रको सुधारमा लागेका अथक अभियन्ताको रूपमा चिनिए पनि सामाजिक क्रियाकलापमा उनको संलग्नता र सक्रियताको दायरा निकै फराकिलो र उन्नत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार, नेपाल परिवार नियोजन सङ्घ काभ्रे शाखाका सभापति, सुरक्षित सडक सरोकार समाज नेपालका अध्यक्ष, बनेपाली यातायात प्रा.लि.का अध्यक्ष, राजदास बादे स्मृति प्रतिष्ठानका उपाध्यक्ष, चण्डेश्वरी मन्दिर क्षेत्र प्रवद्र्धन तथा संरक्षण उपभोक्ता समितिका सल्लाहकार, प्रतिभा सम्मान प्रबन्ध गुठी (बनेपा)का सहकोषाध्यक्ष, कोटेश्वर पूर्वयातायात समन्वय समितिका वरिष्ठ सल्लाहकार, चण्डेश्वरी मन्दिर पुनर्निर्माण तथा छाना सुधार समितिका सल्लाहकार, सितेरियो कराते दोजो काभ्रे शाखाका सल्लाहकार, लक्की युवा क्लब बनेपाका सल्लाहकार, सोसियल सर्भिस युवा क्लब (बनेपा)का सल्लाहकार, काँथु गणेश साकोस बनेपाका सल्लाहकार, आजाद उमावि (बनेपा)का सल्लाहकार, स्मृति छात्रवृत्ति कोष (बनेपा)का सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला समिति सदस्यलगायत दर्जनौँ सङ्घ–संस्था तथा सामाजिक क्रियाकलापसँग जोडिएका योगेन्द्रको सोच–व्यवहार हरदम स्वच्छ एवम् जनता र देशप्रति समर्पित रहँदै आएको छ । पञ्चायतकालीन अप्ठ्यारो परिवेशमा समेत ‘प्रजातन्त्र’प्रति प्रतिबद्ध उनी हरेक व्यक्ति बोलीमा होइन व्यवहारमा प्रजातान्त्रिक हुनुपर्ने मान्यता राख्छन् ।

योगेन्द्रका बाजेले भन्थे अरे– ‘शिर ठाडो गरेर हिँड्ने काम गर, स्वाभिमान भन्ने कुरा पैसाको बलमा आउँदैन, कर्मले मात्र त्यो सम्भव हुन्छ ।’ हो, बाजेको यो अमूल्य अर्ती जीवनमा हरबखत पालना गरेका छन् योगेन्द्रले । उनी झुत्रोमुत्रो कपडामा हिँडे पनि स्वाभिमानका साथ हिँड्छन् । सायद उनी मुलुककै एक मात्र यातायात व्यवसायी होलान्, जो हमेसा सार्वजनिक यातायातमा सवार रहन्छन् । उनलाई कारमा ठाँटिएर हिँड्नुपर्दैन, तर कारमा हिँड्नेले पनि शिर झुकाउँछन् उनीसमक्ष ।

जिम्मेवारी लिएपछि एकचित्तले पूरा गर्न लागिपर्ने, चाकडीचाप्लुसी गरेर होइन कर्मकै बलमा आफ्नो स्थान लिने कर्तव्यपरायण स्वभावका धनी योगेन्द्रनाथले कहिल्यै कुनै ओहोदा या व्यक्तिगत लाभका निम्ति सेवा र राजनीति गरेनन् । उनको यो यइमानदारी व्यवहारमा पूरापूर झल्किन्छ । योगेन्द्रले डोर्‍याएका या बाटो देखाएका कैयन् व्यक्ति आज कहाँ–कहाँ, कस्ता–कस्ता पदमा पुगिसके, तर यसमा उनलाई कुनै डाह, ईष्र्या, छटपटी होइन खुसी र सन्तुष्टि नै छ । जहिले जे हुनुपर्ने हो त्यो समय आएपछि मात्र हुन्छ भन्ने दृढ मान्यता छ उनको । भन्ने नै हो भने ठूला पदमा बसेका मानिसको भन्दा योगेन्द्रको व्यक्तित्वको उचाइ माथि छ । उनलाई चिन्नेहरू उनको इमानदारी र कर्तव्यपरायणताको गुणगान नगाउने विरलै होलान्, यसलाई नै उनले आफ्नो निम्ति पुरस्कार ठानेका छन् ।

व्यापारीका छोरा हुनुको नाताले व्यापारमा बाबुबाजेलाई सघाएरै योगेन्द्रको बाल्यकाल बित्यो । स्थानीय आजाद माविका छात्र रहेका उनमा एसएलसी परीक्षा दिएपछि आफ्ना मिल्ने साथीभाइ नछुटुन्, सम्पर्कमा रहिरहुन् भन्ने ध्येयले एउटा क्लब स्थापनामा गर्ने सोच पलायो । फलत: ०३२ सालमा न्हुजभूमि युवा क्लब (नयाँकिरण युवा क्लब) गठन हुन पुग्यो । स्कुलमा छँदै जुनियर रेडक्रस सोसाइटीको सदस्यका रूपमा सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनको सामाजिक सेवाको यात्राले त्यसपछि थप उचाइ र गति लियो । योगेन्द्रको स्वभाव किशोरवयमा अत्यन्त लजालु थियो । मानिसका अगाडि बोल्न, भाषण गर्न भनेपछि लाजले भुतुक्कै हुने उनमा पछि सामाजिक क्रियाकलाप तथा सङ्घ–संस्थामा आबद्धता बढेपछि स्वभावमा ठूलो सकारात्मक परिवर्तन आयो ।

आफू कसरी यातायात क्षेत्रमा संलग्न हुन पुगियो भन्ने सन्दर्भ योगेन्द्र यसरी सम्झन्छन्, ‘बुबाले सञ्चालन गर्दै आउनुभएको २७५ नम्बरको बस थियो काठमाडौं-बाह्रबिसे-तातोपानी चल्ने । व्यवसाय बुबाले नै हेर्नुहुन्थ्यो । एसएलसी सकिएपछि मलाई गाडीमा घुम्ने रहर भयो । बुबासँग मनको कुरा राखेँ, मुस्किलले उहाँले स्वीकृति दिनुभयो । यसरी बाह्रबिसे-तातोपानी यात्रामा म हिँड्न थालेपछि यातायात क्षेत्रको नसा बिस्तारै चढ्न थाल्यो । मर्मतका लागि वर्कसप पनि जानुपथ्र्यो । यसरी यातायात व्यवसायबारे सबै पक्ष बुझ्न थालेपछि बुबाले ‘लौ बसको व्यवसाय नै तिमी आफैँ हेर’ भन्नुभयो र जिम्मेवारी नै ममा आयो ।’

‘०४० सालको कुरा हो, ०२९ मा स्थापना भएको अरनिको यातायात सेवा समितिमा रहेर काम गर्ने योग्य व्यक्ति नभेटेपछि अग्रज व्यवसायी एवम् अरनिको यातायात सेवा समितिका संस्थापक अध्यक्ष डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठको आग्रहमा ०३८ सालदेखि म उक्त समितिमा सचिवको रूपमा संलग्न भएँ,’ योगेन्द्र पुराना दिन स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला म आरआर क्याम्पस पढ्थेँ । सचिवको जिम्मेवारी लिन प्रस्ताव आएपछि मैले ‘भ्याउँदिनँ, बस्दिनँ, पढाइ बिग्रन्छ’ भनेँ । म त जहाँ बस्यो त्यहीँ एकोहोरिएर काम गर्नुपर्ने व्यक्ति हुनाले पढाइ बिग्रने डरले त्यसो भनेको थिएँ । तर, अग्रजहरूले कर गरेपछि टार्न सकिएन । बसियो, बसेपछि प्रशासनिक काम हेर्नैपर्‍यो । हेर्दै-गर्दै जाँदा समितिमा भएको लथालिङ्ग ताल उजागर भयो । त्यसबेलादेखि नै आफूले लिएको जिम्मेवारीमा सक्दो सुधार गर्नैपर्ने स्वभाव ममा विकसित भयो भन्ने लाग्छ ।’

त्यसपछि पढाइभन्दा यातायातको काममा योगेन्द्रको ध्यान खिचियो । ०४० सालदेखि नै यातायात व्यवसायीको नेतृत्वदायी भूमिकामा रहँदै आएका उनको कर्तव्यपथमा सोही वर्षदेखि थप सुस्पष्टता आयो । यसो हुनुमा तत्कालीन नारायणी यातायात व्यवसायी सङ्घबाट नेतृत्व गरेर आएका उत्साही युवा–व्यक्तित्व जीवनसिँह भण्डारीसँग योगेन्द्रको संयोगवश भएको भेट नै प्रमुख कारण रहेछ । जीवनसिंह भण्डारीसँग माइतीघरमा चिनजान भएपछि आफ्नो करियरमै नयाँ र उत्साहजनक मोड आएको उल्लेख गर्दै योगेन्द्र भन्छन्, ‘जीवनसिंह भण्डारीसँगको भेटले मेरो करियरमा नयाँ मोड, नयाँ आयाम ल्याइदियो, किनकि उहाँ पनि केही गरौँ भन्ने सोच भएको, व्यक्तिगत लोभलालच पटक्कै नभएको अथक् र इमानदार व्यक्ति हुनुहुँदोरहेछ, म पनि जिम्मेवारी लिएपछि काम गर्नुपर्छ भन्ने व्यक्ति । उहाँ र मेरो सोच मिल्यो । मेरोभन्दा उहाँको सोच अझ उच्च हुनाले कैयन् कुरामा उहाँले मलाई उपयुक्त सुझाव दिने गर्नुहुन्छ । समाज र देशका लागि इमानदारीसाथ काम गर्ने व्यक्तित्व हो जीवनसिँह भण्डारी भन्ने मेरो अटल बुझाइमा दिनानुदिन विश्वास बढेको छ ।’ नेपाल यातायात व्यवसायी सङ्घमा योगेन्द्रनाथ कर्माचार्यको प्रतिनिधित्व अरनिको यातायात सेवा समितिबाट र जीवनसिंह भण्डारीको प्रतिनिधित्व नारायणी यातायात व्यवसायी सङ्घबाट भएको थियो । त्यसरी ४० सालदेखिको उहाँहरूको सहयात्रा अनवरत जारी छ । सोच–व्यवहार मिलेपछि यस्तो हुँदोरहेछ भन्छन् कर्मका धनी कर्माचार्य ।

‘यातायात क्षेत्रमा माथिल्लो तहबाटै सुधार ल्याउनुपर्छ भन्ने जीवनजीको सोचमा मैले साथ दिएँ, दिँदै आएको छु,’ योगेन्द्र पुराना कुरा सम्झँदै भन्छन्, ‘०४७–४८ मा यातायात व्यवसायी सङ्घको महाधिवेशन भएको थियो । त्यो अधिवेशनबाट जीवनसिंहजीलाई यातायात व्यवसायी सङ्घको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिने भनी तत्कालीन अग्रज व्यवसायी दिनेश भण्डारी र मैले सल्लाह गर्‍यौँ । जीवनजीले सहजै स्वीकार गर्नुभएन, तर पछि मनायौँ । चोपनारायण श्रेष्ठ अध्यक्ष, होमप्रसाद अधिकारी महासचिव हुनुहुन्थ्यो । यात्रा सुरु भयो । जीवनजीले सुधारका काम गर्न थाल्नुभयो, तर उहाँको कार्यशैलीसँग हिजोका पुरातनवादी साथीहरूको सोच–व्यवहार मिलेन । हिँड्ने बाटो र उद्देश्य नै फरक भएपछि त द्वन्द्व सुरु हुने नै भयो । जब उहाँको भिजन कार्यान्वयन गर्न तत्कालीन नेतृत्वले मानेन, अनि नचाहँदा–नचाहँदै पनि परिस्थितिवश हाम्रो अलग बाटो सुरु भयो । जीवनजीको नेतृत्वमा यातायात क्षेत्रका विकृति–विसङ्गति सुधार्ने काममा हामी निरन्तर लागिरह्यौँ । यात्रा जारी नै छ ।’ ०४० देखि लागिपर्दा पनि आफूहरूको सोच कार्यान्वयन हुन नसकेको, जसरी यातायात क्षेत्रका विकार पन्छाएर सुधार गर्न खोजिएको हो, त्यो सपना साकार नभएको सन्दर्भले भने योगेन्द्रलाई पीडा दिन्छ ।

‘आखिर के रहेछ त नेपालको यातायात क्षेत्रको विकृति र सुधार्नुपर्ने के रहेछ त ?’ भन्ने सवाल गर्दा योगेन्द्र भन्छन्, ‘यो अरू कुराको व्यापारजस्तो होइन, यसमा तीन–चारवटा फ्याक्टरले काम गर्छ । यात्रुसँग सम्बन्धित, बाटोसँग सम्बन्धित, मजदुरसँग सम्बन्धित, लगानीकर्ता या गाडीधनीसँग सम्बन्धित र सरकारसँग सम्बन्धित । यी पाँच कुरा यातायात व्यवसायमा जोडिएर आउँछ, जब कि अन्य व्यवसायमा लगानीकर्ताको व्यक्तिगत स्वार्थ या नाफा–घाटाको कुरा मात्र आउँछ । एउटा निश्चित कम्पाउन्डभित्र त्यो चल्छ । तर, यातायात पेसा त सडकमा हुन्छ, यसको दायरा निकै फराकिलो छ र यसले असर पार्ने क्षेत्र पनि व्यापक हुन्छ । मैले यहाँ उल्लेख गरेका पाँचमध्ये एउटाले मात्र काम गरेन भने सारा सिस्टम नै अस्तव्यस्त हुन पुग्छ । तर, यस्तो महत्त्वपूर्ण क्षेत्रमाथि सरकारी दृष्टि भने अझै साँघुरो र बक्र नै छ । कुनै दलको सरकार आउँदा पनि यो क्षेत्रको पीडा र दुर्दशाको सुनुवाइ भएन, सुनुवाइ गरी सुधारका काममा सघाउन खोज्ने एकाध नेताहरूलाई पनि कर्मचारीतन्त्रको जालेमाले पाराले अल्झाइदियो ।’

यसै प्रसङ्गमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जोडिएको सन्दर्भ सुनाउँदै उनी भन्छन्, ‘प्रजातन्त्र पुनस्र्थापनापछि गिरिजाबाबु प्रधानमन्त्री हुँदा उहाँले जीवनजी र मलाई बोलाएर यातायात क्षेत्रलाई व्यवस्थित तुल्याउनुपर्‍यो भनी आग्रहपूर्वक निर्देशन दिनुभयो । सो क्रममा नेपाल ‘राष्ट्रिय यातायात व्यवसायी महासङ्घ–२०५०’ स्थापना भयो । त्यसको नेतृत्व मलाई दिने कुरा भयो, तर मैले मानिनँ । जीवनजीको कुरा कहिल्यै नकाट्ने मैले त्यतिबेला उहाँको आग्रह पनि टार्न खोजेँ । पछि जीवनजीले मलाई गिरिजाबाबुकहाँ लिएर जानुभयो । सायद उहाँहरूबीच पहिले नै कुरा भइसकेको रहेछ क्यारे, गिरिजाबाबुले ‘ल, योगेन्द्रजी, यो महासङ्घको नेतृत्व तपाईंले गर्नु †’ भन्नुभयो । मैले केही बोल्नै सकिनँ । दोहोरो कुरै गर्ने हिम्मत नै आएन । जीवनजीले भूमिका बाँधेर कुरा गरिदिएपछि पहिलो महासङ्घको अध्यक्ष म नै भएँ । त्यतिखेर हामीले त्यो संस्था नबनाएको भए आज यातायात क्षेत्रमा यत्ति पनि हुने थिएन भन्ने लाग्छ । तर, यत्रो वर्षमा पनि हामीले आफ्नो भिजन लागू गर्न नसक्दाचाहिँ यो देशको प्रशासनतन्त्रपति टिठ नै लागेर आउँछ । हामी त छक्कै परिरहेका छौँ । मुलुकको सन्दर्भमा यातायात क्षेत्रको महत्त्व यति गहन छ कि व्याख्या गरिसाध्यै छैन, तर यस्तो महत्त्वको क्षेत्रलाई हेर्ने नेपाल सरकारको दृष्टि नै बक्र छ ।’

निकासको उपाय औँल्याउँदै योगेन्द्र भन्छन्, ‘यातायात क्षेत्रको दूरावस्था निराकरणका लागि स्पष्ट यातायात नीति बनाइनुपर्छ, एउटा निर्देशिका चाहिन्छ, त्यसमा व्यवसायीको दायित्व, मजदुरको कर्तव्य, सरकारको भूमिकाजस्ता कुरा प्रस्टसँग उल्लेख हुनुपर्छ, त्यो यातायात नीति वा निर्देशिका मन्त्रीस्तरबाट होइन, क्याबिनेटले नै पारित गर्नुपर्छ र सम्बद्ध सबै पक्षले त्यसको पालना गर्नुपर्छ, तब मात्र यातायात क्षेत्र सुधारको दिशामा जानसक्छ ।’ तपाईंहरूले नै निर्देशिका तयार पारेर दिए सरकारको आँखा खुल्थ्यो कि ? भन्ने जिज्ञासा राख्दा उनी प्रस्ट्याउँछन्, ‘कतिपटक तयार पार्‍यौँ–पार्‍यौँ, सरकारलाई बुझाएका हौँ, तर त्यो कहाँ थन्किएको छ पत्तै छैन । हामीले सुझाएका उपाय यातायात निर्देशिका तयार पार्ने सवालमा वर्तमान परिवेशमा कति सान्दर्भिक छ– त्यो बेग्लै पाटो हो, तर त्यसले निर्देशिका आवश्यक छ र त्यो बन्नैपर्छ भन्ने भावनाचाहिँ जगाएको छ । जहाँसम्म सुधार गर्नुपर्ने सवाल छ, सबभन्दा पहिला यातायात कार्यालयको बेथिति सुधार हुनुपर्छ ।’

राज्यलाई एकतिहाइ कर यातायात क्षेत्रबाटै जान्छ, तर सबभन्दा पीडित पनि यातायात क्षेत्र नै भएको दाबी गर्छन् योगेन्द्र । ‘यो क्षेत्रको सुधार र विकासका लागि हामीले तिरेको करबाट जम्मा २ प्रतिशत मात्र भए पनि देऊ, हामी काम गरेर देखाइदिन्छौँ भन्दा पनि पटक्कै सुन्दैनन्’ भन्दै उनी थप्छन्, ‘मलाई त लाग्छ कि यातायात क्षेत्रमा आउने कर्मचारी यो क्षेत्र बनाउन नभई केवल राज्यको काम कहिले जाला घाम भन्ने उक्ति सार्थक पार्न मात्र आउँछन् । उच्च तहका सबै कर्मचारी त त्यस्ता होइनन्, कतिपयलाई कन्भिन्स गर्न पनि सकियो, तर उहाँहरूका ‘पखेटा’ले काम गरेनन् र पङ्गुझैँ भए । केही गर्न खोज्ने पनि एक–दुई देखिए, तर मातहतका कर्मचारीले नसघाइदिएपछि के गरुन् † यति मात्र कहाँ हो र † ०४० सालमा यातायात मजदुर र मालिकबीच गजबको सम्बन्ध हुन्थ्यो । तर, गणतन्त्र आएपछि देशमा विकृति पस्यो । अहिलेका मजदुरले साहुलाई गन्दैनन्, सबै खटन उनीहरूकै चल्छ । उल्टो भयो अहिले । मजदुर आफँै मालिक भएकाले पैसा बुझ्यो गोजीमा राख्यो । हिसाब दुरुस्त छैन । यसरी कहाँ चल्छ ? जबसम्म टिकट प्रणाली लागू हुँदैन, अस्तव्यस्त र बेथिति बढिरहन्छ । पञ्चायतकालमा भन्दा अहिले सुधार हुनुपर्ने उल्टै गणतन्त्रपछि विकृतिबाहेक केही देखिएन । उतिबेला हैसियत हुनेले मात्र गाडी किन्न सक्थ्यो, अहिले त एक लाख भए फाइनान्स कम्पनीले नै गाडी किनिदिन्छ, त्यसपछि जो पनि मालिक । अनि विकृति पनि त्यत्तिकै । व्यवसायको माया नै छैन । कुनै पेसागत मर्यादा छैन, सिस्टम केही छैन । वास्तवमा व्यापारीले व्यवसाय गर्नाले कुरा बिग्रियो, व्यवसायीले व्यापार गरेका भए सुध्रिने थियो ।’

‘अब सुधारका उपाय नै छैन त ?’ भन्दा उनको जवाफ छ, ‘छ, गरे किन नहुने ? सबै सरोकारवालाको टिम बनाऔँ, उपभोक्ता, मजदुर, व्यवसायी, सरकार या सडक विभाग सबै संलग्न टिमले ६ महिना काम गर्न पायो भने समयसापेक्ष समाधान निस्किहाल्छ ।’ उनी थप्छन्, ‘जिन्दगी नै मेरो यातायातमा बित्यो । राज्यको व्यहोराबाट म निराश छु, जुनसुकै पार्टीको सरकार आए पनि रवैया उस्तै भएपछि केही लाग्दोरहेनछ । तथापि, सुधार अभियान जारी छ । सुधार्ने अन्तिम उपायको रूपमा नयाँ बाटो अवलम्बन गरेको छु । नेपाली कांग्रेसको हालै सम्पन्न तेह्रौँ महाधिवेशनको अवसर पारेर मैले यातायात क्षेत्रसम्बन्धी नेपाली कांग्रेससँग आबद्धता रहने शुभेच्छुक संस्था बनाएको छु, ‘प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी सङ्घ’ । मेरो संयोजकत्वमा तदर्थ समिति बनेको छ । यो सार्थक भएपछि पार्टीभित्र दर्बिलो लबिङ हुन्छ भन्ने मेरो ठहर छ । पार्टीको विधानसँग नबाझिने गरी हामी विधान पनि बनाउँदै छौँ । शुभेच्छुक संस्थाको रूपमा यसले मान्यता पाएपछि पार्टी सरकारमा आउँदा नेतालाई दबाब दिएर काम गर्न सकिएला भन्ने आशाले यो अभियानमा लागेको हुँ । कांग्रेसको पालामा सुधारका काम भयो भने जस उसलाई जान्छ र राज्यले लाभ पाउँछ । व्यक्तिगत रूपमा मलाई पनि सन्तुष्टि मिल्छ, जनताले पनि सेवा–सुविधा पाउँछन् । १३औँ महाधिवेशनकै अवसरमा दर्ता प्रक्रिया सुरु गरेको हो । सभापतिबाट उद्घाटन र महामन्त्रीबाट समापन गराउने ध्याउन्नमा छु ।

यातायात क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा भोगेका विभिन्न घटनामध्ये बेलाबेला सम्झना आइरहने एउटा सन्दर्भ यसरी सुनाउँछन् योगेन्द्र कर्माचार्य– ‘जब चक्रपथ बन्यो, एउटा सिटी बसपार्कको आवश्यकता महसुस गर्‍यो सरकारले । त्यही क्रममा जाइकाले नयाँ बसपार्क बनाइदियो, तर त्यो सञ्चालनमा आउन सकेन । ०५० सालअघिको कुरा यो । त्यतिबेला नेपाल यातायात व्यवसायी सङ्घ थियो, सरकार त्यसलाई ‘गाडी सञ्चालन गर’ भन्ने, ऊचाहिँ बसपार्क सञ्चालन गर्नेतिर नलागी बार्गेनिङ गर्न थाल्यो राज्यसँग । त्यतिबेला स्थानीय विकासमन्त्री थिए रामचन्द्र पौडेल, काठमाडौंका मेयरमा पीएल सिंह । जाइका अध्यक्ष स्वयम् नै बसपार्क उद्घाटनमा आउने भएको सरकारले तत्काल बसपार्क सञ्चालन गर्न नगरपालिकालाई निर्देशन दियो, यता महानगरपालिकाले उक्त सङ्घलाई अरायो, तर सङ्घचाहिँ ब्ल्याकमेलिङमै ओर्लियो । आपतै पर्न लागेपछि त्यति नै बेला जन्म भएको राष्ट्रिय महासङ्घलाई सम्झिए गिरिजाबाबुले । जीवनसिंह भण्डारी र मलाई उहाँले बोलाएर ‘जसरी पनि बसपार्क सञ्चालन गर, देश र सरकारको पनि प्रतिष्ठाको सवाल उठ्यो’ भनी जिम्मा दिनुभयो । हामी नगरपालिका गयौँ, हामीले बसपार्कलाई व्यवस्थित ढङ्गमा सञ्चालन गर्न सक्ला भन्ने नगरपालिकाले विश्वास नै गरेन । अनि जम्मा तीन महिनाका लागि परीक्षणकालको रूपमा जिम्मा दिइयो । हामीले रातारात आफ्नै खर्च लगाएर नयाँ बसपार्क व्यवस्थित किसिमले सञ्चालन गरिदियौँ, जाइका अध्यक्ष आउँदा राज्यको इज्जत बच्यो ।

तर, महानगरपालिकाको नालायकीका कारण हामीबाट त्यो खोसियो र अर्को सङ्घलाई जिम्मा दिइयो । हामीबाट बसपार्क सञ्चालनको जिम्मेवारी फिर्ता लिइएको भोलिपल्टै बसपार्क अस्तव्यस्त बन्यो । अनावश्यक राजनीति घुसाइँदा खत्तम भयो । व्यापारीलाई जिम्मा दिएर बसपार्क कसरी चल्न सक्छ र ?’ गोँगबु बसपार्कको इतिवृत्तान्त आफूलाई भन्दा बढी जीवनसिंह भण्डारीलाई थाहा भएको प्रस्ट्याउँदै योगेन्द्र भन्छन्, ‘जीवनजीले बसपार्क र यातायातमा सुधार ल्याउन के–कति दु:ख गर्नुभएको छ, त्यो अन्तरकथा सुनियो भने दुनियाँ छक्क पर्छ । उहाँ कस्तो व्यक्ति भने उहाँजस्तो राष्ट्रभक्त व्यक्ति मैले कमै देखेको छु । देश नबनेसम्म तिमीहामी जतिसुकै बने पनि काम छैन भनेर उहाँ जहिले पनि भन्नुहुन्छ । खुमबहादुर दाइको पनि ठूलो हात छ हामीलाई यातायात व्यवसायप्रति इमानदार भएर लागिपर्ने बनाउनमा । खुमबहादुर दाइले यातायात सुधार आयोग बनाउँदा जीवनजीले मात्र सक्छ भनेर अध्यक्षको जिम्मेवारी दिनुभयो । राज्यबाट के–कति सेवा–सुविधा आवश्यक पर्छ लिनु भनेर भन्दा पनि उहाँले एक पैसा नलिई आफ्नै खर्चबाट काम गर्नुभयो । त्यहीँबाट मैले उहाँको देशभक्ति, राष्ट्रप्रतिको कर्तव्यपरायणता देख्न र बुझ्न पाएँ ।’