ऋषिमुनि र महिनावारीबीच के सम्बन्ध छ ?

ऋषिमुनि र महिनावारीबीच के सम्बन्ध छ ?


babita basnet 15

– बबिता बस्नेत

हामी अधिकारकर्मीहरू महिलाले नछुने किन बार्नुप¥यो ? भान्सामा जान किन नहुने ? खाना पकाउन किन नहुने ? भनिरहेका छौँ । उता दूरगाउँका महिलाहरू चार दिन भए पनि आफू भान्सामा पस्नु नपरेकोमा र श्रीमान्सँग ओछ्यानको सम्बन्ध राख्नु नपरेकोमा खुसी छन् ।

हामी सानो हुँदा धुमधामसँग मनाइने ऋषिपञ्चमीका विषयमा अहिले विभिन्न तर्क–वितर्कहरू आउन थालेका छन् । तिजको रमझमकै माझ आउने पञ्चमी मूलतः ऋषिहरूको सम्मानमा गरिने पूजाआजा र बसिने ब्रत हो । सानो छँदा आमाले भनेको सम्झिन्छु–पञ्चमीको ब्रतले सबै पाप पखालिन्छ । हामी महिनावारी हुँदा कतै छुवाछुत भएको भए त्यसबाट मुक्ति पाइन्छ । आफू महिनावारी नहुँदै सुनेका यी शब्दहरू भइसकेपछि भने व्यवहारमा लागू गरिएन । आमाले गर भन्नुभएन, हामी आफैँ ब्रत बस्न हौसिएनौँ । नछुने हुनु पाप होइन भन्ने थाहा पाएपछि आमाले पनि पञ्चमीलाई वास्ता गर्न छोड्नुभो, हामीले गर्ने कुरै भएन । तैपनि पञ्चमीको दिन कर्कलोको तरकारी भने वर्षौंदेखि खाइएकै छ । कर्कलोको तरकारी नै किन ? भन्ने जानकारी नभए पनि खाने क्रम भने रोकिएको छैन । पञ्चमीको ब्रत बस्ने भनेको ऋषिहरूको सम्मानका लागि हो भन्ने छ ।

सप्तऋषिको सम्मानमा बसिने ब्रत आखिर महिलाले मात्रै किन बस्छन् ? ऋषिमुनिको सम्मान त पुरुषहरूले पनि त्यत्तिकै गर्नुपर्ने होइन र ? यो प्रश्न मनमा आएको केही वर्ष भयो, तर जवाफ पाउन सकिएको छैन । सार्वजनिक रूपमा नगरिएकाले मनमा उठेको प्रश्नको जवाफ पाउने कुरा पनि भएन । ऋषिपञ्चमीमा लगाइने दतिवन या महिनावारीको प्रसङ्ग र सप्तऋषिहरूबीच के सम्बन्ध छ ? यसो आफैँले आँकलन गर्दा त कुनै सम्बध देखिँदैन । यो कुराले कहाँनिर तालमेल खाएन या कसले गलत व्याख्या ग¥यो ? थाहा पाइएको पनि छैन । धर्म, परम्पराअनुरूप गरिने कतिपय कार्यमा कहाँनिर गलत व्याख्या भयो भनेर छुट्याउन सकिन्छ । तर, यहाँ त कतै तालमेल नै नभएकाले भेउ पाउनै गाह्रो छ । कथा नभएको होइन राजा सीतास्व र ब्रह्माजीसँग सम्बन्धित कथा छ, तर ऋषिपञ्चमीसँग जोडिएको पौराणिक कथामा महिनावारी हुँदाको कुरा कतै उल्लेख गरिएको छैन ।

सप्तऋषिहरू अगस्त, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वमित्रलाई गुरुका रूपमा लिइन्छ । यी सबैको तपस्या र अद्भुद् विद्वताको कुरा विभिन्न धर्मग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । यी विद्वान् तपस्वीहरूको सफलताको गाथामा महिलाको चारदिने कथा कहीँ छैन, तर व्यवहारमा भने हाम्रा आमा, दिदी, बहिनी, भाउजू–बुहारीहरू पञ्चमी बसिरहेका छन् । यदि पञ्चमीको महिमा सप्तऋषिहरूसँग जोडिएको हो भने महिलाले मात्र होइन पुरुषले पनि यी ऋषिमुनिहरूसँग नतमष्तक भएर उनीहरूको सम्मानमा ब्रत बस्दा खासै फरक पर्ने देखिँदैन । जहाँसम्म पञ्चमी कथालाई लिएर बनाइएको महिनावारीको कथा छ त्यो मिथक भए पनि महिनावारी हुँदा हाम्रा पुर्खाहरूले अपनाउँदै आएका कतिपय कुरा भने सही लाग्छन् । महिलाको रजस्वलालाई लिएर धेरैले धेरै कुरा लेखेका छन् । कतिले त महिला नछुनेभन्दा माथि उठ्न सकेनन् भनेर टिप्पणी गरेको पनि पाइन्छ । यस्ता कथा गाएर व्यावसायिक कुरामा सम्झौता गर्न मिल्दैन भन्ने भनाइ कतिपल्ट पङ्क्तिकार आफैँले पनि राख्दै आएकै हुँ । महिलाको जीवनचक्रसँग जोडिएको हुनाले नछुने हुने कुराबाट टाढा पुग्न नसके पनि महिलाले त्यसैमा अल्झिरहन जरुरी छैन पनि । तथापि सुरुवात, बीचको अवस्था र सुक्ने दुवै अवस्थामा महिलालाई शारीरिक र मानसिक दुवै रूपमा असर पर्ने हुँदा कुनै न कुनै रूपमा जीवनभर यसले प्रभाव पारिरहेको हुन्छ ।

केही वर्षअघि महिला, कानुन र विकास मञ्चले पारा लिगल कमिटी सदस्यहरूका लागि धनगढीमा गरेको एक कार्यक्रममा अछाम र डोटीका महिलाहरूसँग तपाईंहरूलाई सबैभन्दा राम्रो लाग्ने समय कहिले हो ? भनेर सोध्दा ‘छुई भएको चार दिन’ भन्ने जवाफ पाउँदा छक्क परेकी थिएँ । किन नि ? मेरो प्रतिप्रश्नमा उनीहरूले भनेका थिए, ‘खाना पकाउनुपर्दैन र श्रीमान्सँग सम्बन्ध पनि राख्नुपर्दैन ।’ उनीहरूको यो कुराले मलाई कति दिनसम्म एकप्रकारले बिथोलेको थियो । हामी अधिकारकर्मीहरू महिलाले नछुने किन बार्नुप¥यो ? भान्सामा जान किन नहुने ? खाना पकाउन किन नहुने ? भनिरहेका छौँ । उता दूरगाउँका महिलाहरू चार दिन भए पनि आफू भान्सामा पस्नु नपरेकोमा र श्रीमान्सँग ओछ्यानको सम्बन्ध राख्नु नपरेकोमा खुसी छन् । हुन पनि यो चार दिन बार्ने अवधारणा जसको भए पनि महिनावारी भएको बेला आरामका लागि हो भन्ने बुझ्न गाह्रो पर्दैन । शरीरबाट रगत नै बग्ने कुरा सानो होइन र त्यतिबेला हुने पीडा भोग्नेहरूलाई थाहै छ । भातभान्सा त के पानी नै छुनुहुँदैन भनेपछि धेरै कुराको झन्झटबाट महिलाले मुक्ति पाउँछन् र शरीरलाई आराम मिल्छ भनेर पवित्र उद्देश्यले बसाइएको यस्तो चलनलाई कसैले छाउगोठमै पु¥याइदिन्छ भने कसको के लाग्छ ? कतिपय हाम्रा राम्रा चलन र संस्कृतिहरूलाई हामीले अपव्याख्या ग¥यौँ र कतिलाई चाहिँ गलत अभ्यासमा परिणत गरिदियौँ । स्वास्थ्यका हिसाबले हेर्दा पनि महिनावारी भएका बेला भातभान्साबाट अलग बस्नु राम्रो कुरा हो । अहिले दिनैपिच्छे नुहाउने वातावरण भए पनि पहिला त्यस्तो चलन थिएन । अहिले थरीथरीका सिनेटरी प्याडहरू उपलब्ध छन्, तर पहिला महिलाहरूले भित्री बस्त्रसमेत लगाउने चलन थिएन । त्यस्तो बेलामा ‘पर सरेको’ भनेर अलग्गै बस्दा सम्बन्धित व्यक्तिलाई आराम र परिवारका सबै सदस्यहरूलाई कुनै असर नपर्ने सोचबाट गरिएको कुरालाई हामी अहिले तथानाम गाली गरिरहेका छौँ । पर सरेको भनेर बार्ने अवधारणालाई तत्कालीन अवस्थासँग जोडेर हेर्दा कुनै पनि कोणबाट नराम्रो लाग्दैन ।

समयअनुसार पुराना चलनहरू परिवर्तन भइरहेकै छन्, हुन्छन् नै । अहिले एकल परिवारमा बसेका महिलाले म नछुने बार्छु भनेर साध्य नै हुँदैन । पहिला त संयुक्त परिवार थियो, त्यसैले सम्भव थियो । साथै सरसफाइको अवस्थामा पनि आकाश–जमिनको अन्तर छ । यस्तो बेलामा मन्दिर जान हुँदैन, पूजाआजा गर्न हुँदैन भन्ने कुरा पनि सरसफाइसँगै जोडिएको छ । मन्दिरलाई पवित्र स्थल मानिन्छ । महिनावारी भएका बेला पूजाआजा गर्न नहुने कुरालाई लिएर महिलाहरू कसरी अपवित्र भए ? भनेर हामी भनिरहेका छौँ, तर महिलालाई होइन त्यो सीमित अवस्थालाई अपवित्र मानिएको हो र त्यसको कारण पनि सरसफाइसँगै सम्बन्धित छ भन्ने लाग्छ । हिजो आजको जस्तो समय हुँदो हो त शायद मन्दिर जान कुनै रोकतोक हुने थिएन । सानैदेखि नछुने भएका बेला मन्दिर जान हुँदैन, पूजा गर्न हुँदैन भन्ने छाप परेकाले अहिलेसम्म हामी हिच्किचाइरहेका छौँ । बाल्य अवस्थामा परेको छाप मेट्न त्यति सहज पनि छैन । जेहोस्, पञ्चमी गाथासँग महिनावारीको प्रसङ्गमा कुनै दम देखिँदैन र त्यस दिन महिलालाई बिदा दिन आवश्यक पनि लाग्दैन ।